काठमाडौं । भारतको विदेश मन्त्रालयले शनिवार आगामी जुनदेखि अगस्तसम्म ७५० जना भारतीय तीर्थयात्रीलाई कैलास मानसरोवर भ्रमणमा लैजाने घोषणा घोषणा गर्यो ।
नेपाल भारतबीच सीमा विवाद रहेको लिपुलेक र सिक्किमको बाटो हुँदै ती तीर्थयात्रीलाई पवित्र तीर्थस्थलको भ्रमणमा लैजाने भारतीय सरकारले घोषणा गरे पनि नेपाल हुँदै त्यहाँ जान खोज्ने भारतीयको संख्या ठूलो रहेको नेपालका पर्यटन व्यवसायीले बताएका छन् ।
शुरूमा सन् २०२० मा कोरोना महामारीको कारण कैलास यात्रा स्थगित गरिएको थियो । त्यसपछि भारतीय र चिनियाँ सेनाबीच सीमाक्षेत्र लद्धाखको गलवानमा भिडन्त भई दुवै पक्षका सैनिक हताहत भएपछि भारतीय तीर्थयात्रीले कैलास मानसरोवर जान पाएका थिएनन् । स्थगनको ५ वर्षपछि गत जनवरीमा दुवै पक्षले यो सिजनमा कैलास यात्र पुन: सुचारु गर्ने सहमति गरेका थिए ।
भारतीय विदेश मन्त्रालयका अनुसार लिपुलेकको बाटो हुँदै एउटा समूहमा ५० जना रहने गरी पाँचओटा समूह र उति नै संख्या रहने गरी सिक्किमको नाथुला पास सीमा हुँदै १० ओटा समूहलाई कैलास मानसरोवर लगिनेछ ।
भारत सरकारले जम्मा १५ टोलीलाई तीर्थयात्रामा लगे पनि निजी तवरमा जान खोज्ने भारतीयको संख्या ठूलो रहेको र नेपाल हुँदै जानका लागि ठूलो संख्यामा बुकिङ भइरहेको नेपालका पर्यटन व्यवसायीले बताएका छन् ।
भारतीयका साथै नेपालीहरू पनि बढ्दो संख्यामा उक्त पवित्र तीर्थस्थल जाने गरेको उनीहरू बताउँछन् । नेपालबाट कैलास मानसरोवर जाने एउटा प्रमुख बाटो नेपालगञ्ज हुँदै हुम्लाको हिल्सा नाका हो ।
- आफ्नै तवरमा तीर्थयात्रामा जाने भारतीय मूलत: नेपाल हुँदै जाने
- नेपाली पर्यटन व्यवसायीका लागि व्यापार बढाउने मौका
- पर्यटन व्यवसायीले घोषणा गरे छुट सहितको टुर प्याकेज
- कैलास मानसरोवर हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थ
नेपालगञ्ज हुँदै हिल्साको बाटो भएर जाने भारतीय तीर्थयात्रीका कारण नेपालगञ्जका होटेल व्यवसायीले राम्रो लाभ लिने गरेका छन् । यो रूटमा बढी हेलिकोप्टर प्रयोग हुन्छ । भारतीयहरूले हेलिकोप्टर बढी उपयोग गर्छन् । अर्काे दोस्रो रूट रसुवागढी–केरुङ हुँदै जान्छ । कैलास मानसरोवर जान नेपाल आउनेमध्ये ५० प्रतिशतले यो रूट प्रयोग गर्ने पर्यटन व्यवसायी बताउँछन् ।
एशोसिएशन अफ कैलास टुर अपरेटर्स नेपालका प्रथम उपाध्यक्ष कृष्ण ढकालले अहिले भारतबाट बुकिङ गर्ने क्रम बढ्दो रहेको बताए । ‘भारत सरकारले ७५० जना मात्र लग्ने बताइरहँदा सन् २०२५ को लागि २० हजार भारतीयका लागि चीनले भिसा दिने बताएको खबर आएको छ,’ उनले भने । अन्य देशबाट जानेका लागि भने कोटा नतोकिएको नेपालका पर्यटन व्यवसायी बताउँछन् ।
कैलास मानसरोवर यात्राको व्यवस्थापन गर्दै आएको फिस्टेल टुर्स एन्ड ट्राभल प्रालिका प्रबन्ध निर्देशक नारायणप्रसाद पोखरेलले भारत सरकारले पनि आफ्नै ट्राभल कम्पनीबाट ७५० जना लैजाने भने पनि त्यसबाहेकका तीर्थयात्रीलाई त्यहाँ लैजाने काम नेपालका ट्राभल कम्पनीहरूले गर्ने बताए । ‘पाँच वर्षपछि भारतीयका लागि यो गन्तव्य खुलेकाले बुकिङ २० हजारभन्दा बढी पनि हुन सक्नेछ र त्यसको व्यवस्थापन चुनौतीपूर्ण हुनेछ,’ उनले भने ।
यसैबीच नेपालबाट कैलास मानसरोवर यात्रा गराउँदै आएका टुर्स एन्ड ट्राभल्स कम्पनीले छुटसहितको बुकिङ खुला गरेका छन् । साथै कैलास मानसरोवरसम्म पुग्दा लाग्ने खर्च र त्यसमा छूटसमेतको अफर कम्पनीहरूले सार्वजनिक गर्न थालिसकेका छन् । कैलास मानसरोवर यात्राका लागि मध्य वैशाखदेखि मध्य असोजसम्म (मे–सेप्टेम्बर) लाई उपयुक्त सिजन मानिन्छ । हिन्दू र बौद्ध धर्मालम्बीहरूको आस्थाको केन्द्र रहेको कैलास मानसरोवर जानेमध्ये भारतीय राहदानी वाहकलाई सन् २०२० देखि चीनले भिसा दिन छाडे पनि अन्य मुलुकका र नेपालीका लागि खुला थियो ।
सन् २०१९ मा १८ हजारभन्दा बढी भारतीय धार्मिक पर्यटक नेपाल हुँदै कैलास मानसरोवर पुगेको व्यवसायीको भनाइ छ ।