काठमाडौं । कोरोना महामारीपछि पुष्प व्यवसायले गति लिन थालेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा यो व्यवसाय अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा करीब २० प्रतिशतले बढेको छ ।
तिहार नजिकिँदै गर्दा फ्लोरीकल्चर एशोसिएसन नेपालले सार्वजनिक गरेको तथ्यांकले पुष्प व्यवसाय कोभिडयता वार्षिक औसत ३३ प्रतिशतले बढेको देखाएको छ । आर्थिक वर्ष (आव) २०७९/८० मा कुल ३ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आव २०८०/८१ मा बढेर ३ अर्ब ६८ करोड रुपैयाँ पुगेको संघको तथ्यांक छ ।
आव २०७७/७८ मा कोरोना महामारीका कारण पुष्प व्यवसाय खुम्चिएर १ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको थियो । महामारीको प्रभाव कम भएसँगै आव २०७८/७९ देखि कारोबारमा सुधार आउन थालेको थियो । उक्त आवमा कुल वार्षिक कारोबार १ अर्ब ८० करोड रुपैयाँ पुगेको थियो ।
संघका निवर्तमान अध्यक्ष मिनबहादुर तामाङले पछिल्लो सयम तंग्रिँदै गएको व्यवसायमा असोज ११ र १२ मा आएको वर्षा, बाढी र डुबानले ठूलो क्षति पुगेको बताए । सो क्षतिका कारण यस वर्षको तिहारमा फूलमालाको आपूर्ति प्रभावित हुन सक्ने उनको भनाइ छ ।
उनका अनुसार तिहारको समयमा सामान्यतया ७० प्रतिशत फूलको माग आन्तरिक उत्पादनले धान्ने र ३० प्रतिशत भारत लगायत मुलुकबाट आयात हुने गरेको थियो । तर, यस वर्ष बाढीले पुर्याएको क्षतिका कारण तिहारका लागि ४० प्रतिशत फूल आयात गर्नुपर्ने देखिएको छ ।
‘यस वर्षको तिहारमा भाइटीकाको दिनसम्म करीब ४५ लाख ओटा फूलमाला खरीदविक्री हुने अनुमान छ । त्यसबाट करीब ३७ करोड रुपैयाँको कारोबार हुनेछ । तिहारमा खपत हुने फूलमालाको करीब ६० प्रतिशत काठमाडौं उपत्यका र बाँकी खपत उपत्यका बाहिर हुन्छ,’ उनले भने ।
संघका अनुसार हाल नेपालको पुष्प व्यवसायमा ८ अर्ब ८३ करोड रुपैयाँभन्दा धेरै लगानी भइसकेको छ भने ५१ हजार जनशक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । ५२ जिल्लामा लगभग २६० हेक्टर क्षेत्रफलमा पुष्पखेती हुने गरेको छ ।
देशभर ५३० पुष्प नर्सरी रहेका छन् । यस्तै, ९० ओटा कट फ्लावर उत्पादक छन् । यस्तै, देशभर १५८ कट फ्लावर खुद्रा व्यवसायी छन् ।
गोदावरी फूलको प्रदर्शनी कात्तिक ८ देखि
यस वर्षको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक ८ देखि ११ गतेसम्म हुने भएको छ । मेला ललितपुरको जावलाखेलको खेल मैदानमा आयोजना हुँदै छ । तिहार र छठ पर्वलाई लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी गर्न लागिएको संघले जानकारी दिएको छ ।
प्रदर्शनीमा स्टल राख्न चाहनेका लागि संघले कात्तिक ७ गतेसम्म बुकिङ खुला गरेको छ । संघमा आबद्ध सदस्यका लागि प्रतिस्टल शुल्क २० हजार र गैरसदस्यका लागि प्रतिस्टल शुल्क ३० हजार कायम गरिएको निवर्तमान अध्यक्ष तामाङले जानकारी दिए । प्रदर्शनी ४० हजारभन्दा धेरैले प्रत्यक्ष अवलोकन गर्ने र एक करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ ।