काठमाडौं । आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ को नोक्सानी साउनको तुलनामा भदौमा बढेको छ ।
योजनाले सार्वजनिक गरेको भदौ मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार साउनको तुलनामा भदौमा नोक्सानी रकम बढेको देखिएको हो । साउन मसान्तसम्म १ करोड ६८ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा रहेको योजना भदौ मसान्तसम्म ३ करोड १० रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको हो ।
साउन मसान्तसम्म जम्मा आम्दानी १ करोड ४८ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेकोमा भदौमा २ करोड ७२ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको हो ।
सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । योजनाको प्रतिइकाई खुद मूल्य साउन मसान्तसम्म ९ रुपैयाँ ४७ पैसा रहेकोमा भदौ मसान्तसम्म ९ रुपैयाँ ३६ पैसा रहेको छ ।
धितोपत्र बजारमा लगानी गर्ने प्रमुख उद्देश्यसहित सञ्चालित यस योजनाले भदौ मसान्तसम्म धितोपत्रमा गरेको लगानीको परल मूल्य धितोपत्र दलाल कमिसनसहित १ अर्ब १ करोड रुपैयाँभन्दा बढी छ ।
बैंक मुद्दती निक्षेपमा १८ करोड ७५ लाख रुपैयाँ लगानी गरेको योजनाको धितोपत्रमा भएको लगानीको बजार मूल्य भने ७८ करोड ८२ लाख रुपैयाँभन्दा बढी मात्र छ । बजार घटेसँगै योजनाले धितोपत्रमा गरेको लगानीको मूल्यमा समेत कमी आएको छ ।