काठमाडौं । पत्रकार देवेन्द्र बस्नेतको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । उनको स्वरमा ‘बोल... मन खोल’ बोलको गीत युट्युबमार्फत सार्वजनिक भएको हो । उक्त गीतको रचना नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले गरेका छन् भने वरिष्ठ संगीतकार सन्तोष श्रेष्ठले गीतमा संगीत भरेका छन् । बस्नेतको यो स्वरलाई सुदन थापाले दृश्यमा मिसाएका छन् ।
उक्त गीत युट्युबमा सार्वजनिक भएलगत्तै गायक बस्नेतकी आमा नौली कुमारी बस्नेतको निधन भयो । त्यसपछि उनले यो गीत आमालाई नै समर्पण गरेका छन् । उनकी आमा करीब दुई वर्षदेखि क्यान्सरले थलिएकी थिइन् ।
उनका बुबा कृष्ण बस्नेत पनि गायक नै थिए । कुनै जमानामा बुबाले गाएको ‘चिल बस्यो टुप्पैमा...’ बोलको गीत निकै चर्चित थियो । बुवाको निधनपछि करीब ८ वर्षअघि उनले त्यही गीत आफ्नै स्वरमा पुनः रेकर्ड गराएका थिए । कुनै बेला पश्चिम नेपालमा निकै चर्चित रहेको यो झ्याउरे गीत अहिले पनि उस्तै चलिरहेको छ ।
दाङमा रहेर पत्रकारिता गर्दै आएका बस्नेत बेलाबेला विभिन्न सांस्कृतिक महोत्सवहरूमा गीत गाउन जाने गरेका छन् । उनले अहिलेसम्म करीब आधा दर्जन गीतहरूमा स्वर दिइसकेका छन् ।
उनी गीत, संगीतलाई जीवनका संयोग र नियतिसँग गाँसिएको ठान्छन् । र, भन्छन्, ‘बुवा बितेपछि उहाँको गीत गाएँ। त्यसमा बुवाको पुनर्जीवन पाएँ। अहिले यो गीत रेकर्ड सक्दा नसक्दै आमा बित्नुभयो। गीतहरू मेरा नियतिसँग गाँसिएका छन् सायद।’
यो गीतका रचनाकार पोख्रेलले २०६० सालदेखि गीतका शब्दहरू कोर्न थालेका हुन् । पोख्रेलले पत्रकारितासँगसँगै दर्जनजति गीत लेखिसकेका छन्।