आउँदो कात्तिक १४ दखि १६ सम्म (२०१३, अक्टोबर ३१ देखि नोभेम्बर २ सम्म) काठमाडौंमा तेस्रो ‘मनी एक्स्पो २०१३’ आयोजना हुँदै छ । एक्स्पोमा आर्थिक क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा छुट्टाछुट्टै गोष्ठी आयोजना गरिनेछ । तीमध्येको एक ‘शेयर बजार परिदृश्य २०१३’ सम्बन्धी एक गोष्ठीलाई लक्षित गरी आर्थिक अभियान दैनिकले गत शुक्रवार एक छलफल कार्यक्रम आयोजना गरेको थियो । ‘पूँजीबजारका अप्ठ्याराहरू’ विषयक उक्त छलफलमा उठेका विषयको सार :
कृष्णप्रसाद देवकोटा
सहसचिव, अर्थ मन्त्रालय
वित्तीय चेतनाको अभाव मुख्य चुनौती हो
- नेपालमा ‘कर्पोरेट कल्चर’ नै विकास हुन सकेको छैन । अन्य क्षेत्रजस्तै पूँजीबजारका लागि पनि यो प्रमुख समस्या हो ।
- नीतिनियम निर्माण गर्दा, भावी अवस्थाको आँकलन गर्न नसक्नु अर्को समस्या हो । यसमा दूरदर्शिताको कमी छ ।
- नेपाल धितोपत्र बोर्डलाई अझै पनि पूर्ण क्षमतामा सञ्चालन गर्न सकिएको छैन । जबसम्म यसलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सकिँदैन, तबसम्म अपेक्षित रूपमा पूँजीबजारको विकास हुन सक्दैन ।
- नीति बलियो बन्न नसक्नु अर्को समस्या हो । यसैले पनि धितोपत्र बोर्ड आवश्यकताअनुसार बलियो बन्न सकेको छैन । नेपालमा कुनै क्षेत्रविशेषका कम्पनी सञ्चालनमा आइसकेपछि नियामक निकायको व्यवस्था हुने प्रथा पनि समस्याका रूपमा देखिएको छ ।
- सरकारले अहिले पनि खुला, उदार र बजार अर्थतन्त्रलाई नै अवलम्बन गरिरहेको छ । तर, पूँजीबजारमा विदेशी लगानी भित्र्याउने विषयचाहिँ सरकारले अहिलेसम्म सोचेको छैन । त्यस्तो कुनै पनि नीति सरकारको छैन । भारतजस्तो देशले त पूँजीबजारमा विदेशी लगानी भित्र्याएकै कारण अहिले मुद्राको यत्रो अवमूल्यन भोग्नुपरिरहेको छ ।
- वित्तीय साक्षरता न्यून छ । वित्तीय चेतनाको अभाव मुख्य चुनौती हो ।
सुबोध शर्मा सिग्देल
प्रमुख कार्यकारी अधिकृत, सीडीएस एण्ड क्लियरिङ लिमिटेड
सानो आकारमा भए पनि पूर्ण कारोबार शुरू गर्नुपर्छ
- समग्र धितोपत्र बजारको असर सीडीएसमा पनि पर्छ । तर, आजसम्मको अवस्थामा हामीले भौतिक राफसाफको काम ‘टी प्लस थ्री’मै गर्दै आएका छौं । सबैले यसलाई प्रशंसा गर्नुभएको पनि छ । नेप्सेमा सबै सूचीकृत कम्पनी सीडीएसमा आउनैपर्ने विनियमावलीको प्रावधान भए पनि कम्पनीहरू सूचीकृत हुन आएका छैनन् । ब्रोकरहरूले पनि राफसाफ सदस्यता लिन मानेका छैनन् । यसले गर्दा सीडीएस कार्यान्वयनमा समस्या भएको छ ।
- हामीले सीडीएस सञ्चालनको रोडम्याप पनि बनाएका छौं । सबै २ सय ३० कम्पनी नै सूचीकृत भएपछि मात्रै सञ्चालनमा जानेभन्दा पनि केही सीमित कम्पनीको कारोबार सञ्चालन गरेर अरू थप्दै जाने हो । यसका लागि हामी सेबोन र नेप्सेसँग नियमित छलफलमा छौं । हामीले भौतिक र अभौतिक दुवै पद्धतिलाई सँगै अघि बढाउनुपर्छ । अन्यथा, अबको १० वर्षमा पनि सीडीएस सञ्चालनमा आउँदैन ।
