काठमाडौं । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको छ । दुई दिनदेखिको अवरिल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएपछि राहत तथा उद्धार व्यवस्थापनमा पनि समस्या भएको छ ।
पहिरोमा पुरिएर पाँचथरमा आमाछोरीको मृत्यु
पाँचथरमा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु भएको छ । निरन्तरको वर्षाका कारण खसेको पहिरोमा परी पुरिँदा फिदिम नगरपालिका–४ चिसापानीमा बस्दै आएका फिदिम नगरपालिका–१२ का २५ वर्षीया सपना शेर्पा र उनकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको हो । उनीहरूसँगै रहेका अन्य तीन जना भने भागेर बाँच्न सफल भएका छन् ।
पहिरोमा परी आज बिहान ३: ४५ तिर दुवैजनाको मृत्यु भएको हो । मृतकहरूको शव स्थानीयवासीको सहयोगमा प्रहरीले पहिरोबाट निकालेको छ । पहिराले यहाँ रहेको नेपाल आदिवासी जनजाति महासङ्घको भवन पनि पुरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
पहिरोले घर पुरिँदा दुईको मृत्यु
सिन्धुपाल्चोकको लिसङ्खु पाखरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । लिसङ्खु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाका अनुसार गएराति आएको पहिरोले पुरिएर वडा नं ३ का पूर्वअध्यक्ष काजीबहादुर लामा र उनकी श्रीमतीको मृत्यु भएको हो । घरमा सुतिरहेकाको समयमा राति १ बजेतिर आएको पहिरोले पुरिँदा दुवै जनाको मृत्यु भएको अध्यक्ष लामाले जानकारी दिए । स्थानीयले रातिदेखि नै उद्धार सुरु गरेका थिए । अविरल वर्षाका कारण सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ ।
सुनकोसी नदीले खतराको तह पार गरेको छ । अरनिको राजमार्गलगायत अन्य सहायक मार्गमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । इन्द्रावती नदीमा आएको बाढी इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा पस्दा आयोजना बन्द भएको आयोजनाका कर्मचारी विनोद कार्कीले जानकारी दिए । मेलम्ची खोलामा आएको बाढीले मेलम्ची–७ र हेलम्बु गाउँपालिका–४ जोड्ने तालामाराङ डाँडापसलको झोलुङ्गे पुल उच्च जोखिममा रहेको स्थानीय तारा गिरीले जानकारी दिए ।
कुटी र धर्मशालामा बस्नेको उद्धार
नारायणी नदीमा पानी बस्तीमा पस्न सक्ने जोखिम बढेपछि भरतपुर महानगरपालिका–१ देवघाटका करिब एक सय जनाको उद्धार गरिएको छ । गए राति १:३० बजे जयभोले कुटी र अखण्ड धर्मशालामा बस्ने उनीलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । निरन्तरको वर्षातसँगै नदीमा जलसतह बढेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन उनले अनुरोध गरेका छन् ।
ललितपुरको किस्ट अस्पतालनमा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारियो
ललितपुरको किस्ट अस्पतालको पर्खाल भत्किएपछि स्थानीय कर्मनाशा खोलाको पानी अस्पताल परिसरमा पसेको छ । स्थानीय प्रहरीका अनुसार अस्पतालको तल्लो तलामा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारिएको छ ।
लगातारको वर्षासँगै स्थानीय खोला एवं नदी किरारका घरहरूमा पानी पसेको प्रहरीले जनाएको छ । प्रहरीले माइकिङ गरेर स्थानीयलाई सुरक्षित रहन आग्रह गरेको छ । विगत २४ घण्टादेखि निरन्तर भइरहेको वर्षाका कारण उपत्यकाको जनजीवन प्रभावित भएको छ । उपत्यकाका नाकाहरू सडक अवरुद्ध भएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार फर्पिङमा पहिरो खसेको छ । त्यसैगरी, भक्तपुर कटुन्जेको घट्टेखोलामा बहाव बढ्न गई स्थानीयको घरमा पानी पसेको छ । उपत्यकाका सबैजसो खोला एवं नदी किनारमा रहेका बस्तीमा पानी पसेको र स्थानीयलाई सुरक्षित रहन प्रहरीले माइकिङ गरिएको प्रहरीले जनाएको छ ।
नागढुङ्गाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध
चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान १२:२० पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । नागढुङ्गा प्रहरीका ड्युटी अफिसर प्रहरी सहायक निरीक्षक दीपकबहादुर धानुकका अनुसार पहिरोले यातायात पूर्ण रूमा अवरुद्ध भएको छभने उपत्यकाभित्र र बाहिर कुनै पनि सवारी साधन पास हुन सकेका छैनन् ।
त्रिशूली नदीले एक्साभेटर र टिप्पर बगायो
