काठमाडौं। ‘नेशनल टुरिजम कन्फरेन्स २०२४’ सम्पन्न भएको छ । टुरिजम रिसर्च एण्ड टे्रनिङ इन्स्टिच्यूट (टिआरटिआई)को तेस्रो नेशनल टुरिजम कन्फेरेन्स मंगलवार नेपाल टुरिजम बोर्डको हलमा सम्पन्न भएको हो । कार्यक्रममा कोशी, मधेश र बागमती प्रदेशका ४ ओटा विद्यालयका विद्यार्थीले सातै प्रदेशलाई प्रतिनिधित्व गरेर सांस्कृतिक नृत्य तथा पर्यटन र संभावनाका विषयमा खोजमूलक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यस्तै कार्यक्रममा पर्यटनमा योगदान पुर्याउने पाँचजना युवालाई सम्मान गरिएको थियो, जसमा एकै सिजनमा तीनपटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान राख्न सफल पूर्णिमा श्रेष्ठ, पर्यटन शिक्षामा योगदान गर्ने प्रकाश रेग्मी, शिक्षकहरू क्रमश: कमला क्षेत्री, सत्यमकाजी बस्नेत तथा रामबाबु शर्मा छन् ।
कार्यक्रममा बाल सामाजिक अभियन्ता प्रिन्सा रेग्मी र जीटीटीपी नेपालकी दुबई कन्फरेन्स २०२३ की विजेता वर्षा खड्कालाई सन् २०२४/२०२५ का लागि विद्यार्थी पर्यटनदूत तथा ‘केटिएम एमएस इन्टरनेशनल २०२३’ विजेता सीता सुवेदीलाई वर्ष २०२४/२०२५ का लगि युवा पर्यटनदूत नियुक्त गरिएको थियो ।
कल्चरल प्रस्तुतिमा प्रस्तुतिको आधारमा विद्यासागर स्कुल बौद्ध प्रथम, जनकपुरको मोनाष्टिक स्कुल द्वितिय तथा नेपाल एपिएफ स्कुल कीर्तिपुर तृतिय भएका थिए । विजयी टिमले क्रमश: रू. १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेका थिए । रिसर्च रिपोर्टतर्फ बिर्तामोडको न्यूटन्स स्कुलका संस्कार भट्टराई तथा नेपाल एपिएफ स्कुल कीर्तिपुरका विवेकानन्द कुशवाहा जीटीटीपी स्पेन कन्फरेन्सका लाथि छनौट भएका थिए ।