काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि (असोज १५ गते) बुक क्लोज गर्दैछ ।
यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकले असोज ३० गते काठमाडौंको भगवती बहालस्थित लिसारा रिसेप्शनमा १८ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान साढे १० बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्तापूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले प्रतिकित्ता १०० रुपैयाँका दरले ३५ करोड रुपैयाँ बराबरको वार्षिक ९ प्रतिशत लाभांश दर कायम हुनेगरी अविमोच्य असञ्चित अग्राधिकार शेयर जारी गरी प्राथमिक पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायका प्रस्ताव पनि पारित गर्नेछ ।