मुलुकको निर्यात अभिवृद्धि गर्न उपयुक्त बजार अनुसन्धान सबैभन्दा महत्त्वपूर्ण कार्यका रूपमा रहिआएको हुन्छ । बजार अनुसन्धान भन्दासाथ यसमा स्वदेशको उत्पादन क्षमता र बाह्य मुलुकमा उपलब्ध उपभोक्ता र ती उपभोक्तासम्म पुग्ने पद्धतिजस्ता विषय स्वत: आकर्षित हुन्छन् ।
बजार अनुसन्धानमा पनि अन्तरराष्ट्रिय बजार अनुसन्धान अझ जटिल र खर्चिलो हुने गर्छ । अनुसन्धान पद्धतिको प्रतिपादनसँगै त्यस पद्धतिअनुसार सूचना र तथ्यांकमा पहुँच, उक्त सूचना र तथ्यांकको विश्लेषण, सिद्धान्तनिष्ठ निष्कर्ष र कार्यान्वयनयोग्य सिफारिश गर्नु कठिन कार्य हो । यस कठिनताभित्र रहेका जटिलता सुल्झाउँदै अन्तरराष्ट्रिय बजारको पहिचान गर्नु र त्यस बजारमा निर्यातयोग्य वस्तु स्थापित गर्ने वातावरण सृजना गर्नु एक सफल अनुसन्धानको विशेष पक्ष हुने गर्छ ।
बजार अनुसन्धानका पक्ष
- अनुसन्धानका ढाँचा
- सम्बद्ध उत्पादनकर्ताले आफ्नै प्रयासमा अनुसन्धान गर्ने ।
- सम्बद्ध उद्योग र कूटनीतिक नियोगहरूको संयुक्त तङ्खवावधानमा बजार अनुसन्धानका क्रियाकलाप सञ्चालन गर्ने ।
- नियोगहरूले सरकारको पूर्ण बजेटरी सहयोगमा बजार अनुसन्धानका क्रियाकलापहरू सञ्चालन गर्ने ।
- कूटनीतिक नियोगहरूले आफू कार्यरत देशको समग्र बजारको अध्ययन अनुसन्धान गरी आफ्ना मुलुकका उद्यमी व्यापारीहरूलाई उपलब्ध गराउने ।
अन्तरराष्ट्रिय बजार अनुसन्धानमा विभिन्न पक्ष हुन्छन् । पहिलो, सम्बद्ध उत्पादनकर्ताले आफ्नै प्रयासमा यस्ता अनुसन्धान कार्य सञ्चालन गरिरहेका हुन्छन् । विशेषत: साधनस्रोतले सम्पन्न ठूला अन्तरराष्ट्रिय कम्पनीहरूले आफ्नै साधनस्रोतमा यस्ता बजार अनुसन्धानका क्रियाकलाप सञ्चालन गरिरहेका हुन्छन् जसमा सम्बद्ध देशका कूटनीतिक नियोगहरूले समन्वयकारी भूमिका खेल्ने गर्छन् । विश्वका आर्थिक शक्ति राष्ट्रका सम्पन्न कम्पनीहरूले यही ढाँचामा आफ्ना अनुसन्धान क्रियाकलाप सञ्चालन गरिरहेका हुन्छन् ।
दोस्रो, सम्बद्ध उद्योग र सम्बद्ध देशका कूटनीतिक नियोगहरूको संयुक्त तत्त्वावधानमा बजार अनुसन्धानका क्रियाकलाप सञ्चालन गर्ने अर्को ढाँचा पनि अभ्यासमा रहेको छ । विशेष गरी विकासशील देशका उत्पादनको बजार विस्तारमा यस्तो ढाँचाको प्रयोग हुन्छ, जहाँ सम्बद्ध देशहरूले बजेटरी सहयोग गर्ने गर्छन् । तेस्रो ढाँचा भनेको सम्बद्ध देशका कूटनीतिक नियोगहरूले सरकारको पूर्ण बजेटरी सहयोगमा बजार अनुसन्धानका क्रियाकलाप सञ्चालन गर्नु हो जहाँ सम्बद्ध उत्पादनकर्ताको अनुरोधात्मक सक्रियता मात्र रहेको हुन्छ ।
चौथो, सम्बद्ध देशका कूटनीतिक नियोगहरूले आफू कार्यरत देशको समग्र बजारको अध्ययन अनुसन्धान गरी आफ्ना मुलुकका उद्यमी व्यापारीहरूलाई त्यस्ता प्रतिवेदन उपलब्ध गराउँछन् । यस्ता अनुसन्धान प्रतिवेदनले बजारको समग्र चरित्रको जानकारी प्रदान गर्छन् परन्तु यस्ता अनुसन्धान आम प्रकृतिका हुन्छन् र स्वदेशभित्रका उत्पादक निर्यातकर्तालाई सम्बद्ध बजार लक्षित उत्पादन र निर्यातको आँखीझ्यालको काम गर्छ ।