- ब्रोकरहरूले सदस्यता लिइदिएर सानो आकारमा भए पनि कारोबार शुरू गर्नु जरूरी छ ।
- हामी रणनीतिक योजना बनाउने तयारीमा छौं । हामीले धितोपत्र बोर्डमा राखेर यसलाई अन्तिम रूप दिन्छौं । कुन कम्पनी छान्ने, कहिलेसम्म सीडीएसमा गइसक्नुपर्ने भन्ने छलफलको विषय छ । यसमा सेबोन र नेप्सेको सहयोग आवश्यक छ ।
- सीडीएसको काम शुरू हुन निक्षेप र राफसाफ दुवैको नियमावली तयार छ । सफ्टवेयर पनि तयार छ । राफसाफको सफ्टवेयर पनि टी प्लस वानमा परीक्षण भइसकेको छ ।
सन्तोष मैनाली
प्रबन्ध निर्देशक, सेक्योर्ड सेक्युरिटिज लिमिटेड
अहिलेको नियामक सीमाभित्र बसेर सबै काम गर्न सकिँदैन
- ब्रोकरबाट बजार र लगानीकर्ताले निकै ठूलो अपेक्षा गरेका छन् । तर, यो किसिमको ‘मेकानिजम’ले त्यो अपेक्षा पूर्ति गर्न सक्दैन । त्यसले गर्दा समस्या भइरहेको छ । लगानीकताले बढी अपेक्षा गरेका हुन्छन् । बोकर स्रोतसम्पन्न होस् भन्ने अपेक्षा हुन्छ । तर, अहिलेको नियामक सीमाभित्र बसेर हामीले ती सबै काम गर्न सक्दैनौं । यस्तै सबै नियम पालना गरून् भन्ने नियामकको धारणा भए पनि अहिलेको काम गर्ने संयन्त्रले सबै नियम पालना गर्न एकदमै गाह्रो छ । त्यसैले, गुनासा आइराख्ने र समस्या भइरहने गरेको छ ।
- सीधा बजारको पहुँच ब्रोकरसँग नै हुन्छ । तर, ब्रोकर कम्पनीहरूले मेरो कार्यालय यहाँ छ भनेर देखाउनसमेत पाउने अवस्था छैन ।
- ‘सर्कुलर ट्रेडिङ’ ब्रोकरले गर्न नहुने एउटा खराब अभ्यास नै हो । त्यो काम अहिले पनि भइरहेको छ । त्योबाहेक मैले भनेँ, अहिलेको संयन्त्रमा बसेर धेरै काम गर्न सक्ने अवस्था छैन । त्यसैले, अहिलेको अवस्थाबाट माथि उठाउन नियामकले धेरै परिवर्तन ल्याउन सक्नुपर्छ । ब्रोकरहरूको क्षमता अभिवृद्धि गर्न र समग्र बजारको दक्षता बढाउन धेरै परिवर्तन आवश्यक छ ।
राजकुमार तिमिल्सिना
कार्यवाहक अध्यक्ष
नेपाल इन्भेष्टर्स फोरम
नेप्से, सीडीएस, सेबोन र ब्रोकर जुधाइको मारमा लगानीकर्ता
- नेपाल धितोपत्र बोर्डको भौतिक तथा मानवीय स्रोतको कमजोरीका कारण अहिले पनि पूँजीबजारमा बैङ्क तथा वित्तीय क्षेत्रको वर्चस्व छ । यसलाई कम गर्न सेबोनको क्षमता विकास गर्नुको विकल्प छैन । राष्ट्र बैङ्कको सानो निर्णयले पनि शेयर बजारमा ठूलो प्रभाव पार्ने गरेको छ । यस्तो अवस्थामा राष्ट्र बैङ्ककै समानान्तर नियामक निकायका रूपमा सेबोनले आफ्नो भूमिकालाई बढाउनुपर्ने आवश्यकता छ ।
- अनलाइन ट्रेडिङ सिष्टमको कथा भन्न थालेको लामो समय भइसक्यो । यसलाई कार्यान्वयनमा ल्याउनुपर्छ । डिम्याटका लागि पनि कम्पनीहरू सूचीकृत हुन तयार भएको अवस्था छैन ।
