अधिकांश बैंकहरूले कात्तिकका लागि निक्षेपको ब्याजदर घटाएका छन् । त्यसै अनुपातमा कर्जाको ब्याजदर पनि घटिरहेको छ । ब्याजदर घटेपछि कर्जा लगानी बढ्नुपर्ने भए पनि त्यस्तो नहुँदा मुलुकमा लगानीका लागि वातावरण छैन भन्ने पुष्टि भएको छ । ब्याजदरको यो घटाइ चिन्ताको विषय बनेको छ । ब्याजदर घट्दा कर्जा सस्तो हुन्छ र उद्योगीव्यवसायीहरूका लागि यस्तो सस्तो कर्जा लगानीको अवसर हुन्छ । तर, ऋणको माग नहुँदा बैंक तथा वित्तीय संस्थाहरूमा करीब ८ खर्ब रुपैयाँ लगानीयोग्य पूँजी थुप्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले आन्तरिक स्थिति अझै नसुध्रिएको देखाएको छ । बैंकका अनुसार गत वर्ष भदौमा १२ प्रतिशतभन्दा केही बढी रहेको कर्जाको औसत ब्याजदर यो भदौमा आइपुग्दा ९ प्रतिशतको हाराहारीमा झरेको छ । तर, बैंकमा तरलता थुप्रिंदै गएकाले राष्ट्र बैंकले प्रशोचन गरिरहनु परेको छ । मुलुकमा लगानीको वातावरण नबन्दा ब्याजदर कतिसम्म घट्ने हो पत्तो छैन । अधिक तरलता बढ्दै गए ब्याजदर ऋणात्मक नहोला भन्न सकिन्न । यस्तो अवस्था आयो भने मुलुक थप जोखिममा जान सक्छ ।
मुलुकमा उद्योग व्यवसाय गर्ने वातावरण नहुँदा निजी क्षेत्रले कर्जाको माग गरेको छैन । यद्यपि चालु आर्थिक वर्षको प्रथम दुई महीनामा कर्जा थोरै वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । कर्जाको माग नबढेपछि निक्षेपमा बढी ब्याजदर दिने कुरा आउँदैन । यसरी ब्याजदर घट्दै गए नेपालबाट पूँजी पलायनको खतरा बढ्छ । अहिले भारतमा निक्षेपमा ३ दशमलव ५ प्रतिशतदेखि ८ प्रतिशतसम्म ब्याज दिएको पाइन्छ । राष्ट्र बैंककै प्रतिवेदनअनुसार मुद्रास्फीति ३ दशमलव ८५ प्रतिशत छ भने वाणिज्य बैकहरूको मुद्दती निक्षेपको ब्याजदर ५ दशमलव ९ प्रतिशतदेखि ७ दशमलव १८ प्रतिशतसम्म छ । त्यसैले बैंकमा निक्षेप जम्मा गरेर त्यति फाइदा देखिंदैन । यदि मुद्रँस्फीति ६ प्रतिशतभन्दा माथि गए मुद्दती निक्षेपको ब्याजबाट निक्ष्ँेपकर्ताले कुनै फाइदा पाउन सक्दैनन् । यस्तोमा देशको पैसा पलायन हुन सक्छ । विगतमा नेपालीहरूले भारतीय बैंकहरूमा निक्षेप जम्मा गर्ने गरेको समाचार आउने गरेको थियो । कतिपय व्यापारीले यहाँ सस्तोमा ऋण लिएर महँगो ब्याजदरमा भारतीय बैंकहरूमा निक्षेप जम्मा गरेको पनि सुनिन्थ्यो । यद्यपि यसको आधिकारिक पुष्टि भने कसैले गरेको छैन ।
मुद्रास्फीतिभन्दा कम ब्याजदर पाउने भएपछि बचत निरुत्साहित हुन्छ र बचत गर्ने प्रवृत्ति घट्छ । दुई पैसा जोगाएर त्यसको ब्याजबाट घरव्यवहार चलाउनुपर्ने बाध्यताका बचतकर्ता पनि थुप्रै छन् । तिनले बढी ब्याज पाइने हुँदा विगतमा सहकारीमा पैसा राख्थे । सहकारीहरूमा संकटग्रस्त हुँदै जाँदा बैंकमा नै पैसा राख्नुपर्ने बाध्यता छ । अर्को, यस्तो सानोतिनो रकम लगानी गर्ने उपयुक्त ठाउँ पनि छैन । लगानीको वातावरण नभएको व्यवसायीबाट गुनासो आइ नै रहेको छ । अन्य देशमा लगानी प्रोत्साहित गर्न ब्याजदर घटाउने नीति केन्द्रीय बैंकले लिएको पनि पाइन्छ तर नेपालमा ब्याजदर घट्दा लगानी बढेको देखिँदैन । निजी लगानी नबढेको मात्र होइन, सरकारी लगानी घटिरहेको अवस्था पनि छ । सरकारको आम्दानी तलबभत्तामा सकिने र पूर्वाधारका लागि खर्च गर्न बजेट अभाव हुने समस्या छ । भएको पूँजीगत बजेट पनि खर्च गर्न नसकेको अवस्था छ ।यही कारण निर्माण सम्पन्न आयोजनाको समेत निर्माण व्यवसायीले भुक्तानी पाएका छैनन् । राष्ट्रिय तथ्यांक कार्यालयले गत आवको चौथो त्रैमासको आर्थिक वृद्धिदर सम्बन्धी प्रतिवेदनले निर्माण क्षेत्र नकारात्मक रहेको देखाएको छ । त्यसको एउटा कारण सरकारले व्यवसायीलाई रकम भुक्तानी नगर्नु पनि हो । घट्दो ब्याजदर उद्योग व्यवसायमा लगानीका लागि निकै ठूलो अवसर भए पनि निजी क्षेत्र लगानी गर्न उत्सुक देखिएको छैन । सरकारले लगानी वातावरण बनाउने गम्भीरताका साथ ध्यान दिएको पनि पाइँदैन । यस्तोमा घट्दो ब्याजदरले अर्थतन्त्रका विविध पक्षमा जोखिम बढाएको हुँदा तत्काल लगानीको वातावरण बनाई कर्जा माग बढाएर ब्याजदर आफै उँभो लाग्ने अवस्था सृजना गर्नु उपयुक्त हुन्छ ।