आउँदो कात्तिक १४ दखि १६ सम्म (२०१३, अक्टोबर ३१ देखि नोभेम्बर २ सम्म) काठमाडौंमा तेस्रो ‘मनी एक्स्पो २०१३’ आयोजना हुँदैछ । एक्स्पोमा आर्थिक क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा छुट्टाछुट्टै गोष्ठी आयोजना गरिनेछ । तीमध्येको एक ‘म्युचुअल फण्ड : लगानीको अर्को आकर्षण’सम्बन्धी एक गोष्ठीलाई लक्षित गरी आर्थिक अभियान दैनिकले गत बुधवार (भदौ २६ गते) एक छलफल कार्यक्रम आयोजना गरेको थियो । ‘सामूहिक लगानी कोष सञ्चालनका अप्ठ्याराहरु’ विषयक उक्त छलफलमा उठेका विषयको सार :
नीरज गिरि
प्रवक्ता, नेपाल धितोपत्र बोर्ड (सेबोन)
‘मार्केट मेकर र म्युचुअल फण्ड’ फरक विषय हो
- यो क्षेत्रको विकास तथा विस्तारका लागि वित्तीय साक्षरता अत्यन्त आवश्यक छ । यस्तो अवश्यकता लगानीकर्तालाई मात्र होइन, नीतिनिर्माण तहमा पनि जरूरी देखिन्छ ।
- शेयर बजारको विकास तथा विस्तारका लागि सामूहिक लगानी कोष सञ्चालनमा ल्याइएको हो । बजारमा संस्थागत लगानीकर्ताको अभावका कारण समस्या देखिएपछि त्यसको व्यवस्थाका लागि आवश्यक नीतिगत व्यवस्था गरेर केही सामूहिक लगानी कोष सञ्चालन अनुमति दिएका छौं । आगामी दिनमा यो क्षेत्रलाई केही विस्तार गर्ने योजना बनाएका छौं ।
- लगानीकर्ताका सङ्गठनहरूले पनि वित्तीय साक्षरतालाई जोड दिनुपर्ने आवश्यकता छ । विदेशतिर नियामक वा सरकारले भन्दा पनि लगानीकर्ताका सङ्गठनहरूले वित्तीय साक्षरता अभियानहरू सञ्चालन गरिरहेका छन् । लगानीकर्ताले नै नयाँ मान्छेलार्ई शिक्षित गराएर लगानी गर्न सक्ने बनाउँदा उनीहरूबीचको तारताम्य मिल्न सक्छ । तर, नेपालमा भने कम्पनीको सञ्चालक समितिमा कसलाई पठाउने भन्नेतर्फ मात्र लगानीकर्ता क्रियाशील देखिन्छन् ।
- बजार काठमाडौंमा मात्रै केन्द्रित हुनु अर्को समस्या हो । हाम्रो बजार नभएको पनि होइन । जबसम्म बजारलाई उपत्यकाबाट बाहिरी जिल्लातिर विस्तार गर्न सक्दैनौं तबसम्म यो समस्या कायम नै रहन्छ । अर्को कुरा, अहिले एकै समयमा आइरहेका संस्थागत लगानी योजनाहरूको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता बढ्न थालेको छ । यसलाई व्यवस्थापन गर्न पनि बजार विस्तार आवश्यक छ ।
- धितोपत्रको स्वतन्त्र मूल्य निर्धारण गर्न सक्ने संयन्त्रको विकास हुन नसक्नु पनि अर्को समस्या हो । स्वतन्त्र मूल्य नहुँदा हामीले समस्या भोगिरहेका छौं । स्वतन्त्र मूल्य निर्धारण र प्रिमियममा जान दिनेबारे पनि हामीले पनि गहन छलफल गरिरहेका छौं ।
- हाल सिद्धार्थ तथा नबिल सामूहिक लगानी कोष स्थापना भएको छ । भविष्यमा अन्य कम्पनी पनि आउलान् । त्यतिबेला लगानी गर्ने कहाँ त ? पोर्टफोलियो सबैको एउटै हो । सबैलाई आफ्नो उत्पादन विक्री गरी नाफा कमाउनु छ । निश्चित बिन्दुभन्दा बढी नाफा आर्जन गर्ने वा पूँजी बढाएका कम्पनीलाई अनिवार्य पब्लिकमा जानुपर्ने व्यवस्था गरेर हुन्छ कि त्यसरी बजार विस्तार गर्नेबारे सोचिरहेका छौं ।