- स्टक एक्सचेञ्ज, सीडीएस, सेबोन र ब्रोकरहरूको जुधाइको बीचमा लगानीकर्ता परेका छन् ।
- समयमै लगानीकर्ताले सूचना पाउनुपर्छ भन्ने हाम्रो माग छ । कारोबार समयमै सूचनाहरू प्राप्त गर्ने सुविधा हामीले पाउनुपर्यो ।
- धितोपत्रको क्षेत्रगत विविधीकरण गर्नु आवश्यक छ । त्यसका लागि कर छूट गरेर हुन्छ कि के गरेर हुन्छ अलि तदारुकताका साथ गर्नुपर्छ किजस्तो लाग्छ ।
- हामीले शेयरमा वैदेशिक लगानी भित्र्याउने विषय अहिले नै सोच्ने बेला भएको छैन किजस्तो लाग्छ । किनभने, अहिले स्थानीय लगानीकर्ताको लगानीलाई त सुरक्षित गर्न नसक्ने नियामक र सरकार रहेको अवस्थामा विदेशीलाई ल्याउने अलि टाढाको कुरा हुन्छ । त्यसो गर्न हाम्रो नियामक र सरकारले अझ धेरै गृहकार्य गर्नुपर्छ ।
- डिलरका रूपमा डीपी लिँदा फाइदा के हुन्छ भनेर सोच्नुपर्यो । पूँजी कति पुर्याउनुपर्यो भनेर अल्झिनुभएन ।
- लगानीकर्तालाई सुसूचित गर्ने काम उपत्यकाभित्रै सञ्चालन हुनुपथ्र्यो । कारोबारको पहुँच नै नभएको उपत्यकाबाहिरको ठाउँमा सचेतना दिनु खासै प्रभावकारी हुँदैन ।
- मन्त्रालयभित्र र नियामकहरूबीचको असामञ्जस्यताले समयमै नियम बन्न सकेका छैनन् र धितोपत्र बजार निकै पछि परेको छ ।
- एशियाकै कम विकसित स्टक मार्केट हाम्रो देशमा छ । भूटानजस्तो देशमा जम्मा १० ओटा कम्पनी सूचीकृत हुँदा अनलाइन ट्रेडिङ सिष्टम छ । तर, हाम्रो देशमा २ सय ३० ओटा कम्पनी सूचीकृत हुँदा किन प्रविधिको विकास हुन सकेन ?
नीरज गिरि
प्रवक्ता, नेपाल धितोपत्र बोर्ड (सेबोन)
ब्रोकर कमिशन समस्याका रूपमा देखिएको छ
- ब्रोकर कमिशन एउटा समस्याका रूपमा देखेको छु । ब्रोकरलाई काम गरेका आधारमा कमिशन तोक्ने व्यवस्था भएमा ब्रोकरहरूबीच प्रतिस्पर्धा हुन्छ । उनीहरूले आफ्नो क्षमता बढाउनेतर्फ पनि ध्यान दिन्छन् । यसले ब्रोकरको स्तर पनि आफै निर्माण गर्छ, जुन अहिलेसम्म हुन सकेको छैन ।
- सीडीएस सञ्चालनमा छ कि छैन भन्ने प्रश्न उठ्न थालेको छ । नियामक निकायले कुनै पनि कम्पनीलाई जबरजस्ती सीडीएसमा जा भनेर दबाब दिन सक्दैन । त्यस्तो अभ्यास संसारमा कहीँ पनि छैन । नियामक निकायले केवल प्रोत्साहन गर्ने हो । सीडीएसलाई पूर्ण सञ्चालनमा ल्याउन हामी पनि प्रयास गरिरहेका छौं । त्यसमा कम्पनीहरूको लागतलाई व्यवस्थापन गर्ने अर्को पक्ष पनि सँगै छ । सीडीएसले सबै कम्पनीलाई पर्खनुभन्दा जति कम्पनी दर्ता भएका छन्, तिनीरूबाट नै कामको शुरुआत गर्नुपर्छ । र, ती कम्पनीको पनि भौतिक र अभौतिक राफसाफका दुवै प्रक्रिया सँगसँगै लगेर भौतिक प्रणालीलाई क्रमशः अन्त्य गर्नुपर्छ ।
- यसअघि सेबोनले कुनै पनि नियम बनाउँदा सरोकारवालासँग छलफल गरेको छैन, जसको परिणाम हामीले अहिले कार्यान्वयन तहमा भोगिरहेका छौं । तर, अब हामी यो परम्परालाई सच्चाउँदै लैजाने तयारीमा छौँ ।
