काठमाडौं । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको छ । गृहमन्त्रालयले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ । मन्त्रालयका अनुसार बिहान १०:३० बजेका लागि बैठक बोलाइएको हो ।
दुई दिनदेखिको अवरिल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएपछि राहत तथा उद्धार व्यवस्थापन तथा थप कार्ययोजना तय गर्न गृहमन्त्री रमेश लेखकले बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ ।
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म छ जनाको मृत्यु भएको छ । बाढीपहिरालगायत विपद्मा परी सात जना घाइते र सात जना बेपत्ता भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
पहिरोबाट पाँचथर, धनकुटा, काभ्रेपलाञ्चोक र ललितपुरलगायत जिल्लामा केही घर पुरिँदा मानवीय क्षति भएको छ । क्षतिको पूरा विवरण आउन बाँकी छ । बाढीपहिरामा बेपत्ता भएकाको खोजी जारी छ । पछिल्लो विपद्बाट करिब चार सय नागरिक विस्थापित भएका र विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए । उद्धार गरिएका नागरिकको व्यवस्थापनमा तदारुकताका साथ काम भइरहेको छ । प्रहरी प्रवक्ता कार्कीका अनुसार एक सय ५० भन्दाबढी स्थानमा बाढीपहिरालगायत विपद्का घटना भएका छन् । २८ स्थानमा प्रायः सबै राजमार्ग, मुख्य सडकमार्गहरु अवरुद्ध छन् । अवरुद्ध सडक खुलाउन सबै निकायसँग समन्वय भइरहेको प्रहरी नायब महानिरीक्षक कार्कीले बताए ।
काठमाडौँको नदी करिडोरका सडक बन्द
काठमाडौँको वाग्मती, विष्णुमति, हनुमन्तेलगायत खोलामा जलसतह बढेपछि करिडोरका सडक प्रायः बन्द भएका छन् । सबै खोलामा करिडोर सडकमा पानी उक्लिएको अवस्था छ । प्रहरीले नदी करिडोर तथा डुबान हुनसक्ने सबै क्षेत्रमा सचेत गराएको प्रवक्ता कार्कीले जानकारी दिए । “नेपाल प्रहरीका टोली देशभरि नै परिचालित भएका छन्, प्रहरीको सम्पूर्ण ध्यान अलिहेको विपद्बाट हुनसक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्नेमा केन्द्रित छ”, उनले भने । मुलुकभर निरन्तर वर्षाको अवस्था रहेको छ । जल तथा मौसम विज्ञान विभागले भोलिसम्म अविरल वर्षा हुने पूर्वानुमान गरेको छ ।
बागमती प्रदेश बढी प्रभावित
गृह मन्त्रालयका अनुसार अविरल वर्षाका कारण तुलनात्मक रुपमा बागमती प्रदेश बढी प्रभावित भएको छ । बागमतीको खासगरी काभ्रेपलाञ्चोक, काठमाडौँ र ललितपुरमा क्षतिका घटना भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । बिपी राजमार्ग, पृथ्वी राजमार्गलगायतका यस क्षेत्रका साना र ठूलागरी धेरै सडक अवरुद्ध छन् ।
अन्य प्रदेशमा पनि राजमार्ग अवरुद्ध तथा खोला र नदी किनारका खेतीयोग्य जमिन कटानका थुप्रै घटना भएका छन् । अहिले अन्य भागको तुलनामा सुदूरपश्चिम र कर्णालीमा भने सामान्य पानी परेको छ । कोसी प्रदेशका धनकुटालगायत क्षेत्रमा केही क्षतिको विवरण प्राप्त भएको मन्त्रालयको भनाइ छ । पश्चिमतर्फ कालीगण्डकी करिडोर पनि अवरुद्ध छ । अवरुद्ध सडक खुलाउन स्थानीयको सहयोगमा सुरक्षाफौज र सडक विभागले काम पनि गरिरहेको छ । मानवीय र भौतिक क्षतिलाई न्यून गर्न मन्त्रालयको प्रयास केन्द्रित रहेको उनले जानकारी दिए ।
मन्त्रालयले सबै नागरिकलाई वर्षाको समयमा अत्यावश्यक अवस्थाबाहेक घर बाहिर र नदी किनारमा नजान अनुरोध गरेको छ । मुलुकका अहिले विभिन्न नदीले जलसतहका हिसाबले २२ वटा नदीले खतराको सीमा पार गरेको छ र १४ वटा चेतावनीको अवस्थामा रहेका छन् ।
हवाई उडान प्रभावित
