काठमाडौं । पछिल्लो दुई कारोबार दिन घटेको नेप्से सोमवार भने १ दशमलव ८० प्रतिशत बढेर बन्द भएको छ । यससँगै नेप्से परिसूचक २ हजार ५०८ दशमलव ८६ विन्दुमा पुगेको हो ।
नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ । अघिल्लो कारोबार दिन रू. ४ अर्ब ५ करोड बराबरको कारोबार भएकोमा आज रू. ३ अर्ब ७१ करोडमा झरेको हो ।
बजार बढ्दा वित्त, उत्पादनमूलक र होटल तथा पर्यटन समूहका कम्पनीको शेयर मूल्य उच्च दरले वृद्धि भएको छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ४४ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ६५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ५२ प्रतिशत वृद्धि भएको छ ।
३१९ धितोपत्रको ९७ लाख १७ हजार ९५९ कित्ता शेयर ५० हजार ६८० पटकमा रू. ३ अर्ब ७१ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये सिईडिबि हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ७२७ पुगेको छ । त्यस्तै कुमारी सबल फण्डको इकाई मूल्य ९ दशमलव ९८ प्रतिशत बढेर रू. ९ दशमलव ९२ पुगेको छ ।
सोमवार सबैभन्दा बढी प्रभु सेलेक्ट फण्डका इकाईधनीले गुमाएका छन् । यस फण्डको इकाई मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ९ दशमलव ३६ प्रतिशत घटेको छ । इकाई मूल्य रू. ९ दशमलव ६८ मा झरेको छ । त्यस्तै नबिल ब्यालेन्स फण्ड २ को इकाई मूल्य ७ दशमलव २९ प्रतिशत घटेर रू. ८ दशमलव ९० कायम भएको छ ।
शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा सिईडिबि हाइड्रोपावरले ओगटेको छ । यस कम्पनीको रू. १७ करोड ६९ लाख बराबरको शेयर खरीदविक्री भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा सर्वोत्तम सिमेन्ट छ । कम्पनीको रू. १७ करोड १५ लाख बराबरको शेयर खरीदविकी भएको हो ।
आज म्युचुअल फण्डबाहेक सबै समूहगत सूचक बढेका छन् । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी ४ दशमलव १९ प्रतिशत बढेको छ । म्युचुअल फण्डको सूचक भने शून्य दशमलव ६० प्रतिशत घटेको छ ।