मङ्सिर २९, इस्लामावाद (पाकिस्तान) । भारतसँगको पाकिस्तानी व्यापार सम्बन्ध सुध्रिने आशा जागेको छ । पाकिस्तानले शुक्रवार भारतलाई अति सौविध्य सुविधाप्राप्त मूलुक (एमएफएन)को दर्जा दिने प्रतिबद्धता व्यक्त गरेपछि दुईपक्षीय व्यापार वार्ता पुनः शुरू हुने सम्भावना बढेको हो । त्यस्तै, पाकिस्तानले वस्तु आयात प्रक्रियालाई अगाडि बढाउने अनुमति दिने सङ्केतसमेत गरेको छ । यो मामिला १७ वर्षदेखि विचाराधीन रहँदै आएको थियो ।
भारतीय वाणिज्य तथा उद्योगमन्त्री आनन्द शर्मा, पाकिस्तानको पञ्जावी प्रान्तका मुख्यमन्त्री शहवाज सरिफ तथा पाकिस्तानको कनिष्ठ वाणिज्यमन्त्री खुराम डष्टगिर खाँनबीच भएको छलफलमा उपस्थित स्रोतले यस्तो बताएको छ । स्रोतका अनुसार व्यापार वार्तासम्बन्धी निर्णयलाई तीव्र रूपमा अघि सार्न दुवै पक्षले सङ्केत गरेको छ । करीब १ वर्षअघि भारत र पाकिस्तानका वाणिज्य सचिवले भारतलाई एमएफएन दर्जा दिनुका साथै अटारी–वागाह सीमा क्षेत्रबाट हुने व्यापारलाई समर्थन गर्ने बताएका थिए ।
योसँगै भारतबाट आयात हुने करीब १ हजार २ सय ९ ओटा उत्पादनलाई नकारात्मक सूचीबाट हटाउने पनि सहमति भएको थियो । यद्यपि, भारतले पाकिस्तानमा आयात हुने वस्तुमाथि छूट दिने प्रतिबद्धता पूरा नगरेका कारण पाकिस्तानले पनि भारतबाट आयात हुने वस्तुलाई नकारात्मक सूचीबाट हटाउन अस्वीकार गरेको थियो । त्यस्तै, भारत र पाकिस्तानबीच भारतले गर्ने ग्यास र बिजुली विक्रीको क्षेत्रमा पनि सकारात्मक सम्झौता हुने बताइएको छ ।
एजेन्सी
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.