सरकारले विभिन्न देशसँग द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (बिप्पा)को न्यूनतम मापदण्ड बनाउने भएको छ । मापदण्ड बनाउन उद्योग मन्त्रालयको औद्योगिक प्रवर्द्धन महाशाखा प्रमुखको संयोजकत्वमा ६ सदस्यीय स्थायी संयन्त्र निर्माण गरिसकिएको उद्योग मन्त्रालयकी सहसचिव यामकुमारी खतिवडाले अभियानलाई बताइन् । ‘२ महीनाअघि गठन भएको संयन्त्रले काम थालिसकेको छ,’ उनले भनिन्, ‘न्यूनतम मापदण्ड तयार भएपछि थुप्रै देशसँग बिप्पा सम्झौताका लागि वातावरण सहज बन्नेछ ।’ संयन्त्रमा वाणिज्य तथा आपूर्ति, परराष्ट्र, कानून तथा अर्थ मन्त्रालय र उद्योग विभागका कम्तीमा उपसचिव स्तरका एक/एक जनाको प्रतिनिधित्व रहनेछ ।
गतवर्ष भारतसँग सम्पन्न बिप्पा सम्झौताका अधिकांश बुँदालाई आधार मानेर नै न्यूनतम मापदण्ड तयार गरिने उद्योग मन्त्रालयका एक अधिकारीले जानकारी दिए । अहिलेसम्म न्यूनतम मापदण्ड बन्न नसक्दा विभिन्न ६ ओटा देशसँग बिप्पा सम्झौता भए पनि अपेक्षित लगानी भित्रिन नसकेको ती अधिकारीको भनाइ छ । नेपालले अहिलेसम्म भारत, बेलायत, फ्रान्स, मौरिसस, जर्मनी र फिनल्याण्डसँग बिप्पा सम्झौता गरिसकेको छ । सरकारले अन्य चारओटा देशसँग पनि बिप्पा सम्झौता गर्ने बताउँदै आएको छ । तर, अहिले ती देशसँगको तयारी भने प्रभावकारी बन्न सकेको छैन ।
वर्ष ८, अंक ७५, सोमवार १८ मङ्सिर, २०६९