- मार्केट मेकर र म्युचुअल फण्ड भनेको नितान्त फरक कुरा हो । म्युचुअल फण्ड संस्थागत लगानीकर्ताका रूपमा काम गरोस् भन्ने हाम्रो अपेक्षा हो । त्यो काम भइरहेको छ ।
- नागरिक लगानी कोष (सीआईटी)को स्थापना जुन उद्देश्यले भएको हो, त्यो हुन सकेको छैन । एकाङ्क योजना पनि कताकता मुद्दती खाताजस्तो देखिएको छ । उसलाई मार्केट मेकरका रूपमा विकास गर्ने भन्ने कुरा पनि चलेकै हो । तर, यसका लागि उहाँहरू संस्थागत रूपमा तयार भएर आउनुपर्यो ।
प्रवीणरमण पराजुली
प्रमुख कार्यकारी अधिकृत
नबिल इन्भेष्टमेण्ट बैङ्किङ लिमिटेड
पर्याप्त लगानीको अवसर छैन
- म्युचुअल फण्डमा अवसर पनि त्यत्तिकै छ । कोषको व्यवस्थापन गर्ने दायित्व निकै बढी र चूनौतीपूर्ण पनि छ ।
- म्युचुअल फण्ड पनि एउटा लगानीकर्ता नै हो । उसले आफ्ना युनिट होल्डरहरूको लगानी सुरक्षित गर्न भूमिका खेल्नुपर्छ । त्यसले गर्दा उसलाई शेयरको खरीदविक्रीमा रोक्नुहुँदैनजास्तो लाग्छ ।
- अहिले हेर्दा हाम्रो समूहमा २१ हजार लगानीकर्ता आबद्ध छन् । ती सबैजसो ग्रास रुट (साना लगानीकर्ता) हुन् । यसमा पनि विषयगत ज्ञानको अभाव नै छ । कतिपयले त म्युचुअल फण्डलाई पनि प्राथमिक शेयर निष्कासन (आईपीओ) नै मानेर लगानी गरेको भेटेका छौं ।
- म्युचुअल फण्डको विश्वव्यापी अभ्यास भनेको एउटा व्यावसायिक लगानी व्यवस्थापन र अर्को जोखीमको विविधीकरण हो । तर, हामीकहाँ जोखीमको विविधीकरण हुन सकेको छ त ? सायद आजको दिनमा सबैभन्दा महत्वपूर्ण प्रश्न यही हो । बजारको लिमिटेशन (सीमितता)ले गर्दा केही समस्या देखिएको छ । हाम्रो बजारमा अधिकांश बैङ्क तथा वित्तीय संस्था छन् । भविष्यमा यो क्षेत्रमा कुनै समस्या देखियो र लगानीलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने भयो भने कहाँ लगानी गर्ने ? त्यो ठाउँ देखिएको छैन ।
- लगानीकर्ताले पनि आफ्नो लगानी कहाँ गरेको हो, त्यसको जोखीम र प्रतिफलको गणना कसरी गर्ने ? कस्तो अपेक्षा गर्ने भन्ने विषयमा सोच्नुपर्छ ।
- हामीले अल्पकालीन फाइदा लिने मात्र होइन, दीर्घकालीन प्रतिफलबारे पनि सोच्नुपर्छ ।
- रियल सेक्टरका कम्पनीहरूलाई पब्लिकमा कसरी ल्याउने भनेर सोच्नु आवश्यक छ । त्यसो गर्न नसकिए हाम्रो बजार विविधीकरण सम्भव छैन ।
- वैदेशिक लगानीको कुरा गरिएको छ । म आफैले २५ प्रतिशत लगानी विदेशमा गर्छु भनेको छु । तर, नियामकले बजारलाई आधारभूत रूपमै विस्तार गर्नुपर्ने आवश्यकता छ ।
- राष्ट्रिय तहबाट नै म्युचुअल फण्डबारे सचेतना अभियान चलाउनुपर्ने खाँचो छ ।
- स्टकको पर्याप्तता अर्को समस्या हो । अहिलेको अवस्थामा बजारमा जति शेयर सूचीकृत छ, त्यसको ८ देखि १० प्रतिशत मात्रै दैनिक कारोबार भइरहेको छ । म आबद्ध कम्पनीसँग अहिले पनि २० करोड रुपैयाँ लगानीयोग्य रकम बाँकी छ । मैले लगानी गर्ने ठाउँ पाएको छैन । त्यसकारण बजारमा शेयरको आपूर्ति पनि बढाउनुपर्ने आवश्यकता छ ।
