कस्ता–कस्ता आयलाई व्यवसायको आयमा जोड्नुपर्छ भन्नु नै व्यवसायको आयको गणना गर्नु हो । व्यवसायको आयमा व्यवसायको सिलसिलामा प्राप्त सेवा शुल्क, व्यापारिक मौज्दातको नि:सर्गबाट प्राप्त रकम, व्यावसायिक सम्पत्ति र व्यावसायिक दायित्वबाट खुद लाभ, ह्रासयोग्य सम्पत्तिको नि:सर्गबाट लाभ, व्यवसायको सिलसिलामा प्राप्त उपहार, व्यवसायको सम्बन्धमा कुनै प्रतिबन्ध स्वीकार गरी प्राप्त गरेका रकमहरू समावेश गर्नुपर्छ । नियमित कारोबारको सिलसिलामा विक्री योग्य वस्तुको नि:सर्गबाट प्राप्त वा व्यापारिक मौज्दातको नि:सर्गबाट प्राप्त हुने रकम, उत्पादनको क्रममा रहेका व्यापारिक मौज्दातको विक्रीबाट प्राप्त रकमलाई पनि व्यवसायबाट प्राप्त भएको आयमा समावेश गर्नुपर्छ । उदाहरणका लागि फर्निचर किनबेच गर्ने कम्पनीले फर्निचर बेचेर प्राप्त गरेको रकम, फर्निचर बनाउन ल्याएको तर नबनाई विक्री गरेर प्राप्त गरेको रकमलाई व्यापारिक मौज्दातको आयमा समावेश गर्नुपर्छ ।
व्यावसायिक सम्पत्ति वा व्यावसायिक दायित्वको नि:सर्गबाट प्राप्त खुद लाभ पनि व्यवसायबाट भएको आयमा समावेश गर्नुपर्छ । उदाहरणका लागि, निर्माणसम्बन्धी कार्य गर्ने ‘क’ ले कालिगण्डकीमा पुल निर्माण गर्न ठेक्का लिएको रहेछ । कम्पनीले पुल निर्माणको सिलसिलामा २ सय रोपनी जग्गा निर्माण सामग्री स्टोरेजका लागि ४० लाख रुपैयाँमा खरीद गरेको रहेछ । आयोजना सकिएपछि कम्पनीले उक्त जग्गा २ करोड रुपैयाँमा विक्री गरेको रहेछ भने उक्त जग्गा विक्रीबाट भएको लाभ १ करोड ६० लाख रुपैयाँ व्यवसायको व्यावसायिक सम्पत्तिको नि:सर्गबाट प्राप्त आयमा समावेश गर्नुपर्छ ।
व्यवसायको ह्रासयोग्य सम्पत्तिको नि:सर्गबाट लाभ भएको रकमलाई व्यवसायको आयमा समावेश गर्नुपर्छ र व्यवसायको सिलसिलामा प्राप्त हुने उपहारलाई व्यवसायको आयमा समावेश गर्नुपर्छ ।
यस्तै दायित्वको नि:सर्गबाट भएको खुद लाभलाई पनि व्यवसायको आयमा समावेश गर्नुपर्छ । माथिको उदाहरणमा ‘क’ ले निर्माणसम्बन्धी काम शुरू गरेपछि भूकम्प आई १ वर्षसम्म काम रोकिएको कारण कामदार तथा कर्मचारीलाई तिर्नुपर्ने दायित्व १ करोड रुपैयाँले बढेछ । कम्पनीले कामदार तथा कर्मचारीलाई उक्त सम्पूर्ण रकम दिन नसक्ने जनाएकोमा कामदारले उक्त काम नभएको समयको आधा मात्र तलब लिने गरी दुवै पक्षबीच कुनै सम्झौता भएछ भने कम्पनीले तिर्नुपर्ने १ करोडमा ५० लाख रुपैयाँ कामदारलाई तिर्नु नपरेकाले ‘क’ लाई ५० लाख रुपैयाँ लाभ भएको मानिन्छ । त्यस्तो दायित्वको लाभ भएको मानिने रकमलाई व्यवसायको आयमा समावेश गर्नुपर्छ । तर, सर्वोच्च अदालतबाट यस्ता दायित्वलाई आयमा समावेश गर्नु नपर्ने गरी फैसला भएको पाइन्छ । ‘भवन निर्माणमा यथावत्मा भुक्तानी भएको रकम सम्पत्तिको मूल्य देखाई