- तुरुन्त सूचना वितरण गर्ने हामीसँग कुनै माध्यम छैन । यसका लागि हामीले सूचना ‘हब’ तयार पार्नैपर्छ ।
- विदेशी लागनीकर्ता भित्र्याउने भौतिक संरचनाको अभाव छ ।
- नियामक र नेप्से मात्र होइन, ब्रोकर, मर्चेण्ट बैङ्करलगायत सबै सम्बन्धित निकायको क्षमता विकास गर्नु जरुरी छ । उनीहरूको भूमिकालाई विस्तारित गर्न गृहकार्य भइरहेको छ ।
निरञ्जन फुयाल
वरिष्ठ अधिकृत, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)
पूँजीबजारका अधिकांश नीतिनियम पुराना छन्
- संस्थागत सुशासनका लागि नीतिनियमको पूर्ण कार्यान्वयन हुन नसक्नु प्रमुख कारण हो । धितोपत्र सूचनामा आधारित व्यवसाय हो । जति सूचनाको प्रवाह हुन सक्यो, मानिस त्यति नै सुसूचित हुँदै जान्छन् । यसैका आधारमा व्यवसाय पनि बढ्दै जान्छ । तर, सुशासन कार्यान्वयन हुन नसक्दा आवश्यक सूचना प्रवाह हुन सकेको छैन ।
- कारोबार काठमाडौंमा मात्र केन्द्रित हुनु अर्को समस्या हो । देशव्यापी रूपमा कारोबार गर्न नेप्से प्रविधिमुखी हुनैपर्छ । बजारको आकार विस्तार गर्न प्रविधिमैत्री बनाउनुपर्ने चुनौती छ ।
- पूँजीगत लाभकर समस्या सम्बोधन गर्न नसक्नु अर्को समस्या हो । यो समस्या सम्बोधन गर्ने काम मन्त्रालयको हो । यसले पनि व्यापार विस्तारलाई अवरोध पुर्याइरहेको छ ।
- पूँजीबजारका अधिकांश नीतिनियम पुराना छन् । जुन अहिलेका लागि समसामयिक छैन र अपर्याप्त पनि छ । अझै पनि हामी २०५३ को सूचीकृत ऐनअनुसार चलिरहेका छौं । ट्रेडिङ ऐन २०५५ कार्यान्वयनमा छ । जबसम्म यस्ता नीतिनियम अद्यावधिक गर्न सकिँदैन, तबसम्म धेरै बाधाअवरोध सृजना भइरहन्छन् ।
- नेप्सेको इण्डेक्स फण्ड, कमोडिटिजजस्ता नयाँ क्षेत्रमा प्रवेश गरेर पनि बजारको विविधीकरण गर्न सकिन्छ । त्यो पनि हुन सकेको छैन ।
- दक्ष र पर्याप्त मानव संसाधनको अभाव छ । नेप्सेमा मात्र होइन, अन्य सरोकारवाला निकायमा पनि मानव संसाधन धेरै कमजोर छ । विदेशी लगानी भित्र्याउन आवश्यक मोडलको समेत अभाव छ । श्रीलङ्काले जसरी अन्तरराष्ट्रिय लगानीकर्ता भित्र्याउन सकेको छ, हामीले त्यस्तो गर्न सकेका छैनौं ।
- नेप्सेको बजार अनुगमन पक्ष अति कमजोर छ, जुन प्रमुख समस्या हो । बजारलाई निरन्तर अनुगमन तथा कारबाही नगरेसम्म कारोबार चुस्त रहन सक्दैन ।
- वित्तीय चेतनाको कार्यक्रम काठमाडौंकेन्द्रित हुनु पनि अर्को समस्या हो । लगानी गर्न सक्ने मानिससँग क्षमता नभएको हुन सक्छ । त्यसैले, वित्तीय चेतनाको कार्यक्रम अन्य क्षेत्रमा पनि विस्तार नगरेसम्म कारोबार बढ्न सक्दैन ।