उपयुक्त मोडालिटी
नेपालको सन्दर्भमा उपर्युक्त चारओटै मोडालिटीमा नेपाली कूटनीतिक नियोगहरूले बजार अनुसन्धानमा सहयोग गर्नुपर्ने देखिन्छ । ठूला निर्यातक कम्पनीहरूका लागि नेपाली कूटनीतिक नियोगहरूले उनका बजार अनुसन्धानकर्तालाई समन्वयको भूमिका खेल्ने गरी सक्रिय हुन आवश्यक देखिन्छ । नेपाली ठूला निर्यातकर्ताका अनुसन्धानकर्तालाई सम्बद्ध सरकारी निकायहरूमा सूचना तथा तथ्यांक संकलनका लागि अनुसन्धानकर्ताको पास उपलब्ध गराउने, निजीक्षेत्रहरूसँग समवन्य गरिदिने जस्ता कार्यमा कूटनीतिक नियोगहरूले आवश्यक सहयोग गर्नुपर्ने देखिन्छ ।
यस्तै बजार अनुसन्धानको दोस्रो ढाँचामा नेपाली निर्यातकर्ता र नेपाली कूटनीतिक नियोगहरूको संयुक्त तत्त्वावधानमा बजार अनुसन्धान गर्ने पद्धतिलाई पनि आवश्यकताअनुसार अपनाउनुपर्ने देखिन्छ । विशेष गरी मझौला खालका निर्यातकर्ता, उद्यमी व्यवसायीहरूका लागि यस ढाँचाको बजार अनुसन्धान आवश्यक हुन्छ । यसमा सम्बद्ध निर्यातकर्ता, उद्यमी व्यवसायीका अनुसन्धानकर्ता बजार अध्ययनमा संलग्न हुन्छन् । यस्ता अनुसन्धानकर्ताका लागि नेपाली कूटनीतिक नियोगहरूले आवास भोजनको व्यवस्था, आतेजाते हवाई टिकटको व्यवस्था तथा अन्य समन्वयकारी कार्यहरूमा सहयोग गर्नुपर्ने हुन्छ । यस्तो ढाँचाको अनुसन्धानमा सरकार र निजीक्षेत्रको लागत सहभागिता हुने र निजीक्षेत्रको पहलमा यस्ता कार्य सम्पन्न हुने हुँदा यस्ता कार्य बढी प्रभावकारी पनि हुने गर्छन् ।
कूटनीतिक नियोगका कार्य
यसैगरी नेपाली कूटनीतिक नियोगहरूले निजीक्षेत्रको अनुरोधमा आफू अवस्थित देशमा सम्बद्ध वस्तुहरूको बजारको अनुसन्धान गरी दिने पद्धतिमा पनि बजार अनुसन्धानको ढाँचा अपनाउनुपर्ने देखिन्छ । यस ढाँचाको अध्ययनमा सम्बद्ध निर्यातकर्ता र उत्पादनकर्ताले बजारको प्रारम्भिक जानकारीसहित नेपाली कूटनीतिक नियोगलाई अनुरोध गर्ने र नेपाली कूटनीतिक नियोगहरूले यस्तो बजारको अध्ययन गरिदिने परिपाटी पनि नेपालले समानान्तर रूपमा अंगीकार गर्नु आवश्यक हुन्छ ।
यसैगरी नेपाली कूटनीतिक नियोगहरूले आफू रहेको देशको समग्र बजार, आयातका भन्सार र गैरभन्सार प्रावधान, आयातकर्ता एवम् प्रतिस्पर्धीहरू जस्ता विषयमा आवधिक प्रतिवेदनहरू तयार गरी तालुक निकाय र प्रवर्द्धक निकायहरू एवम् निजीक्षेत्रका प्रतिनिधिमूलक संघसंस्थालाई नियमित रूपमा उपलब्ध गराउने परिपाटीको विकास गर्नुपर्छ । सारांशमा भन्नुपर्दा उपर्युक्त चारओटै ढाँचा अंगीकार गरी नेपाली कूटनीतिक नियोगहरूले आफू अवस्थित मुलुकको बजार अनुसन्धानलाई नियमित रूपमा सञ्चालन गर्नु आवश्यक देखिन्छ ।
कम्तीमा ३० ओटा आवासीय राजदूतावास, तीनओटा स्थायी नियोग एवम् सातओटा महावाणिज्य दूतावासलाई बजार अनुसन्धानको ढाँचाहरूमा परिचालन गर्न सकेको खण्डमा यी क्रियाकलापले नेपालको निर्यात क्षेत्रमा विद्यमान जडतालाई गतिशीलतामा रूपान्तरण गर्न अतुलनीय योगदान दिने निश्चित छ ।
