वीरगञ्ज । कच्चा भनेर ल्याएको पाम तेल सरकारले तयारीको दरबन्दीमा पास गर्नू भनेपछि अर्बौं रुपैयाँको यस्तो तेल भारतीय बन्दरगाहमा रोकिएको छ । अहिले भारतको कोलकाता बन्दरगाहमा करीब ४ अर्ब रुपैयाँ मूल्यबराबरको पाम तेल रोकिएको उद्योगीहरूले बताएका छन् ।
उद्यमीले इन्डोनेशिया, मलेशियालगायत मुलुकबाट यस्तो तेल भित्त्याएर प्रशोधन गरी भारत निकासी गर्दै आएका छन् । सूर्यमुखी र भटमासको तेलमा समस्या नभए पनि पाम तेलको आयात अवरुद्ध भएको हो ।
आयातकर्ताले कच्चा घोषणा गरेर भित्त्याउन खोजेको तेल तयारी भएको भन्दै भन्सार कार्यालयहरूले तयारी तेलको वर्गीकरणमा जाँचपास गर्न भनेपछि त्यस्तो तेल भारतीय बन्दरगाहमै रोकेर राख्नुपरेको व्यवसायी नारायण रुंगटाले बताए ।
रुंगटाका अनुसार अहिले कोलकाता बन्दरगाहमा २४ हजार टन पाम आयल रोकिएको छ । भारतले ८ महीनाअघि तेलको आयातमा सीमा शुल्क बढाएपछि नेपालबाट साफ्टा सुविधामा शून्य भन्सारमा प्रशोधित तेल निकासी हुन थालेको छ । तयारी भनेर भित्रिएको तेल भारत निकासी गर्न नपाउने भएपछि तेल उतै राखेका हुन् ।
विगत वर्षहरूमा निकासीको शीर्ष स्थानमा रहने गरेको पाम तेल यो वर्ष आयात अवरुद्ध भएपछि निकासी गर्न नपाइएको नारायणी आयल रिफाइनरीका सञ्चालक निखिल चाचानले बताए ।
उद्यमीले भन्सारमा कच्चा तेल घोषणा गरेकोमा भन्सार विभागले ‘कच्चा पदार्थको चारित्रिक गुण नभएको’ भन्दै तयारीमा जाँचपास गर्न मातहतका भन्सार कार्यालयहरूलाई निर्देशन दिएको थियो । तयारीमा जाँचपास भएपछि भारत निकासी गर्न सकिँदैन ।
निकासीका लागि कच्चा तेल भित्त्याएर कम्तीमा ३० प्रतिशत मूल्य अभिवृद्धि गर्नुपर्छ । ‘तयारी तेलको वर्गीकरणमा ल्याएको तेल भारततर्फ पठाउन नपाएपछि बन्दरगाहमै रोकेर राख्नुपर्ने भयो,’ रुंगटाले भने, ‘सरकारले राजस्व बढाउनकै लागि कच्चा तेललाई तयारी भनिरहेको छ । हामीले खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागको मापदण्ड पूरा गरेर सिफारिश लिएको हुन्छ । सरकारको एउटा निकायले कच्चा भन्ने अर्कोले तयारीभन्दा उद्यम नै चौपट हुने अवस्था अयो ।’
भन्सारले धरौटीमा छुटाउनसमेत नदिएको रुंगटाले बताए । कच्चा तेलमा १० प्रतिशत भन्सार महशुल लाग्छ । तयारी वर्गीकरणमा भित्त्याउँदा १५ प्रतिशत तिर्नुपर्छ । ‘कच्चा तेल आयातमा १० प्रतिशत लाग्ने हो । ५ प्रतिशत धरौटीमा राख्न भनेको हो । भन्सारका अधिकारीहरूले मानिरहेका छैनन्,’ उद्यमीले भने ।
वीरगञ्जको आईसीपी भन्सारका प्रमुख प्रशासक दीपक लामिछानेले धरौटीमा लैजान कुनै समस्या नभएको बताउँछन् । भन्सार अधिकारीका अनुसार धरौटीमा लैजान पनि तयारीकै वर्गीकरणमा भित्त्याउनुपर्ने र तयारीको एचएस कोडमा आएको वस्तु भारत निकासी गर्न नपाइने भएपछि उद्यमीले पाम तेल आयात नगरेका हुन् । उद्यमीले भित्त्याएको पाम तेल कच्चा नभएको, तयारी पनि नभएको भन्सारका अधिकारीहरू बताउँछन् ।
यसका लागि बेग्लै एचएस कोड बनाउने तयारी भइरहेको र आउँदो आर्थिक वर्ष (आव) २०८२/८३ को बजेटमार्फत यसको नीतिगत व्यवस्थापन मिलाउने तयारी भइरहेको भन्सार विभागका एक उच्च अधिकारीले बताए । सरकारले यसमा तत्काल निकास दिनुपर्ने माग उद्यमीको छ । ‘बन्दरगाहमा अर्बौं रुपैयाँको कच्चा पदार्थ थन्किएको छ । त्यसको जरीवाना र बैंकको ब्याज बढेको बढ्यै छ । सरकार भने आउँदो वर्षको बजेटबाट मिलाउने भनिरहेको छ । यो उद्यम व्यापारप्रतिको सरकारी उदासीनता हो,’ ती उद्यमीले भने ।