काठमाडौं। नेपाल हस्पिटालिटी कन्क्लेभको दोस्रो संस्करण काठमाडौंमा बिहीवारदेखि शुरू भएको छ । नेपाली आतिथ्य क्षेत्रको विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यले होटल संघ नेपालको आयोजनामा राष्ट्रियस्तरको सम्मेलन आयोजना गरिएको हो ।
विश्व पर्यटन दिवसका अवसरमा आयोजित दुई दिने सम्मेलनले होटल सञ्चालक, लगानीकर्ता, नीति–निर्माता, नियामक, विज्ञ, नेपालमा सञ्चालित विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय होटलको नेतृत्व वर्ग, सेवा प्रदायकलगायत यस क्षेत्रसँग सम्बन्धित दुई सयभन्दा बढी सरोकार भएकाको सहभागिता रहेको संघले जनाएको छ । कन्क्लेभको उद्घाटन गर्दै होटल संघ नेपालका अध्यक्ष विनायक शाहले आतिथ्य क्षेत्रसँग सम्बन्धित ज्ञान, सीप, रणनीति तथा विचारको आदानप्रदानका लागि यो कार्यक्रमले साझा मञ्च प्रदान गर्ने विश्वास व्यक्त गरे । होटललगायत पर्यटकीय पूर्वाधारको उपयोग गरेर व्यावसायिक लाभ लिन सक्नुपर्नेमा जोड दिए ।