असार १२, विराटनगर । भारतको अररिया जिल्लाको सीमावर्ती बजार जोगबनीमा गरिएको हड्तालका कारण सुनसरी मोरङ औद्योगिक करिडोरमा आउने मालबाहक सवारी साधन दुई दिनदेखि भारतमै रोकिएका छन् ।
जोगबनी बजारको सडक स्तरोन्नतिको माग गर्दै स्थानीयले मंगलवारदेखि जोगबनीमा हड्ताल गरेका छन् । हड्तालका कारण जोगबनीदेखि १० किलोमिटर दक्षिणसम्म मालवाहक सवारी साधन रोकिएका हुन् । जोगबनीवासीले यातायात र बजार बन्द गराउँदै मालबाहक गाडीहरू चल्न दिएका छैनन् । बन्दका कारण नेपाल तर्फबाट किनमेलका लागि जोगबनी जाने सर्वसाधारण रित्तो हात फर्किने गरेका छन् ।
औषधी व्यवसायी संघ जोगबनीका अध्यक्ष सुदिप भारतीका अनुसार, साँघुरो सडक भत्किएर सवारी साधन नै गुड्न नसक्ने भएकाले स्थानीयले अनिश्चितकालीन हड्ताल गरेका हुन् । सडकको समस्यालाई सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारी बैजनाथप्रसाद यादव नआएसम्म आन्दोलन जारी रहने जोगबनीका व्यवसायी आकाश शर्माले बताए । उनले भने, ‘भोलिसम्म मागको सुनुवाई नभए रिक्सा साइकल पनि बन्द गराइने छ ।’
जोगबनीवासीले आन्दोलन थाले लगत्तै अररिया जिल्लाका प्रजिअका पिताको निधन भएकाले तत्काल उनी आउन नसक्ने भएपछि हड्ताल अनिश्चित भएको छ । सडकमा अवरोध गरी बन्दकर्ताले नेपालतर्फ आउने मालबाहक साधन रोकेर राखेका छन् । विराटनगर भन्सारका प्रमुख मिमांश अधिकारीका अनुसार, निर्माणाधीन नेपाल–भारत संयुक्त भन्सार जाँच चौकीको बाटो हुँदै केही साधन भने मंगलवार राति नेपाल तर्फ भित्र्याइएका थिए । राति मालबाहक साधन ल्याएर पनि करीब लक्ष्य अनुसार नै राजस्व संकलन गरिएको अधिकारीले बताए । मोरङ व्यापार संघका महासचिव अनिल साहका अनुसार अझै दुई दिन जोगबनीमा हड्ताल कायम रहे औद्योगिक करिडोरका उद्योगमा कच्चा पदार्थ सकिनेछ । भारत तर्फका अधिकारीलाई आग्रह गरेर हड्ताल खुलाई नेपालतर्फ आउने साधनलाई सहज बनाउनु पर्ने साहले बताए ।