काठमाडौं । चीनले अघि सारेको विश्वव्यापी पूर्वाधार विकास रणनीति ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ अन्तर्गतका परियोजनामा नेपालले मागे जसरी पूरै अनुदान नआउने निश्चित भएको छ । नेपालले अघि सारेको अनुदान प्रस्तावलाई चीनले अस्वीकार गरेपछि मध्यमार्गी बाटोबाट ‘बीआरआई सहकार्य फ्रेमवर्क’मा सहमति भएको हो ।
सर्वाधिक चासोका साथ हेरिएको यो फ्रेमवर्कमा बुधवार चीनको बेइजिङमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एन्ड रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुसेले हस्ताक्षर गरे ।
बीआरआई फ्रेमवर्कमा ‘अनुदान’ शब्द राख्ने कि नराख्ने भन्नेमा सहमति जुट्न नसक्दा यसअघि सम्झौता नभए पनि प्रधानमन्त्री ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीचको द्विपक्षीय वार्तालगत्तै मध्यमार्गी बाटो अपनाएर उक्त फ्रेमवर्कमा हस्ताक्षर गर्ने सहमति जुटेको सरकारी भ्रमण दलका एकजना उच्च अधिकारीले आर्थिक अभियानलाई बताए ।
‘एड असिन्टेन्स फाइनासिङ’ अर्थात् ‘वित्तीय सहायता’ राखेर सहमति गरिएको हो । नेपालले छनोटमा परेका आयोजनामा ऋण वा अनुदान माग्न सक्ने र त्यसमा निर्णयको अधिकार चीनकै हुने ती अधिकारीले बताए ।
यो सम्झौतासँगै अब चीनले अघि बढाएको र सन् २०१७ मा हस्ताक्षर गरिएको बीआरआईलाई नेपालले आधिकारिक रूपमा अघि बढाउने पक्का भएको छ । सत्तारूढ नेपाली कांग्रेसले प्रस्तावित कार्यान्वयन सम्झौतालाई परिमार्जन गरी ‘बीआरआई सहकार्य फ्रेमवर्क’ नामकरण गर्न नेकपा (एमाले)समक्ष प्रस्ताव गरेको थियो ।
नेपाली कांग्रेससँग भर्खर सत्ता समीकरण शुरू भएकाले गठबन्धन नटुटोस् भनेर प्रधानमन्त्री ओलीको दल एमालेले कांग्रेसले प्रस्ताव गरेको ‘बीआरआई सहकार्य फ्रेमवर्क’मा सहमति गरेको थियो । यस विषयमा दुई दलबीच १५ मङ्सिरमा अन्तिम सहमति जुटेपछि प्रस्तावित फ्रेमवर्कको मस्यौदा त्यसै दिन चिनियाँ पक्षलाई बुझाइएको थियो ।
उनीहरूको प्रस्तावअनुसार नै नामकरण गर्न स्वीकार गरे पनि पूर्ण अनुदानलाई भने चीनले अस्वीकार गरेको हो । नेपाललाई मात्र अनुदान दिने नीति लिँदा अन्य देशले पनि त्यस्तै सुविधा माग्ने हुँदा चीनले त्यस्तो सहमति नगर्ने चीन विज्ञहरूले बताउँदै आएका छन् ।
नेपालले चिनियाँ पक्षलाई सडक पूर्वाधार, शहरी विकास र उद्योग–व्यापारसँग सम्बद्ध परियोजना प्रस्ताव गरेकोमा फ्रेमवर्कभित्र १० ओटा मात्रै राखिएको छ । सूचीमा परेका परियोजनामा प्रधानमन्त्री र सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लाको समेत छ । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाको गृहजिल्ला डँडेलधुरामा अमरगढी सिटी हल र प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा स्पोट्र्स एन्ड एथलेटिक्स कम्प्लेक्स निर्माण परियोजना ‘बीआरआई सहकार्य फ्रेमवर्क’मा राखिएको छ ।
बीआरआईसम्बन्धी सम्झौतालाई प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणको ठूलो सफलताका रूपमा लिँदै नेपालले त्यसबाट ठूलो लाभ लिने बताउनुभएको छ । पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको दूरदर्शी नेतृत्वमा शुरू भएको बीआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास व्यक्त गर्नुभएको छ ।