भद्रपुर (झापा)। आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा रु ६९ करोड २८ लाख ५७ हजार राजस्व सङ्कलन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.८१ प्रतिशतले बढी हो।
आन्तरिक राजस्व कार्यालयका अनुसार, गत आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिकमा रु ६३ करोड ९ लाख ३५ हजार राजस्व सङ्कलन भएको थियो। चालु आवमा कार्यालयले कुल रु ४ अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार, चालु आवको पहिलो त्रैमासिकमा रु ८१ करोड ४० लाख ५४ हजार सङ्कलन गर्ने लक्ष्य थियो, तर यसमा ८५.११ प्रतिशत मात्र पूरा हुन सकेको छ।
प्रमुख कर अधिकृत काफ्लेका अनुसार, चालु आवमा राजस्व असुली बढे पनि लक्ष्य उच्च रहेकाले सोअनुसार सङ्कलन हुन सकेन। यस अवधिमा आयकरबाट रु २४ करोड ५ लाख ४९ हजार, ब्याजबाट रु २ करोड ८८ लाख ७६ हजार, मूल्य अभिवृद्धि करबाट रु २६ करोड ४२ लाख ३५ हजार, र अन्तःशुल्कबाट रु १५ करोड ८ लाख ९१ हजार राजस्व सङ्कलन भएको छ।
कार्यालयले राजस्व सङ्कलनको लक्ष्य प्राप्त गर्न बजारमा निरन्तर अनुगमन र निगरानी गर्दै आएको छ। साथै, स्थानीय उद्योग वाणिज्य सङ्घहरूको समन्वयमा करदाता शिक्षा कार्यक्रम पनि सञ्चालन भइरहेको काफ्लेले बताए। भारतसँगको खुला सीमाका कारण हुने अवैध निकासी र पैठारीले राजस्व सङ्कलनमा प्रभाव पारेको पनि उनले उल्लेख गरे । रासस