काठमाडौं। महालक्ष्मी विकास बैंकले ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम डलर तथा एनपीआर कार्डमार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन ‘भिसा थ्रीडी सेक्योर्ड कार्ड’ सुविधा थप गरेको छ । नेपालमा यस्तो सुविधा प्रदान गर्नेमा विकास बैंक मध्ये महालक्ष्मी विकास बैंक पहिलो बैंक बनेको बैंकको दाबी छ ।
यो सुविधा थप गरेसँगै ग्राहकले गर्ने अनलाइन कारोबारको सुरक्षा तहमा थप वृद्धि हुनेछ र जसले गर्दा ग्राहकको आफ्नो कार्डको विवरण अनाधिकृत रूपबाट प्रयोग हुनबाट जोगिने तथा प्रत्येक कारोबार समेत प्रमाणीकरण हुने बैंकले जानकारी दिएको छ । यस प्रक्रियाअन्तर्गत ग्राहकले डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन कारोबार गर्दा प्रत्येक कारोबारलाई प्रमाणीकरण गर्नका लागि इमेल वा म्यासे मार्फत एक पटक मात्र प्रयोग हुने पासवर्ड (ओटीपी) प्राप्त गर्नेछन् र सो पासवर्ड प्रविष्ट गरेपछि मात्र कारोबार सम्पन्न हुनेछ । यो सुविधा सुचारू भएसँगै बैंकका ग्राहकलाई सुरक्षित र अत्याधुनिक डिजिटल सुविधा उपलब्ध गराउने नीतिको सफल कार्यान्वयन हुने विश्वास बैंकको छ ।