- राष्ट्र बैङ्कले मर्जरमा जाने बैङ्कहरूको कारोबार बन्द गरिदिन्छ । राष्ट्र बैङ्कको विनियमावलीअनुसार मर्जरका लागि समाचारमा नाम आउनेबित्तिकै बैङ्कको कारोबार बन्द गरिदिने प्रावधान छ, जुन पूँजीबजार व्यवसायका लागि एउटा समस्या बनेको छ । संविधानले पनि मानिसलाई आफ्नो सम्पत्ति परिचालन गर्ने र भोग गर्ने हक दिएको छ । तर, बैङ्कको यो प्रावधानले अवरोध सृजना गरिदिएको छ । यसलाई छोटो समय मात्र कारोबार बन्द हुने वातावरण तयार गर्नुपर्नेछ ।
- मार्जिन कल ब्रोकरबाट हुनुपर्ने व्यवस्था गर्न आवश्यक छ । लगानीका लागि मार्गनिर्देश गर्ने खालको संयन्त्र पनि बनाउनुपर्छ ।
नरेन्द्र सिजापती
अध्यक्ष, स्टक ब्रोकर्स एशोसिएशन नेपाल
सेबोन र नेप्सेको क्षमता अभिवृद्धि जरूरी छ
- पूँजीबजारको विकासका लागि पूर्ण स्वचालित अनलाइन व्यापार सञ्चालनमा ल्याउनु आवश्यक छ ।
- पूँजीबजारको विविधीकरणका लागि विशेषगरी दुईओटा काम गर्नुपर्नेछ । पहिलो, क्षेत्रगत विविधीकरण । विभिन्न क्षेत्रका कम्पनीलाई पूँजीबजारमा आकर्षित गराउनुपर्यो । दोस्रो, बजार संयन्त्रको विविधीकरण । यसमा चाहीँ पूँजीबजारमा विभिन्न नयाँ धितेपत्र (ऋणपत्रलगायत) हरूको व्यापार गर्ने व्यवस्थाका लागि पनि पहल गर्न जरुरी छ ।
- विदेशी लगानीकर्तालाई कसरी पूँजीबजारमा भित्र्याउन सकिन्छ भनेर पनि बहस गर्नुपर्नेछ ।
- सामान्य बचत गर्ने मोफसलका मानिसलाई पूँजीबजारमा भित्र्याउन विशेष किसिमका सचेतना कार्यक्रम ल्याउनु आवश्यक छ ।
- ब्रोकरको क्षमता विस्तारका लागि ‘फुल फ्लेज ब्रोकर सर्भिस हाउस’ (ब्रोकरबाट अपेक्षा गरिएका सबै सेवा पाउने व्यवस्था) निर्माणका लागि आवश्यक नीतिनियम वा वातावरण तयार पार्नु जरुरी छ ।
- बजारको अवस्थालाई विस्तृत रूपमा सुधार गर्नुपर्छ ।
- पूँजीबजारको विकासका लागि संस्थागत लगानीकर्ता भित्र्याउन अत्यन्त जरुरी छ ।
- नेप्से तथा सेबोनको क्षमता अभिवृद्धि गर्नुपर्छ । पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेपालको एक मात्र धितोपत्र बजार नेप्सेको क्षमता वृद्धि हुन सकेको छैन ।
- त्यस्तै, अहिले क्यापिटल गेन ट्याक्स (पूँजीगत लाभकर)लाई सहज बनाउन कारोबार लागतको व्यवस्था हुन सकेको छैन ।
- अर्को कुरा, पूँजीबजारका लागि आवश्यक मार्केट मेकर र डिलर बनाउनेहरूको व्यवस्था गराउनुपर्नेछ ।
- बजारसम्बन्धी सबै सूचना खोजेको बेलामा जहाँत्यहीँबाट उपलब्ध गराउने डाटा बैङ्क अथवा सूचना केन्द्रका रूपमा सूचना ‘हब’ बनाउन सकिएको छैन । चाहेजति आधिकारिक सूचना पाउन सक्ने वेबसाइट वा त्यस्तो संयन्त्र विकास गर्नुपर्छ ।
- हामी ब्रोकरका रूपमा कार्यान्वयन तहमा बसेर काम गर्दा थुप्रै मुद्दा उठाउनुपर्ने आवश्यकता देखेका छौँ । कतिपय समस्याको तत्कालै समाधान चाहिएको छ भने कतिपयको विस्तारै र केही मुद्दा दीर्घकालीन असर गर्ने खालका एवम् नीतिगत रूपमा सम्बोधन गर्नुपर्ने किसिमका छन् ।