यसप्रकार गरिने बजार अनुसन्धानको बजेट तर्जुमा र विनियोजन पनि सोहीअनुरूप हुनुपर्र्ने देखिन्छ । विशेष गरी परराष्ट्र मन्त्रालय र व्यापार प्रवद्र्धक निकायहरूमा बजार अनुसन्धान स्कीमअन्तर्गत एकमुष्ट रूपमा बजार अनुसन्धानका लागि मापनयोग्य उपलब्धिसहित बजेट तर्जुमा र विनियोजन हुन आवश्यक देखिन्छ ताकि चारैओटा ढाँचामा गरिने बजार अनुसन्धानलाई साधनस्रोतको अभाव नहोस् ।
नेपालको व्यापार सम्बन्ध
आर्थिक वर्ष २०८०/८१ मा विश्वका १७० देशसँग नेपालको द्विपक्षीय व्यापार सम्बन्ध स्थापित भएको देखिन्छ । यी देशमध्ये १६३ देशसँग नेपालको आयात व्यापार भएको देखिन्छ भने १३१ देशसँग नेपालको निर्यात सम्बन्ध भएको देखिन्छ । यी देशसँग नेपालको दौत्यसम्बन्ध स्थापित भएको छ र कुनै न कुनै प्रकारको प्रत्यक्ष अप्रत्यक्ष कूटनीति उपस्थिति रहेको छ ।
यी देशसँग निर्यातको वार्षिक लक्ष्य तोकी बजार अनुसन्धानमा नेपाली कूटनीतिक नियोगहरूलाई सक्रिय तुल्याउन आवश्यक छ । यस पद्धतिको अनुसरणसँगै विश्वभरि नेपाली वस्तुको निर्यातमा नयाँ गतिविधि आरम्भ हुने र नेपाली निर्यात जगत्मा नयाँ तरंग आउने निश्चित छ । एउटा कूटनीतिक नियोगलाई प्राप्त सफलता अर्को कूटनीतिक नियोगहरूका लागि उदाहरण, मार्गदर्शन र उत्प्रेरणा पनि प्राप्त हुन सक्छ ।
यस्तो बजार अनुसन्धान पहिलो चरणमा नेपाली कूटनीतिक नियोगहरू अवस्थित देशहरूलाई छनोट गर्न सकिन्छ । दोस्रो चरणमा कूटनीतिक नियोगको कार्यक्षेत्र भएका आर्थिक रूपले सम्पन्न देशहरूमा यसप्रकारका बजार अनुसन्धानका कार्यहरू सम्पन्न गर्न सकिन्छ ।
अनुसन्धानमा भएका काम
नेपालले पनि ढिलै भए पनि कूटनीतिक नियोगसँग सहकार्यको ढाँचामा बजार अनुसन्धान गर्ने नयाँ पहलकदमी लिएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले बजार अनुसन्धानमा कूटनीतिक नियोगसँगको सहकार्यमा नयाँ प्रयोग शुरू गरेको छ । यसपटक थाइल्यान्डस्थित नेपाली राजदूतावासको सहकार्यमा यस प्रकारको प्रयोगको शुभारम्भ गरिएको छ ।
यो नयाँ शुरुआतसँगै प्राथमिक तथ्यांक र लक्षितसमूह संवादमा आधारित बजार अनुसन्धानको चरणमा अध्ययनको प्रवेश भएको छ । यसप्रकारको अध्ययनको सफलतासँगै भविष्यमा बजार अनुसन्धानमा थाई नियोग ढाँचाले गति लिने निश्चित छ । थाइल्यान्डस्थित नेपाली राजदूत धनबहादुर ओलीको विशेष सक्रियता र चासो रहेको बजार अनुसन्धानको यस ढाँचाको सफलताले नै भविष्यमा नेपाली निर्यातयोग्य वस्तुहरूको बजार प्रवर्द्धनको नयाँ गोरेटो कोर्ने देखिन्छ ।
निष्कर्ष
कम्तीमा ३० ओटा आवासीय राजदूतावास, तीनओटा स्थायी नियोग एवम् सातओटा महावाणिज्य दूतावाशहरूलाई बजार अनुसन्धानको उपर्युक्त ढाँचामा परिचालन गर्न सकेको खण्डमा यी क्रियाकलापले नेपालको निर्यात क्षेत्रमा विद्यमान जडतालाई गतिशीलतामा रूपान्तरण गर्न अतुलनीय योगदान दिने निश्चित छ ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।