निरन्तरको भारी वर्षाका कारण हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण शुक्रबार साँझ ७ बजेदेखि स्थगित गरिएको आन्तरिकतर्फ उडान अहिलेसम्म खुलेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आन्तरिक उडान अहिलेसम्म खुलेको छैन भने अन्तर्राष्ट्रियतर्फको उडान भने सञ्चालन भइरहेको छ ।
आज विहान जजिरा एयरको विमान काठमाडौँ विमानस्थलमा अवतरण गर्यो भने फ्लाइ दुबईको विमान डाइभर्ट भएको छ । एयर अरेबियाको विमान भर्खरै अवतरण भएको छ । वर्षाका कारण भिजिबिलिटी कमजोर हुँदा शुक्रबार पनि आन्तरिकतर्फ धेरैजसो उडान रद्द भएको थियो । हिजो अन्तर्राष्ट्रियतर्फ दुई विमान ‘होल्ड’ हुनका साथै धेरै उडान डिले भएका थिए । ‘इन रुट वेदर’ बिग्रिएकाले अन्तर्राष्ट्रिय उडानका विमानलाई पनि अवतरणमा कठिनाइ भएको थियो ।
शुक्रबार थाइ एयरवेजको विमान करिब दुई घण्टा सिमरामाथिको आकाशमा होल्ड भएको थियो भने इण्डिगो एयर पनि एक घण्टा होल्ड भएर अवतरण भएको थियो । विमानस्थलका अनुसार शुक्रबार आन्तरिकतर्फ दुईतर्फी तीनसय १६ उडान तालिका रहेकामा दुईसय ३८ हाराहारी उडान रद्द भएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले खराब मौसमका कारण शुक्रबार साँझ ७ बजेदेखि शनिबार विहानसम्म आन्तरिकतर्फ सबै उडान स्थगित गरेको थियो ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले आन्तरिक उडान अहिलेसम्म कतैपनि नभएको बताए । “काठमाडौँ विमानस्थल खुलेपनि आन्तरिकतर्फ अहिलेसम्म कतैपनि उडान भएको छैन, मौसम र गन्तव्य हेरेर उडानको थप निर्णय हुन्छ”, उनले भने ।
कोसी ब्यारेजका सबै ढोका खोलिए, सतर्क रहन आग्रह
निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोसी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ । आज बिहान ७ बजे तीन लाख ८१ हजार आठ सय ४० क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो भने ८ बजे चार लाख १८ हजार दुई सय ८५ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको सुनसरी जिल्ला प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिए । नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । पानीको सतह निरन्तर बढेपछि कोसी ब्यारेजमा जोखिमको सङ्केत देखिन थालेको सुनसरी जिल्ला प्रमुख अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । सप्तकोसी जलमापन केन्द्रले जलसतह जोखिम बिन्दुभन्दा माथि पुगेको बताएको छ । नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख अधिकारी तिवारीले आग्रह गरेका छनु ।
धादिङबेसी मलेखु सडकको दुई ठाउँमा पहिरो, सवारी आवागमन ठप्प
सदरमुकाम धादिङबेसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेसी मलेखु सडक पहिरोले अवरुद्ध बनेको छ । नीलकण्ठ नगरपालिका–८ दारेगौडा र साघुटारमा सडकमाथिबाट खसेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध बनेको हो । अहिले त्यस क्षेत्रमा सवारी आवागमन बन्द भएको छ । केही वर्ष अघिदेखि पहिरो खस्दै आएको स्थानमा फेरि पहिरो आएको स्थानीयले बताएका छन् । पहिरोले ढुङ्गा र रुखहरु खसेकाले तत्काल बाटो खुलाउन कठिन रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए ।
पहिरोले स्याफ्रु–रसुवागढी खण्ड अवरुद्ध, यात्रु र सवारीसाधन बाटोमै रोकिए
निरन्तरको भारी वर्षाका कारण सडकमा पहिरो खस्दा स्याफ्रु–रसुवागढी खण्डको सडक अवरुद्ध भएको छ । जसका कारण सयौँको सङ्ख्यामा सवारीसाधन अलपत्र परेका छन् । काठमाडौँबाट रसुवागढी जाँदै गरेका र केरूङबाट काठमाडौँका लागि मालवस्तु बोकी आएका मालवाहक सवारीसाधन टिमुरे क्षेत्रमै रोकिएको रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए ।