नारायणप्रसाद घिमिरे
प्रमुख, शेयर शाखा, नागरिक लगानी कोष
सामूहिक लगानी कोषमा आमसहभागिता बढ्न सकेन
- नाफाको दृष्टिकोणबाट हेर्ने हो भने सामूहिक लागानी कोष सबैभन्दा राम्रो विकल्प मान्न सकिन्छ । थोरै लगानी र जोखीम कम भएकाले लगानीसम्बन्धी जानकारी नभएका तथा अति व्यस्त मानिसले लगानी गर्न सक्छन् । तर, अहिले त्यसतर्फ आकर्षण घटिरहेको छ । मानिसहरूले निर्धक्क भएर लगानी गर्ने वातावरण बन्न सकेको छैन, जुन अहिलेको मुख्य समस्या हो ।
- सरकारले निर्धारण गरेको नीतिनियमले पनि सामूहिक लगानी कोषमा मानिसको रुचि घट्न थालेको छ । कम्तीमा पनि आम्दानीको ५० हजार रुपैयाँ लगानी गर्नेलाई आयकर छूट दिन सरकारसँग अनुरोध गरेका थियौं । तर, बजेट भाषणमा यो सम्बोधन हुन सकेन । यसले गर्दा पनि लगानीकर्ता निरुत्साहित हुन पुगेका छन् ।
- सामूहिक लगानी कोषले दिने न्यून प्रतिफलका कारण पनि मानिसहरू निजी लगानीमै केन्द्रित हुन चाहन्छन् ।
- एकातिर टाठाबाठा व्यक्ति लगानी गर्न चाहँदैनन् । लगानीसम्बन्धी जानकारी नभएका व्यक्ति मात्र लगानी कोषमार्फत लगानी गर्न आउँछन् । त्यसमा पनि अधिकांश मानिसलाई सामूहिक लगानी कोषबारे जानकारी नै छैन । त्यसैले पनि लगानी गर्ने क्षमता भए तापनि सहभागिता बढ्न सकेको छैन । सामूहिक लगानी कोषका लागि यो एउटा समस्या पनि हो ।
श्रीजेश घिमिरे
प्रमुख कार्यकारी अधिकृत, एनएमबी क्यापिटल
लगानीकर्तामा दूरदर्शिताको कमी छ
- अन्य मुलुकको अभ्यास हेर्ने हो भने सामूहिक लगानी कोषको युनिटको माग निकै बढी भएको देखिन्छ । तर, हाम्रो देशमा भने कोषले आफूले भनेको भन्दा राम्रो प्रगति गरेको अवस्थामा पनि माग घटेको छ । यो भनेको चेतनाको कमी हो । सरकारले नीति त बनायो । तर, त्योसँगै गर्नुपर्ने सहयोग गरेन । नियामक निकाय सेबोनले पनि समस्यालाई समयमै सम्बोधन गरेन ।
- यसैगरी सामूहिक लागनी कोषमा लगानी गर्दा हुने फाइदका विषयमा लगानीकर्तामा जानकारी नै छैन । बजार चेतना करीब शून्यजस्तै छ, जुन मुख्य समस्या हो । त्यसैले, यस विषयमा चेतना जगाउने काम सम्बन्धित निकायले पनि गर्नुपर्छ । कुनै एउटा कोषले प्रयास गर्दैमा यो सफल हुन सक्दैन । हामी सबैले हात मिलाएर अगाडि बढ्नुपर्छ ।
- लगानीकर्तामा दूरदर्शिताको कमी छ । लगानीकर्ताले आईपीओमा लगानी गरेपछि डबल हुने आशा गर्छ । यदि कुनै कम्पनीले ४ महीनामा प्रतिफल दिएन भने यो नराम्रो कम्पनी रहेछ भन्ने सोच्छ । । तर, सामूहिक लगानी कोषले ५ वर्षको योजना ल्याएको छ । त्यसैले, कम्तीमा पनि १ वर्ष काम गर्ने अवसर दिनुपर्छ । त्यसपछि मात्रै कमेण्ट गर्नुपर्छ ।
ध्रुवराज तिमिल्सना
प्रमुख कार्यकारी अधिकृत, सिद्धार्थ म्युचुअल फण्ड
रियल इस्टेट कम्पनीहरूलाई सूचीकृत गराउनुपर्छ
