आगामी कात्तिक १४ देखि १६ सम्म काठमाडौंमा आयोजना हुने तेस्रो ‘मनी एक्स्पो २०१३’ ले नेपालमा बीमाको भविष्यबारे विमर्श गर्ने एउटा मञ्च तयार गर्नेछ । उत्पादन र उपभोग संस्कृतिमा प्रविधिको प्रयोग संसारभर नै बढ्दै गएको छ । तैपनि नेपालमा हालसम्म कुल जनसङ्ख्याको ७ प्रतिशत मात्र बीमाको पहुँचमा छन् ।
मुलुकमा अहिले पनि बीमाबजार फस्टाउन सकेको छैन । पुनर्बीमा कम्पनी नेपाली बजारमा आउन इच्छुक नहुनु अर्को प्रमुख चुनैती बनेको छ । राम्रो वित्तीय र्याङ्क भएका कम्पनीलाई छाडेर अफ्रिकाका कम र्याङ्कका कम्पनीसँग पुनर्बीमा गनुपर्ने बाध्यता नेपाली बीमा कम्पनीलाई छ । भारत, अमेरिका, दुबई, जापानजस्ता मुलुकका राम्रा पुनर्बीमा कम्पनीले पुनर्बीमा गरेबापतको शुल्क अत्यधिक महँगो लिने गरेका छन् । यसले गर्दा अफ्रिकी कम्पनीतर्फ आकर्षण बढेको छ । हुन त नेपालीहरूको प्रतिव्यक्ति आय अत्यन्त कम हुनु पनि बीमा व्यवसाय फस्टाउन नसक्नुमा कारण रहेको विज्ञहरूको तर्क छ । प्रिमियर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्याय भन्छन्, ‘व्यावसायिक विकास हुन नसकेकाले आम्दानी कम छ, जसले गर्दा मानिस बीमातर्फ आकर्षित हुन सकेका छैनन् ।’
गतवर्षदेखि कार्यान्वयनमा आएको कृषि र बालीबीमाका लागि पनि नेपाली बीमा कम्पनीले पुनर्बीमा कम्पनी पाउन सकेका छैनन् । मुलुकमा आर्थिक विकाससम्बन्धी कार्य हुन नसक्दा निर्जीवन बीमा व्यवसाय पनि सोचेअनुरूप विस्तार हुन सकेको छैन । तत्कालका लागि कृषिबीमा कार्यान्वयन गर्न समस्या देखिए पनि भविष्यमा यो व्यवसायको राम्रो सम्भावना छ । कृषिको आधुनिकीकरण र यसमा निजी लगानी प्रवर्द्धन गर्ने विषय बीमासँगै जोडिएर आउँछ ।
सरकारले कृषिको व्यावसायिक विकासमा जोड दिन थालेको छ भने बैङ्क तथा वित्तीय संस्थाको लगानी त्यसतर्फ केन्द्रित गर्ने नीति केन्द्रीय बैङ्कले लिएको छ । कृषिजन्य वस्तुको उत्पादन र प्रशोधनका लागि लगानी वृद्धि गर्नुपर्ने अवस्था छ । यसका लागि पनि बीमा पूर्वशर्तजस्तै हुन्छ । हाउजिङ, मोटर, अग्नि, इञ्जिनीयरिङ, सामुद्रिकलगायत सबै योजनामा बीमा व्यवसायको सम्भावना उज्ज्वल रहेको सम्बद्ध विज्ञहरू बताउँछन् ।