काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालको सबैभन्दा दिगो बैंक बन्ने रणनीतिक उद्देश्यले दुईओटा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ । दिगो युटिलिटी–स्केल सौर्य र कृषि परियोजनाको विकासका लागि प्राविधिक सहयोग तथा परामर्श भित्त्याउने उद्देश्यले २ करोड अमेरिकी डलरको पहिलो सम्झौता डच फन्ड फर क्लाइमेट एण्ड डेभलपमेन्ट (डीएफसीडी)सँग गरिएको बैंकले जानकारी दिएको छ ।
त्यसैगरी अन्तरराष्ट्रिय मापदण्ड निर्धारण गर्ने निकाय हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सले गर्ने प्रारम्भिक जलविद्युत् दिगोपन मूल्यांकनका लागि प्राविधिक सल्लाहकार उपलब्ध गराउन डच उद्यमशील विकास बैंक (एफएमओ)सँग दोस्रो सम्झौता गरिएको बताइएको छ ।
नेपालभर ८०० मेगावाटसम्मको ग्रिड जडित सौर्य ऊर्जा विस्तार गर्ने नेपाल विद्युत् प्राधिकरणको नयाँ परियोजना छ । बैंकले उक्त परियोजनाबाट उत्पादन भएको ऊर्जा कृषि तथा अन्य क्षेत्रमा दिगो रूपमा प्रयोग गर्न सहयोग गर्ने बताएको छ । जलविद्युत् परियोजनाका लागि हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सद्वारा अन्तरराष्ट्रिय मान्यता प्राप्त स्वतन्त्र दिगोपन मूल्यांकन कार्यान्वयन गरी जिम्मेवार बैंक बन्ने अभिप्रायका साथ एनएमबि बैंक अघि बढेको बताइएको छ । बैंकले निकट भविष्यमा आफूले लगानी गरेका जलविद्युत् परियोजनाका लागि हाइड्रोपावर सस्टेनेबिलिटी स्ट्यान्डर्ड सर्टिफिकेशन प्राप्त गर्ने लक्ष्य राखेको छ, जुन आयोजनाहरूले स्थानीय समुदाय र उनीहरूको बसोवास स्थलको स्थार उन्नति सुनिश्चित गर्ने अपेक्षा छ ।
एनएमबि बैंकको यी पहलहरूले नेपालको ऊर्जा क्षेत्रलाई वातावरणीय र सामाजिक रूपमा लचिलो बनाउन, अन्तरराष्ट्रिय लगानीकर्ताहरू आकर्षित गर्दै व्यावसायिक अवसर सृजना गर्ने विश्वास बैंकले लिएको छ ।