सडक मार्ग खोल्ने प्रयास गरिए पनि धेरै स्थानमा आएको पहिराका कारण ठाउँठाउँमा हिलोमाटोको लेदोसमेत भरिएको उनले बताए । आज बिहानैदेखि काम सुरू गराइने प्रजिअ खनालले जानकारी दिए । सडकमार्ग अवरूद्ध भएका कारण मानसरोवर कैलाशको धार्मिक यात्रा सम्पन्न गरी फर्केका यात्रु टिमुरेमा रोकिएको सीमा सुरक्षाकर्मीले जानकारी दिएका छन् । चीनबाट आयात भएका दर्जनौँ विद्युतीय सवारीसाधन सडक बन्द भएपछि टिमुरेमै रोकिएका छन् ।
पहिरोका कारण टिमुरे बजार एवं रसुवागढीको सीमावर्ती क्षेत्रमा विद्युत् तथा टेलिफोन विच्छेद भएको छ । भारी वर्षाका कारण बाढीपहिराको उच्च जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । कुनै समस्या भए सुरक्षा अङ्ग वा स्थानीय तहका जनप्रतिनिधिलाई जानकारी गराई थप सहयोगका लागि जिल्ला प्रशासन कार्यालय र जिल्लास्तरीय सुरक्षा निकायमा खबर गरिदिन अनुरोध गरिएको प्रजिअ खनालले बताए । विद्यालय जाने बालबालिकालाई एक्लै नपठाउन र सहज स्थान भए पनि रातिको समयमा सवारीसाधन नचलाउनसमेत जिल्ला प्रशासन कार्यालय रसुवाले अनुरोध गरेको छ । भारी वर्षाकै कारण ग्रामीण क्षेत्रको अधिकांश सडक बन्दहुँदा बडादसैँका लागि खाद्यान्न ढुवानीमा असहज भएको छ ।
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै आज बिहान आएको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको हो । प्रमुख जिल्ला अधिकारी चितवनका इन्द्रदेव यादवका अनुसार बिहान ४ बजे पहिरो खसेको हो । पहिरो पन्छाउने काम सुरु गरिएको छ ।
दुई वटा स्काभेटरले पहिरो पन्छाइरहेको उनले जानकारी दिए । यस्तै इच्छाकामना गाउँपालिका–३ मौवाखोला, दतिखोला, पानीधारालगायत क्षेत्रमा पनि पहिरो खसेको उनले बताए । यादवका अनुसार सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । यसैबीच नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा सडक दुई फिट तल भासिएको छ । निरन्तरको वर्षाका कारण सडक भासिन पुगेको हो ।
कुलेखानीको जलाशयको ढोका खोलियो
अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्द्रसरोवर ताल) मा पानी भरिएर खतराको सङ्केत देखिएपछि आज बिहान ढोका खोलिएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बाँध माथिबाट पानी बग्न थालेपछि सुरक्षालाई मध्यनजरगरी आज बिहानै तालको ढोका खोलिएको जानकारी दिए ।
“जलाशय भरिन अझै एक/दुई दिन लाग्छ कि भन्ने अनुमान थियो, तर गएराति नै भरियो”, प्रजिअ चिलुवालले भने । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र कुलेखानीका प्राविधिकको टोलीको सहभागितामा जलाशयको ढोका खोलिएको प्रजिअ चितुवालले बताए ।
कुलेखानीको ड्याम खोलिएकाले त्यहाँबाट बग्ने पानीले मकवानपुरको भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, बागमती गाउँपालिकासँगै सिन्धुली, सर्लाही र रौतहटका नदी तटीय क्षेत्र प्रभावित हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन उनले आग्रह गरेको छ । कुलेखानीको क्षमता कूल एक हजार पाँच सय ३० मिटर छ ।
कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीमा एक्कासी बाढी आउनसक्ने अवस्था देखिएकाले कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू समेत ‘हाइ अलर्ट’मा बस्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको थियो । रासस