काठमाडौं । बुक बिल्डिङ्ग विधिमार्फत पहिलो पटक आईपीओ निष्कासन भएको छ । आजदेखि सर्वोत्तम सिमेन्ट लिमिटेडले यो विधिबाट आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२ दशमलव ९०३३ प्रतिशतले हुन आउने ६० लाख कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट आवेदन दिएको थियो । कुल कित्ता आईपीओमध्ये ४० प्रतिशत दरको २४ लाख कित्ता आईपीओ योग्य संस्थागत लगानीकर्ताहरूमा विक्री गर्न लागिएको हो ।
यो शेयरको विक्री मूल्य सीमा प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँ ५० पैसा तोकिएको छ । तोकिएको मूल्यमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सञ्चालन गर्ने बोलकबोल प्रक्रियाबाट योग्य संस्थागत लगानीकर्तामा यी शेयर विक्री गर्न लागिएको हो । योग्य संस्थागत लगानीकर्तामा आईपीओ विक्रीपछि सर्वसाधारणमा ६० प्रतिशत आईपीओ विक्रीका लागि कम्पनीले पुनः आवेदन दिनेछ । योग्य संस्थागत लगानीकर्ताहरूले मंसिर १० गतेसम्म बोलकबोल पेस गर्न सक्नेछन् ।
कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ भने सह निष्कासन तथा विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड छ । योग्य संस्थागत लगानीकर्ताहरूले नेपाल स्टक एक्सचेञ्जको रजिष्टर्ड कार्यालय, यूएनआई शान्तिमार्ग, भद्रकालीमा गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।
बोलपत्र पेस गर्ने अन्तिम मितिको भोलिपल्ट धितोपत्र बजारले योग्य संस्थागत लगानीकर्ताहरूलाई निष्कासित धितोपत्र पूर्णरूपमा विक्री हुने गरी प्राप्त बोलकबोलको कट अफ मूल्य निर्धारण भएको जानकारी गराउनेछ । कट अफ मूल्य निर्धारण गरेपछि सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरूलाई माग बमोजिमको धितोपत्र कटअफ मूल्यमा बाँडफाँट गर्नुपर्नेछ ।
कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई मागबमोजिम धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिकरूपमा बाँडफाँट गर्नुपर्नेछ । योग्य संस्थागत लगानीकर्ताले कबोल गरेको मूल्य कट अफ मूल्यभन्दा कम भएमा त्यस्तो योग्य संस्थागत लगानीकर्तालाई धितोपत्र बाँडफाँट गरिने छैन ।
संस्थागत लगानीकर्तामा आईपीओ बाँडफाँटपछि बाँकी रहेको ३६ लाख कित्ता आईपीओमध्ये ८ लाख कित्ता उद्योग प्रभावित स्थानीय बासिन्दालाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ । कम्पनीको आईपीओ निष्कासनमा लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई ईक्राएनपी इस्यूअर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले वित्तीय दायित्व वहन गर्ने मध्यम स्तरको क्षमता रहेको संकेत गर्दछ ।
यस कम्पनीले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आएको छ । नवलपरासी, सुनवल नगरपालिका वडा नं. ११, जोडेनीमा कम्पनीले सञ्चालन गरिरहेको उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट छ । उद्योगले डेनमार्कको भीआरएम प्रविधि प्रयोग गरिरहेको छ ।