त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिप्पर बगाएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण नदीमा आएको भीषण बाढीले शुक्रबार राति करिब १०:१० बजे आयोजनाको तीनवटा टिप्पर र दुईवटा एक्साभेटर बगाएको सशस्त्र प्रहरी बलका केन्द्रीय सह–प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
बाढीले नदीको बीच भागमा रहेको मेसिन तथा टिप्पर बगाएको आयोजनाका कर्मचारी सङ्गम मग्रातीले जानकारी दिए । “साँझतिर एउटा एक्साभेटर र एउटा टिप्पर बगाएको थियो,” उनले भने, “सोही ठाउँमा रहेका थप एउटा एक्साभेटर र दुईवटा टिप्पर पनि राति करिब १० बजे त्रिशूली नदीमा आएको बाढीले बगाएको छ ।” नदीमा भीषण बाढी आएपछि दिउँसोदेखि नै आयोजनाको तीनवटा टिप्पर, दईवटा एक्साभेटर नदीको बीचमा फसेको थियो । नदीको मध्यभागमा फसेको मेसिन निकाल्ने प्रयास गरिएको भए पनि नसकिएको उनको भनाइ छ ।
ब्लू इनर्जी कम्पनीले बुट्टारमा १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सोही आयोजना निर्माणमा प्रयोग भएका टिप्पर र एक्साभेटर नदीले बगाएको छ ।
सर्लाहीको पूर्वीक्षेत्रमा विद्युत् सेवा अवरुद्ध
लगातारको वर्षाका कारण पोल ढल्दा सर्लाहीको पूर्वक्षेत्रमा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै, जिल्लाको पश्चिमी क्षेत्रमा पनि आंशिक रूपमा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण मलङ्गवा वितरण केन्द्रले जनाएको छ ।
जिल्ला सदरमुकाम मलङ्गवाभन्दा पूर्वी क्षेत्रमा पर्ने ब्रह्मपुरी, चन्द्रनगर, पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकाको सबै वडामा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण मलङ्गवा वितरण केन्द्रका प्रमुख उमेशप्रसाद यादवले जानकारी दिए । त्यस्तै, ईश्वरपुर नगरपालिका–१७ सुकनाहामा पनि विद्युत् सेवा अवरुद्ध भएको उनले बताए ।
ब्रह्मपुरी गाउँपालिको सखुअवामा वर्षाले ११ हजार भोल्टको पोल ढल्दा ब्रह्मपुरी गाउँपालिकाअन्तर्गत पर्ने साबिक ब्रह्मपुरी, नोकैल्वा, पडरिया, सखुअवा, चन्द्रनगर गाउँपालिकाअन्तर्गत पर्ने, बबरगञ्ज, पोखरिया, मोहनपुर, लोदवा, चन्द्रनगर, गढा टोल, नाढीमन, त्यस्तै, पर्सा गाउँपालिकाअन्तर्गत पर्ने, पर्सा, नारायणपुर, सङ्ग्रामपुर, जिङ्गडवा, कविलासा, र हरिपुर्वा नगरपालिकाअन्तर्गत पर्ने हरिपुर्वा, धनकौल, वसन्तपुरलगायत क्षेत्रमा शुक्रबार राती ८ बजेदेखि पूर्ण रुपमा विद्युत् सेवा अवरुद्ध भएको केन्द्रका प्रमुख यादवले जानकारी दिए ।
त्यस्तै, वर्षाले सर्किट सर्ट भई तथा पोल ढलेर ग्रामीण फिडरबाट आपूर्ति हुने जिल्लाको पश्चिम क्षेत्रमा पनि आंशिक रूपमा विद्युत् सेवा अवरुद्ध भएको उनले बताए । “वर्षाले सर्लाहीको ठाउँठाउँमा पोल ढलेर तथा विद्युत् सर्किट सर्ट भएर सेवा अवरुद्ध भएको छ”, प्रमुख यादवले भने, “वर्षाले रातिको समयमा मर्मत गर्न समस्या भएका कारण शनिबार बिहानदेखि मर्मको कार्य सुरु गरिनेछ ।”
पोल ढलेको वा विद्युत्सम्बन्धी कुनै समस्या आएको खण्डमा नेपाल विद्युत् प्राधिकरण मलङ्गवा वितरण केन्द्रको फोन नम्बर ०४६–५२०१६३, मोबाइल नम्बर ९७४६६७७५१० साथै जिल्लाको पश्चिमी क्षेत्रमा विद्युत्सम्बन्धी कुनै समस्या आएको खण्डमा तत्कालै गडहिया सबस्टेसनको मोबाइल नम्बर ९७६५७०४८३६ मा जानकारी गराई सहयोग गरिदिनहुन कार्यालय प्रमुख यादवले सबैसँग अपिल गरेका छन् । बिहीबारदेखि लगातार भइरहेको वर्षाका कारण यहाँको जनजीवन कष्टकर बनेको छ ।
सुदूरपश्चिमका दुई जिल्लामा विद्युत् सेवा अवरुद्ध
सुदूरपश्चिम प्रदेशका पहाडी दुई जिल्ला बैतडी र दार्चुलामा विद्युत् सेवा अवरुद्ध भएको छ । शुक्रबार साँझदेखि दुई जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण, बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले जानकारी दिए । लगातारको वर्षाका कारण बलाचदेखि स्याउले जोड्ने १३२ केभी प्रसारणको लाइनको तार टुटेर ३३ केभीमा परेकाले यहाँका दुई जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको हो । उनले भने, “१३२ केभी प्रसारणको लाइनको तार दार्चुलाको नाइलमा ३३ केभीमा खस्न गएर विद्युत् सेवा अवरुद्ध भएको छ ।” विद्युत् सेवा अवरुद्ध हुँदा बैतडी र दार्चुलाका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । अवरुद्ध लाइन सञ्चालनका लागि प्राविधिकको परिचालन गरिएको प्रमुख पौडेलले बताए । दुई दिनदेखिको वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ ।