आउँदो कात्तिक १४ दखि १६ सम्म (२०१३, अक्टोबर ३१ देखि नोभेम्बर २ सम्म) काठमाडौंमा तेस्रो ‘मनी एक्स्पो २०१३’ आयोजना हुँदै छ । एक्स्पोमा आर्थिक क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा छुट्टाछुट्टै गोष्ठी आयोजना गरिनेछ । तीमध्येको एक ‘व्यापार तथा भुक्तानीका नयाँ आयाम’ सम्बन्धी एक गोष्ठीलाई लक्षित गरी आर्थिक अभियान दैनिकले गत बुधवार (असोज १० गते) एक छलफल कार्यक्रम आयोजना गरेको थियो । ‘व्यापार तथा भुक्तानीका नयाँ आयाम र योगदान’ विषयक उक्त छलफलमा उठेका विषयको सार :
विश्वास ढकाल
अध्यक्ष,
एफवान सफ्ट इण्टरनेशनल
- भौतिक रूपमा प्रयोग गरिने रकमलाई कनेक्टिभिटी डिभाइसमार्फत डिजिटल बनाउने हाम्रो उद्देश्य हो । प्रयोगका हिसाबले यो हाम्रो दैनिक जीवनमा निकै प्रभाव पार्ने किसिमको छ । यसबाहेक संस्थागत रूपमा पनि डिजिटल कारोबारको प्रयोगलाई बढाउने अभ्यास हामीले गरिरहेका छौं । यसका लागि हामीले ई–सेवा भन्ने प्लेटफर्म निर्माण गरेर सञ्चालनमा ल्याइसकेका छौं । यस्ता प्लेटफर्महरूले कारोबारलाई बैङ्किङ माध्यममा ल्याउँछन् । यो राम्रो कुरा पनि हो । यसले लगानीलाई प्रोत्साहन गर्छ । त्यसको समग्र प्रभाव अन्त्यमा राष्ट्रिय अर्थतन्त्रमै पर्न जान्छ ।
- इलेक्ट्रोनिक रूपमा हुने कारोबारमा सुरक्षाको प्रश्न उठिरहन्छ । विशेषगरी आमप्रयोगकर्तामा यसको सुरक्षालाई लिएर केही डर पनि हुन सक्छ । तर, हामीले सञ्चालन गर्ने यस किसिमका सेवाहरू राष्ट्रिय तथा अन्तरराष्ट्रिय मापदण्ड पूरा गरेर सञ्चालन गरिएका हुन्छन् । यसले गर्दा यसमा सुरक्षाको विषयलाई लिएर कुनै डर मान्नुपर्दैन ।
- जसरी यो सेवाको सक्रिय प्रयोग बढ्नुपर्ने हो, त्यो हुन नसक्नुको प्रमुख कारण त जनचेतनाको कमी नै हो । हाम्रोजस्तो देशमा अझ यस्तो सेवालाई निरन्तर अघि लैजानु मुख्य चुनौती नै हो । तर, जहाँ जनचेतनाको कमी छ, त्यहाँसम्म हामी पुगेर विश्वास दिन सक्यौं भने नेपालमा पनि डिजिटल कारोबारको प्रयोग बढ्न त्यति लामो समय पर्खिनुपर्दैन । सम्पूर्ण प्रक्रियागत कार्य सम्पन्न गरेर सेवा सञ्चालन गर्ने हो भने यस्तो सेवामा त्यति धेरै समस्या पनि हुँदैन । डिजिटल कारोबारको रकम सम्पूर्ण रूपमा बैङ्कमा निहित हुने भएकाले प्रयोगकर्तालाई विश्वास दिलाउन सकिने ठाउँ पनि छ । राष्ट्र बैङ्कको नियमअनुसार पनि व्यक्तिगत रकम कुनै निजी संस्थाले होल्ड गर्न पाउँदैन । त्यसैले, हाम्रा ग्राहकलाई उनीहरूको कारोबारको सही प्रक्रिया बताइदिने र सुरक्षाको अनुभूत गराइदिन सक्ने हो भने यसको भविष्य अत्यन्त राम्रो हुन सक्छ ।
समीर वज्राचार्य
प्रमुख प्राविधिक अधिकृत
स्मार्ट च्वाइस टेक्नोलोजिज प्रालि
- एससीटीको मुख्य ध्यान एटीएम कारोबार र (पोइण्ट अफ सेल)मा रहेको छ । विगतका वर्षहरूभन्दा एससीटीको प्रयोगमा धेरै सुधार आएको छ । सङ्ख्यात्मक रूपमा पनि यसको प्रयोग धेरै जनतामाझ पुगिसकेको छ । जुन किसिमबाट एससीटीले सेवा प्रवाह गर्छ, त्यसले ग्रामीण क्षेत्रसम्म प्रभाव पारेको हुन्छ । गाउँगाउँसम्म पुग्ने हाम्रो योजना हो । यस विषयमा हामी केही हदसम्म सफल भइसकेका छौं । यद्यपि धेरै जनता यसको प्रयोगबारे बेखबर छन् । हामी त्यस्तै जनतालाई यसको प्रयोग गर्ने विषयमा जनचेतना जगाउने कार्यमा लाग्दै छौं ।
- इलेक्ट्रोनिक कारोबारका लागि नेपाली बजार तयार भइसकेको छैन । यसले अनलाइन कारोबार पनि बढ्न सकेको छैन । कुनै पनि उत्पादन प्रयोग गर्नुपर्ने दुईओटा कारण हुन्छन् । एउटा मानिसको आवश्यकता र अर्को उसको रुचि । त्यसैले, वस्तुको प्रयोगका लागि त्यसको आवश्यकता सृजना गरिदिन सक्नुपर्छ अथवा त्यसमा आकर्षण गराउन सक्नुपर्छ । यसको प्रयोग बढाउन सरकारले पनि बाध्यकारी नीति बनाउन आवश्यक हुन्छ । नेपालमा अनलाइन सेवामा जति प्रगति भइरहेको छ, त्यसमा अहिलेसम्म पूर्ण रूपमा निजीक्षेत्रको योगदान छ । सरकारले नेतृत्व लिन सक्यो भने यो सेवामुखी बन्न सक्छ ।
- वास्तवमा इलेक्ट्रोनिक कारोबारमा सुरक्षाको विषय बारम्बार उठिरहन्छ । यो स्वाभाविक पनि हो । तर, अहिले प्रयोगमा आइरहेको एससीटी कार्डको सुरक्षाको विषयमा त्यति धेरै चिन्ता मान्नुपर्दैन । एससीटीमा निश्चित पासवर्डको प्रयोग हुने भएकाले यो हस्ताक्षरको तुलनामा धेरै सुरक्षित हुन्छ । नेटवर्कमा सृजना भएको समस्याले कहिलेकाहीँ उपभोक्तालाई समस्या हुन सक्छ । तर, यस्ता समस्या एससीटी नेटवर्ककै कारण उत्पन्न भने हुँदैनन् । यससँग सम्बन्धित हुने नेटवर्किङमध्ये कुनै एकमा समस्या आउँदा पनि त्यस्तो हुन सक्छ । एससीटीमा होइन, नेटवर्कमा समस्या आउँछ भन्ने विषय थाहा नभएकाले पनि प्रयोगकर्तालाई गलत सन्देश गएको हुन सक्छ ।
- नेपालको राजनीतिक अस्थिरता तथा लोडशेडिङको समस्याले यस क्षेत्रमा विभिन्न समस्या आइरहेका छन् । लगानीका अन्तरराष्ट्रिय प्रतिबद्धतालाई यस्तै कारणले हामीले भित्र्याउन सकिरहेका छैनौं । त्यस्तै सरकारी नीतिको पनि अभाव छ । ई–पेमेण्टका लागि राष्ट्र बैङ्कले कुनै बैङ्कलाई बेञ्चमार्क दिनुपर्छ । बेञ्चमार्क नभएसम्म हामीजस्तो निजीक्षेत्रलाई काम गर्न समस्या पर्छ । यस्ता समस्याका विषयमा हामीले सम्बन्धित निकायसँग निरन्तर छलफल पनि गरिरहेका छौं ।
रविन श्रेष्ठ
प्रमुख प्राविधिक अधिकृत, पेबिल
- अहिले हामीले चारओटा बैङ्कसँग सहकार्य गरिरहेका छौं । तर, यस क्षेत्रमा जति धेरै प्रगति हुनुपर्ने हो त्यो भने भएको छैन । यसका धेरै कारण छन् । यस्तो सुविधाबारे जानकारी अभावले पनि धेरैले प्रयोग गरेका छैनन् । इण्टरनेटलाई सामाजिक सञ्जाल सञ्चालन गर्ने माध्यमका रूपमा लिने प्रवृत्तिले पनि समस्या सृजना गरेको छ । इण्टरनेटबाट आर्थिक कारोबार हुन सक्छ भन्ने धेरैलाई जानकारी नै छैन । तर, जसले प्रयोग गरिरहेका छन्, उनीहरू भने यस्तो सेवाबाट अत्यन्त खुशी छन् ।
- जुन प्रक्रियाबाट हामीले सेवा उपलब्ध गराइरहेका छौं, त्यो सुरक्षित छ । पेबिलबाट कारोबार गर्दा दुईओटा एसएमएस पठाउनुपर्छ । एउटा एसएमएसबाट मात्रै कारोबार पूर्ण हुँदैन । पहिलो एसएमएसबाट हामीले प्रयोगकर्तालाई अल्फा कोड पठाउँछौं । अन्तिम कारोबारका लागि अल्फा कोड र पिन दुवै पठाउनुपर्छ । यसरी दुईओटा एसएमएसको व्यवस्था गरेका छौं । यस्तो सुरक्षाको व्यवस्था गर्दा पनि अझै मानिसको पहुँच पुग्न सकेको छैन ।
- एसएमएसबाहेक हामी मुञ्चा डटकमसँग सहकार्य गरिरहेका छौं । मानिसले इण्टरनेटबाट कारोबार गर्न चाहेमा हामी अल्फा कोड पठाउँछौं । त्यसैको माध्यमबाट कारोबार गर्न सकिन्छ । यस्तो कारोबारमा पनि अन्तिम निर्णय एसएमएसबाट नै हुन्छ ।
सुवास ढुङ्गाना
अधिकृत, आई पे
- आई पे भनेको अनलाइन पेमेण्ट हो । यो मुञ्चा डटकमअन्तर्गतकै उत्पादन हो । मुञ्चा डटकम सन् २००२ देखि सञ्चालनमा आएको हो । तर, नेपालमा ई–कमर्श व्यवसाय त्यति धेरै फस्टाउन सकिरहेको छैन । यद्यपि, अहिले सकारात्मक वातावरण भने बन्दै गएको छ । त्यसैले, हामीले सेवा विस्तार गरेका छौं । पहिला यो अनलाइन शपिङका रूपमा मात्रै सञ्चालित थियो । तर, अहिले हामीले विप्रेषणको पनि काम गरिरहेका छौं । हामीले मिडिया साइट पनि शुरू गरेका छौं । हालै मात्र हामीले सातओटा बैङ्कसँग सम्झौता गरिसकेका छौं ।
- ई–कमर्श साइट सञ्चालन हुन नसक्नुको मुख्य कारण भनेको भुक्तानी समस्या हो । हाम्रो मुञ्चा साइट हेर्न हो भने त्यसमा क्याप्शन डेलिभरी अप्शन छ । डेलीभरी मानिसले रोज्छ, अनि डेलिभरी गर्न गयो मानिस भेटिँदैन । अनलाइन भुक्तानीका लागि ई–सेवा, पेबिल, एससीटी, क्रेडिट कार्ड तथा हाम्रो आफ्नो उत्पादन आई पे पनि छ, जुन सातओटा बैङ्कसँग आबद्ध छ । अनलाइन भुक्तानीलाई सहज बनाउन नेपाली बैङ्कका कार्डहरू पनि अन्तरराष्ट्रिय मान्यताप्राप्त हुनुपर्छ । बाहिर शपिङ गर्दा कार्डको अगाडिको १६ डिजिट र पछाडिका तीनओटा कोड राखेपछि स्वीकार गर्ने सिष्टम भयो भने रकम भुक्तानी गर्ने सिष्टम बस्न सक्छ । मुञ्चा डटकममा हरेक दिन २०/२५ जनाले रजिष्ट्रेशन गर्छन् । अर्थात्, यसमा मानिसको रुचि पनि देखिन्छ । मानिसहरूले अनलाइनमा सामान पनि छानिरहेका हुन्छन् । सोधखोज पनि भइरहेको हुन्छ । तर, अन्त्यमा भुक्तानीमै समस्या हुन्छ । त्यसैले, अनलाइन भुक्तानी गर्न सक्ने सहज संयन्त्र बन्नुपर्छ ।
- सुरक्षाको कुरा गर्नुपर्दा हामीले अहिलेसम्म त्यस्तो ठूलो समस्या भोगेका छैनौं । सन् २००२ देखि सञ्चालन गरेको मुञ्चा डटकममा पनि त्यस्तो गुनासो अहिलेसम्म आएको छैन । सुरक्षाका लागि अन्तरराष्ट्रियस्तरमा जुन खालको अभ्यास भइरहेको छ, हामीले पनि त्यसलाई नै अपनाएका छौं । सोहीअनुसारको कोडको प्रयोग गर्दै आएका छौं । अनलाइन पूर्णरूपमा सुरक्षित हुन्छ त भन्न सकिँदैन । तर, त्यस्तो ठूलो समस्या पनि देखिएको छैन ।
- राजनीतिक अस्थिरता पनि यसको मुख्य समस्या बनेको छ । हुन त इण्टरनेट प्रयोकर्ताको वृद्धि विस्तारै हुँदै छ । आजभन्दा २/४ वर्षअघि मात्रै पनि मानिसले इण्टरनेट डायलअपबाट चलाउँथे । अहिले १०/१५ ओटा कम्पनी आइसकेका छन् । जब राजनीतिक स्थिरता हुन्छ, तब रोजगारीको सृजना हुन्छ । रोजगारी सृजना भएपछि मानिस व्यस्त हुन्छ । व्यस्त मानिसले नै इण्टरनेटको प्रयोग गर्न थाल्छ । अहिले त यहाँ मानिससँग प्रशस्त समय छ । त्यसैले, अनलाइन शपिङ तथा कारोबार गर्नेभन्दा ऊ आफै उपस्थित भएर काम गर्छ ।
बालकुमार जोशी
अध्यक्ष, म्याकनेट
- नेपालमा ई–कमर्शको बजार छैन भन्ने जुन सोच छ, त्यसमा म सहमत छैन । यो बजार त्यति धेरै विस्तार भइसकेको अवस्था छैन । यद्यपि, यसबाट निराश नै हुनुपर्ने वातावरण भने सृजना भइसकेको छैन । कतिपय ई–कमर्श सञ्चालन गरिरहेका वेबसाइटहरूको व्यवसाय बढ्दै गएको छ । मुख्य विषय, व्यवसाय कस्तो ग्राहकलाई केन्द्रमा राखेर सञ्चालन गरिएको छ, त्यो बुझ्नुपर्छ । बजार छैन भनेर वातावरण असजिलो बनाउनुभन्दा ग्राहकको चाहना के हो त्यो पहिचान गर्नुपर्छ ।
- अहिलेको मुख्य समस्या भनेको अन्तरराष्ट्रिय रूपमा भइरहेका कारोबारलाई देशभित्र भित्र्याउन नसक्नु हो । विश्वव्यापी रूपमा यस्तो प्रयोजनमा पेपालको प्रयोग भइरहेको छ । तर, यसको प्रयोग गरेर नेपालमा कारोबार गर्न प्रक्रियागत कठिनाइ देखिन्छ । डिजिटल रूपमा रकम स्थानान्तरण गर्न पनि थप रकम खर्च गर्नुपर्ने हुन्छ । जस्तो कुनै व्यक्तिले २ हजार डलर पठाउनुपर्नेछ भने उसले करीब २५ डलरबराबर थप तिर्नुपर्ने हुन्छ । यसले गर्दा पेपालको प्रयोग व्यवसाय विस्तारमा सहज हुन सक्छ भन्ने अपेक्षा गर्न सक्ने अवस्था छैन । हामीले नेपालमै पहिलोपटक डिजिटल रकम स्थानान्तरण गर्न सक्ने नयाँ प्लेटफर्म बनाउँदै छौं । हामीले धेरै अध्ययन गरेपछि यस्तो प्लेटफर्म ल्याउन लागेका हौं । प्रयोगका हिसाबले पनि यो नेपाल तथा विश्वभर नै सहज हुनेछ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.