काठमाडौं । सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइज ब्लूचिप फण्डले भदौ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरणअनुसार फण्डको खुद नाफा साउन मसान्तको तुलनामा भदौमा ९८ प्रतिशत घटेको छ । साउन मसान्तमा फण्डले रू. १८ करोड नाफा कमाएकोमा भदौ मसान्तमा घटेर रू. ३४ लाख ८९ हजारमा झरेको हो । भदौमा फण्डको खर्चमा वृद्धि भएकाले र आम्दानी घटेकाले नाफा प्रभावित भएको हो ।
फण्डको कुल खर्च साउन मसान्तमा रू. २६ लाख ७३ हजार रहेकोमा भदौ मसान्तमा बढेर रू. ४९ लाख ५३ हजार पुगेको छ । त्यस्तै, साउन मसान्तमा फण्डको कुल आम्दानी रू. १८ करोड ३२ लाख रहेकोमा भदौमा रू. ८४ लाख ४३ हजारमा झरेको हो ।
नाफासँगै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि घटेको छ । साउन मसान्तमा फण्डको न्याभ १२ रुपैयाँ ६४ पैसा रहेकोमा भदौ मसान्तमा घटेर ११ रुपैयाँ २२ पैसामा झरेको हो ।
त्यस्तै फण्डले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १ अर्ब २४ करोडभन्दा बढी लगानी गरेको छ । यो लगानी साउन मसान्तमा रू. १ अर्ब ३४ करोडभन्दा बढी थियो ।