काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार शून्य दशमलव ४६ प्रतिशत घटेर बन्द भएको छ । यससँगै नेप्से २ हजार ६६९ दशमलव ७६ विन्दुमा झरेको हो । आजसँगै नेप्से लगातार पाँच कारोबार दिन घटेको छ । पाँच दिनमा नेप्से २ दशमलव ४५ प्रतिशत घटेको छ ।
'इन्ट्रा-डे'मा नेप्से २ हजार ६६६ दशमलव ६९ विन्दुसम्म झरेको थियो भने उच्च विन्दु २ हजार ६८५ दशमलव ८७ विन्दुसम्म पुगेको थियो । यस आधारमा बजार २ हजार ६६६ विन्दुमा टेवा पाएर फर्कन खोजेको देखिएको जानकार बताउँछन् । यसले अब नेप्से बढ्न सक्ने संकेत देखिएको उनीहरूको भनाइ छ ।
पछिल्ला १३ कारोबार दिनमा नेप्से एक दिनमात्रै बढेको छ भने बाँकी दिन घटेको छ । त्यसअघि बजार लगातार ९ कारोबार दिन बढेको थियो ।
बजार घट्दा कम्पनीहरूको शेयर मूल्य तल्लो विन्दुमा झरेकाे छ । यसकारण अब बजारमा खरीदकर्ता आकर्षित हुने शेयर जानकारहरू बताउँछन् ।
आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन रू. ५ अर्ब १४ करोड बराबरको कारोबार भएकोमा आज रू. ४ अर्ब ५६ करोड बराबरको कारोबार भएको हो ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ४३, फ्लोट इन्डेक्स शून्य दशमलव ४६ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४२ प्रतिशत घटेको छ ।
आज ३१२ धितोपत्रको ९५ लाख ९९ हजार ३४३ कित्ता शेयर ५५ हजार ४७६ पटक कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी दोल्ती पावर कम्पनीको शेयर मूल्य ७ दशमलव ५३ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७२८ पुगेको छ ।
बिहीवार दुई धितोपत्रको मूल्यमा नेगेटिभ सर्किट लागेको छ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लगोको हो । मिथिला लघुवित्तको शेयर मूल्य रू. १ हजार ७८२ र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको मूल्य रू. ८५३ दशमलव २० मा झरेको छ ।
आज सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा नेपाल रिइन्स्योरेन्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. २८ करोड २१ लाख बराबरको कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार २७७ दशमलव ९० कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा हिमालयन रिइन्स्योरेन्स छ । कम्पनीको रू. २३ करोड १२ लाख बराबरको भएको हो ।
आज कारोबारमा आएका १३ समूहगत सूचकमध्ये जीवन बीमा समूहको सूचक शून्य दशमलव ०३ प्रतिशत वृद्धि भएको छ भने बाँकी समूहको सूचक घटेको छ । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी १ दशमलव ३५ प्रतिशत घटेको छ ।