- सामूहिक लगानी कोषलाई प्रभाव पार्ने धेरै खालका समस्यामध्ये अनावश्यक हल्ला पनि एउटा हो । उदाहरणका लागि कुनै पनि एउटा कम्पनी अर्को कम्पनीसँग मर्ज हुँदै छ भन्ने विषयलाई लिएर पनि विभिन्न चलखेल हुने गरेको छ । एउटा नाराम्रो कम्पनी अर्को राम्रो कम्पनीसँग मर्ज हुँदै छ भने उक्त कम्पनीको शेयरलाई म्यानुपुलेट गरेर मूल्य घटाउने खालका गतिविधि हुन्छन् ।
- कुनै पनि प्राथमिक शेयर निष्कासनका लागि सामूहिक लगानी कोषलाई प्राथमिकता दिइन्छ । तर, यसको यसरी कम्पनीले दिने प्राथमिकताको फाइदा फण्ड म्यानेजरले लिन्छ भन्ने भ्रम आमलगानीकर्तामा रहेको पाइन्छ, जुन ठूलो समस्या हो । कोषले पाउने कुनै पनि फाइदा वा नाफा फण्ड म्यानेजरका लागि होइन । त्यसको हकदार प्रत्येक लगानीकर्ता नै हुन् ।
- लगानीकर्तामा वित्तीय साक्षरताको कमी हुनु अर्को ठूलो समस्या देखेको छु । उनीहरू शेयरमूल्य मात्र हेर्छन् । समग्रमा हिसाब गर्ने चलन लगानीकर्तामा छैन । यो बुझाइको कमजोरी हो ।
- सीडीएस पूर्ण रूपमा सञ्चालनमा आउन नसक्नु पनि समस्या भएको छ । अझै पनि पूर्ण रूपमा डिम्याटको काम हुन सकेको छैन । यसले गर्दा काठमाडौंभन्दा बाहिरका लगानीकर्ताले पनि अवसर पाउन सकेका छैनन् । त्यसैले, सामूहिक कोषलाई विस्तार गर्न सीडीएस पूर्ण सञ्चालनमा आउनु आवश्यक छ ।
- बजारमा व्यक्तिगत लगानीकर्ता बढी हुनु र अत्यधिक सट्टेबाजी हुनु पूँजीबजारको दीर्घकालीन विकासका लागि अर्को चुनौती हो ।
- म्युचुअल फण्ड ‘मार्केट मेकर’ होइन भन्नेमा स्पष्ट हुन जरुरी छ ।
- बजारको विविधीकरण अझै हुन सकेको छैन । प्रिमियममा वा अन्य कुनै रूपमा रियल इस्टेट कम्पनीहरूलाई सूचीकृत गराउँदै लैजानुपर्छ ।
उद्धव शिवाकोटी
शेयर लगानीकर्ता
म्युचुअल फण्डप्रति लगानीकर्ता आश्वस्त छैनन्
- सामूहिक लगानी कोषले बजार निर्माताका रूपमा काम गर्न सकेनन् । म्युचुअल फण्ड भएर बजार निर्माणको काम नगरेकाले सामूहिक लगानीकर्ताभन्दा केही फरक छैन । यसलाई म्युचुअल फण्ड भन्न हामी तयार छैनौं । बजार अवमूल्यन भएको अवस्थामा सामूहिक लगानी कम्पनीले माग बढाउन भूमिका खेल्नुपर्थ्यो । त्यस्तै, बजार अधिमूल्यन भएको छ भने शेयरको आपूर्ति बढाउन सक्नुपर्यो । त्यो गरिएको छैन ।
- हालै मात्र केही पब्लिक कम्पनीले शेयर जारी गरेका थिए । हाम्रो सामूहिक लगानी कोषले पनि त्यसमा आफ्नो कोटा पाएको छ । तर, कम्पनीको शेयर सूचीकृत भएपछि भने यसले पाउनुपर्ने मूल्य पाउन सकेन । कोषको शेयर सबैभन्दा पहिला बजारमा आपूर्ति भएका कारण शेयरमूल्य बढ्न सकेन । यसले म्युचुअल फण्डले आफूलाई मात्रै हेर्ने, बजारलाई नहेर्ने गरेको देखियो ।
- म्युचुअल फण्डहरूको पोर्टफोलियो हेर्दा केही राम्रा कम्पनीमा पनि लगानी गर्न छुटेको र केही नराम्रा कम्पनीमा पनि लगानी गरिएको देखिएको छ ।
- म्युचुअल फण्डप्रति लगानीकर्ता आश्वस्त छैनन् ।
- सामूहिक लगानी कोषले लाभ लागत विश्लेषणका आधारमा लगानीसम्बन्धी निर्णय गर्नुपर्छ ।