नेपाली उत्पादन निर्यातका लागि सबैभन्दा सहज बजार भारत भए पनि भारतले विभिन्न किसिमले गैरभन्सार अवरोध खडा गर्ने गरेकाले नेपालमा लगानीको वातावरण बन्न सकेको छैन । पछिल्लो समय भारतले अघोषित रूपमा चिनियाँ लगानीको क्लिंकरमा आधारित सिमेन्ट निर्यातका लागि स्वीकृति दिन आनकानी गरिरहेको छ । नेपालमा सिमेन्टको माग घटेपछि सिमेन्ट उद्योगहरूले भारत निर्यात गर्न थाले । त्यसमा सरकारले अनुदान दिने नीति पनि लियो तर अहिले भारतले चिनियाँ लगानीका सिमेन्ट उद्योग वा चिनियाँ लगानीबाट उत्पादित क्लिंकर प्रयोग गरेर बनाइएको सिमेन्टलाई गुणस्तरको कुरा उठाएर निर्यातमा अवरोध गरिरहेको समाचार आएको छ । भारत निर्यात गर्न पाएपछि थोरै भए पनि राहत अनुभव गरेका व्यवसायी भारतको यो नयाँ व्यवहारबाट समस्यामा परेका छन् ।
हरेक देशले आफ्ना व्यवसायीको हित हेर्छ । अहिले विश्वभरि नै कूटनीतिको मुख्य काम नै आफ्ना देशका उत्पादनका लागि बजार सुनिश्चित गर्नमा केन्द्रित छ । तर, नेपालको कूटनीतिले व्यापारलाई पहिलो प्राथमिकतामा राख्न सकेको छैन । खालि राजनीतिक एजेन्डामा छलफल हुने र केही अनुदान दिने औपचारिकतामात्र भइरहेको छ जसमा नेपाल भुलिरहेको छ । भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । सबैभन्दा बढी व्यापारघाटा पनि भारतसँग नै छ । यस्तोमा उच्चस्तरीय भ्रमणमा यो घाटाको अन्तर कम गर्न नेपाली उत्पादनका लागि भारतीय बजार खोज्न केन्द्रित हुनुपर्ने हो । तर, यस्ता भ्रमणमा भारतीय चासोका विषयमात्र पर्ने गरेका छन् । अहिले सिमेन्टमा गुणस्तरको कुरा उठाइएको छ । पोखरा र भैरहवा अन्तरराष्ट्रिय विमानस्थलमा पनि चिनियाँले काम गरेको भनी भारतले यी विमानस्थलबाट हुने उडानलाई स्वीकृति नदिने नीति लिएको छ । यति सानो कुरालाई लिएर भारतले खोचे थाप्नु भनेको नेपाललाई नै असहयोग गर्नु हो । यो कुरा कूटनीतिक तवरमा भारतीय पक्षसँग स्पष्ट भन्न सक्नुपर्छ ।नेपालले विदेशी लगानीलाई स्वागत गरिरहेको छ र उपयुक्त लागेमा कुनै पनि देशका लगानीकर्ता नेपालमा लगानी गर्न सक्छन् । होङ्सी शिवम् र हुवासिन नारायणी सिमेन्ट उद्योगमा चिनियाँ लगानी छ । यी उद्योगबाट क्लिंकर आपूर्ति गरेर उत्पादित सिमेन्ट भारत निर्यात हुन नसकेको उद्योगीहरूले बताएका छन् । त्यसै गरी चिनियाँ लगानी वा चिनियाँ ठेकेदारले निर्माण गरेका आयोजनाको बिजुली नकिन्ने नीति भारतले लिएको छ । चिनियाँ आयोजनाका लागि विस्फोटक पदार्थसमेत उपलब्ध गराउन मानिरहेको छैन । चीनबाट उसले धेरै सामान आयात गर्छ । तर, चिनियाँको नाम मिसिएको नेपाली उत्पादनलाई भने रोक लगाउँछ जुन कुनै पनि हालतमा उपयुक्त देखिँदैन । चीनसँग सम्बन्ध बिग्रेको स्थितिमा भारतले छिमेकी देशमा चिनियाँ लगानी निरुत्साहित गर्ने नीति लिएके हो ।
नेपालले भारतलाई स्पष्ट भन्न सक्नुपर्छ, हामीलाई विदेशी लगानी चाहिएको छ, त्यो भारत, चीन वा अरू जोकसैको हुन सक्छ । नेपालको असल मित्र भएका नाताले उसले त्यस्तो लगानीलाई अन्यथा लिन मिल्दैन । चीनले पनि आफ्ना नागरिकको लगानी भएका संस्थाको निर्यातमा अवरोध गर्ने गरेको छैन, तर नेपाली लगानीकर्ताको सामानमा भने प्रमाणपत्र, क्वारेन्टाइनजस्ता कुरा उठाएर अवरोध गर्ने गरेको छ । भारतको यो व्यवहारले नेपाली वस्तु तथा सेवाका लागि भारतीय बजार कति सुनिश्चित हो भन्ने प्रश्न उब्जेको छ । भारतीय अवरोधकै कारण वनस्पति घ्यु उद्योग बन्द भए । भारतीय बजारलाई लक्षित गरेर यहाँ थुप्रै जलविद्युत् आयोजना बनेका छन् तर भूराजनीतिका कारण भारतीय बजार सुुनिश्चित नहुने हो त्यत्रो लगानी खेर जानेछ र नयाँ लगानी आकर्षित हुने छैन । बजारको सुनिश्चितता नभएसम्म कसैले पनि लगानी गर्दैन । नेपालमा उत्पादन गरेर भारत र चीन निर्यात गर्न सकिन्छ भने लगानी बढ्छ । त्यसैले बजारको यो अनिश्चितता हटाउने काममा सरकारले कूटनीतिक पहल गर्नु आवश्यक छ ।