काठमाडौं। विभिन्न नेपाली वस्तु सहज रूपमा भारत निकासीका लागि ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस)ले गुणस्तर प्रमाणपत्र दिने प्रक्रिया तीव्र पार्न भारत सहमत भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
नेपाल र भारतबीच शुक्रवार र शनिवार काठमाडौंमा भएको वाणिज्य सचिवस्तरीय संयन्त्रको बैठकको सन्दर्भमा प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले प्राथमिकताका आधारमा बीआईएस प्रमाणपत्र जारी र नवीकरण गर्ने प्रक्रियालाई तीव्रता दिन भारत सहमत भएको जनाएको छ ।
बीआईएस प्रमाणपत्र जारी तथा नवीकरणमा ढिलाइ हुँदा जुत्ता, प्लाइउड, यार्न सेनिटरी प्याड, जस्तापाता, सिमेन्ट र स्टिलजन्य वस्तुको भारत निकासी प्रभावित भइरहेको छ ।
मन्त्रालयका अनुसार काँकडभिट्टा–फुलबारी–बंगलाबन्ध हुँदै आवतजावत गर्ने नेपाली मालवाहक सवारीसाधनले बोक्ने भारमा लगाइएको सीमा हटाउन पनि भारतीय पक्ष राजी भएको छ ।