काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक ग्राहकले अनलाइनबाट शेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन् ।
बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको शेयरहरू धितो राखी सरल प्रक्रियाबाट शेयर धितो कर्जा प्राप्त गर्न सक्ने बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
ग्राहकहरूले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सक्नेछन् । यस प्रक्रियामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैले जानकारी लिनसमेत सक्नेछन् ।
यो शेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम रु. ५ लाखदेखि अधिकतम रु. २५ लाखसम्म तोकिएको छ ।
यो कर्जाको निमित्त धितोको रूपमा स्वीकार गरिने शेयरहरू निवेदक स्वयम्को हुनु पर्नेछ, निवेदक बाहेक अन्य व्यक्तिको शेयरहरू धितोको रुपमा स्वीकार गरिने छैन ।
यो सुविधा बैंकले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ ।
ग्लोबल आइएमई बैंक ७७ ओटै जिल्लामा शाखा सञ्जाल रहेको वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी हजारभन्दा बढी सेवा केन्द्र छन् ।