करदाताले लेखा अभिलेख राखेको तथ्यलाई कर अधिकृतले समेत स्वीकार गरेको देखिँदा’ करदाताले भवन निर्माणमा ढिला कार्य गरेबापत निर्माणकर्तालाई कम भुक्तानी गरेको कारणले फरक परेको रकम आयमा समावेश गर्नु नपर्ने’ भन्ने कर कार्यालय वि. महेन्द्र बाबु श्रेष्ठको मुद्दामा सर्वोच्च अदालतबाट फैसला भए पनि उक्त फैसलाले कम भुक्तानीको लाभलाई आय मान्नुपर्छ भन्ने सिद्धान्तलाई आत्मसात् गर्न सकेको छैन । उदाहरणका लागि ‘ग’ ले १ वर्षमा सक्नुपर्ने निर्माणको काम २ वर्षमा मात्रै सक्दा ‘घ’ ले जम्मा भुक्तानी गर्नुपर्ने ५ करोड रुपैयाँको मानौं २० प्रतिशत कम भुक्तानी गर्ने शर्त रहेछ भने १ करोड भुक्तानी गर्नु नपरेको रकम ‘घ’ को आयमा समावेश गर्नुपर्छ ।
व्यवसायको ह्रासयोग्य सम्पत्तिको नि:सर्गबाट लाभ भएको रकमलाई व्यवसायको आयमा समावेश गर्नुपर्छ । मानौं, ‘च’ कम्पनीमा रहेका फर्निचरको वर्षको शुरूको ह्रास आधार मूल्य ५ लाख रुपैयाँँ रहेछ । उक्त फर्निचर सोही आवमा ६ लाख रुपैयाँँमा बिक्री भएको रहेछ भने ‘च’ कम्पनीले उक्त १ लाख रुपैयाँँलाई व्यवसायको ह्रासयोग्य सम्पत्तिको नि:सर्गबाट प्राप्त लाभमा समावेश गर्नुपर्छ ।
व्यवसायको सिलसिलामा प्राप्त हुने उपहारलाई व्यवसायको आयमा समावेश गर्नुपर्छ । उदाहरण, ‘च’ ले आफ्ना फर्निचर विक्री गर्न ‘ञ’ कम्पनीलाई विक्री एजेन्ट नियुक्त गरेकोे रहेछ । ‘ञ’ ले राम्रो विक्री गरेबापत ‘च’ बाट १ लाख रुपैयाँँ पर्ने फर्निचर उपहार प्राप्त गरेको रहेछ भने उक्त १ लाख रुपैयाँँ पर्ने फर्निचर प्राप्त गर्ने ‘ञ’ ले आफ्नो आयमा समावेश गर्नुपर्छ । मूल्य नतोकी कुनै उपहार प्राप्त गरेको भए पनि त्यस्तो उपहारको बजार मूल्यले मूल्यांकन गरी व्यवसायको आयमा समावेश गर्नुपर्छ ।
प्रतिबन्ध स्वीकार वा अस्वीकार गरेबापत कुनै एक पक्षले अर्को कुनै पक्षबाट कुनै रकम प्राप्त गरेको अवस्थामा त्यस्ता रकमलाई आयमा समावेश गर्नुपर्छ । उदाहरण एकै स्थानमा दुई कपडा पसल रहेछन् । एउटा कपडा पसलमा भारतीय र एउटामा चाइनिज कपडा मात्र विक्री गर्ने गरी दुवैका बीच सहमति कायम भएको रहेछ । भारतीय कपडा बेच्नेले अन्य देशको कपडा नबेच्ने शर्तमा चाइनिज कपडा बेच्नेबाट वार्षिक १० लाख रुपैयाँँ प्रतिबन्ध स्वीकार गरेबापत प्राप्त गर्दो रहेछ भने त्यस्तो रकमलाई व्यवसायको आयमा समावेश गर्नुपर्छ । तर, अहिलेको करप्रणालीको कार्यान्वयनमा यस्ता आयको प्रभाव र पारदर्शिता अलि परैको सवाल देखिन्छ ।
कर छूट पाउने संस्थाबाट प्रतिफल प्राप्त गर्ने वा प्रतिफलको आस नगरी त्यस्तो संस्थाको कार्यसँग प्रत्यक्ष रूपले सम्बद्ध अन्य योगदानका रकम, नेपाल राष्ट्र बैंकले आफ्नो उद्देश्यअनुरूप आर्जन गरेको रकम कर छूट हुने रकम मानिन्छ । उदाहरण, ‘अ’ भन्ने संस्था कर विभागमा कर छूट पाउने संस्थाका रूपमा दर्ता भएको संस्था रहेछ । उक्त संस्थाले ५ लाख रुपैयाँँ चन्दा र ५० लाख रुपैयाँँ पर्ने एम्बुलेन्स उपहारस्वरूप प्राप्त गरेको रहेछ भने यस्ता रकम कर छूट हुने रकम मानिन्छ । अर्थात्् कर प्रयोजनका लागि त्यस्ता रकम आयमा समावेश गर्नु पर्दैन । नेपाल राष्ट्र बैंकले आफ्नो उद्देश्यअनुरूप विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गरेको रकमबाट १० करोड रुपैयाँँ आय भएको रहेछ भने पनि त्यस्तो रकम कर प्रयोजनमा आयमा समावेश गर्नु पर्दैन । हिताधिकारीलाई वितरण गरेको लाभांशमा अन्तिम रूपमा कर कट्टी हुने र नियन्त्रित विदेशी निकायहरूद्वारा आर्जित आय सोही आयवर्षमा नै कर निर्धारण भर्ई सक्ने भएकाले कर प्रयोजनार्थ पुन: आय समावेश गर्नु पर्दैन ।
कर छूट पाउने संस्थाबाट प्रतिफल प्राप्त गर्ने वा प्रतिफलको आश नगरी त्यस्तो संस्थाको कार्यसँग प्रत्यक्ष रूपले सम्बद्ध अन्य योगदानका रकम, नेपाल राष्ट्र बैंकले आफ्नो उद्देश्यअनुरूप आर्जन गरेको रकम कर छूट हुने रकम मानिन्छ ।
व्यवसायको आयमा समावेश गर्नुपर्ने, नपर्ने सम्बन्धमा निराकरण भएका प्रतिनिधि उदाहरणहरू : ‘हाउजिङ कारोबारमा किस्ताबन्दी विक्री गरी पेश्की भर्ना भुक्तानी प्राप्त गरेको किस्ता रकम वा बुकिङ चार्जसमेतलाई सम्बद्ध आयवर्षको मुनाफा र लाभमा समावेश गरी आयकर गणना गर्ने’ भन्ने मिति २०६३/४/२ मा विभागबाट परिपत्र जारी भएको छ । ‘नेपालमा नेपालकै पार्टीहरूसँग सम्झौता गरी माल वस्तु ढुवानी गरी त्यसबापत नेपालमा नै रकम भुक्तानी पाएको, त्यस आय नेपालभित्र नै आर्जन गरेको मान्नुपर्ने’ ट्रान्सपोर्ट कर्पोरेशन अफ इण्डिया वि. कर कार्यालय काठमान्डौंको मुद्दामा फैसला भएको छ ।
‘बोनस बाँड्न नसके कै कारणले उक्त रकम आयमा जोड्न मिल्ने देखिएन भन्ने ओरियन्टल इन्स्योरेन्स कम्पनी (मुद्दा नं १८४५५२) मा, ‘बोनसलाई खुद आयमा समावेश गरेको कानूनसँगत नदेखिएको’ डा.जगदीश घोषको मुद्दामा, ‘बोनसबापत छुट्याएको रकम वितरण नगरे कम्पनीको खुद आयमा गणना हुने’ पशुपति ट्यूब मिल्सको मुद्दामा भएका फैसलाहरूमा फरकफरक दृष्टिकोण देखिन्छ । यस्तै ‘ब्याज खर्च आयमा समावेश गर्नुनपर्ने’, याक एन्ड यति होटल लि. (मुद्दा नं १२३५७०) को मुद्दामा फैसला भएका छन् । ‘सम्पत्ति खरीद गर्न लिएको ऋण साहूले माफी मिनाहा गर्दा व्यापार व्यवसायको आयका रूपमा अर्थ गर्न र सम्पत्ति खरीद भएकोलाई आय भनी कर्जा लिनेको आयमा समावेश गर्न नमिल्ने’ महिन्द्रा एन्ड महिन्द्राको मुद्दामा ‘रकम माफ गर्दा लाभ भएको रकम प्राप्तकर्ताको आय हुनुपर्ने’ सिद्धान्तविपरीत भारतको सर्वोच्च अदालतबाट फैसला भएको देखिन्छ ।
लेखक कर तथा वाणिज्य कानून क्षेत्रमा विज्ञ अधिवक्ता हुन् ।