काठमाडौं । नेपाली धितोपत्रको दोस्रो बजारमा कुल बजार पूँजीकरण र कारोबार रकमले कीर्तिमान बनाएको छ । पूँजीकरण बढ्नुको अर्थ औसतमा सूचीकृत कम्पनीहरूको शेयर मूल्य बढ्नु हो ।
यसअघि सबैभन्दा धेरै बजार पूँजीकरण २०७८ भदौ २ गते भएको थियो । दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का अनुसार त्यस दिनको बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब ५० करोड रुपैयाँ थियो । उक्त कीर्तिमान आइतवार भंग भएको छ । आइतवार बजार पूँजीकरण ४५ खर्ब ४१ अर्ब रुपैयाँभन्दा माथि पुग्यो । आइतवार एकै दिन २५ अर्ब ७७ करोड रुपैयाँभन्दा धेरैको धितोपत्र किनबेच भएर कारोबार रकममा पनि विगतको कीर्तिमान तोडिएको छ । यसअघि साउन २२ गते सर्वाधिक कारोबार (२३ अर्ब ७१ करोड रुपैयाँ) को कीर्तिमान बनेको थियो ।
पछिल्लो करीब १ महीनायता लगातार बजार बढ्न थालेपछि एकपटक विक्री गरेर बसेकाहरूले समेत पुन: खरीद गर्न थालेका ब्रोकरहरू बताउँछन् । अघिल्लो महीना असार १६ गते बढ्न थालेको बजार कुनै कुनै दिन घटे पनि समग्रमा उकालो लागिरहेको छ । नयाँ सरकार गठन भएपछि बढ्न थालेको शेयरबजार नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याएपछि थप बढ्न गएको हो । चालू आर्थिक वर्ष (आव) को मौद्रिक नीतिमार्फत संस्थागत लगानीकर्ताले बैंक वित्तीय संस्थाबाट अधिकतम २० करोड रुपैयाँ मात्र शेयर धितो कर्जा लिन सक्ने प्रावधान हटाएपछि बजारमा उत्साह थपिएको हो । त्यसअघि बैंकको ब्याजदर घटेको महीनौंसम्म पनि बजार बढ्न सकेको थिएन । लामो समयदेखि वित्तीय प्रणालीमा तरलता प्रशस्त रहे पनि बजार बढ्नै सकेको थिएन ।
- कुल बजार पूँजीकरण ४५ खर्ब ४१ अर्ब रुपैयाँ नाघ्यो
- एकै दिन २५ अर्ब ७७ करोड रुपैयाँको धितोपत्र किनबेच
‘मौद्रिक नीतिमार्फत संस्थागत लगानीकर्ताको कर्जामा लगाइएको सीमा हटाएपछि संस्थागत लगानीकर्ताले लगानी बढाएकाले बजार बढ्न मद्दत पुगेको छ,’ लगानीकर्ता नवराज दाहालले भने । बजार बढ्न थालेसँगै नयाँ लगानीकर्ता धेरै भित्रिएकाले पनि कारोबार रकमले कीर्तिमान कायम गरेको दाहालको बुझाइ छ । बजार बढ्दै जादा लगानीकर्ता सचेत भएर लगानी गर्नुपर्ने उनको सुझाव छ । डेढ दशकदेखि लाभांश वितरण नगरेका कम्पनीको शेयर उच्च मूल्यमा विक्री भइरहँदा केही खेलाडीले बजार आफ्नो स्वार्थअनुकूल चलाउन खोजेको आशंका पनि गरिएको छ ।
व्यक्तिगत रूपमा कारोबार गर्दै आएका लगानीकर्ताले पनि अहिले संस्थागत रूपमा लगानी गर्न थालेको एक ब्रोकरले बताए । बजार बढ्न थालेसँगै धितोपत्र बजारको ज्ञान नै नभएका व्यक्ति पनि पैसा बोकेर आउँदा कारोबार रकमले कीर्तिमान बनाएको ती ब्रोकरको भनाइ छ । धितोपत्रको तथ्यांकीय मापक नेप्सेले आइतवार २८ सय बिन्दु पार गरेको छ । पछिल्लोपटक बजार बढ्न थालेयता नेप्सेले २८ सय बिन्दु पार गरे पनि बन्द चाहिँ २८ सय बिन्दुमुनि नै भएको थियो । आइतवार उक्त बिन्दु पार गरेर २ हजार ८६० दशमलव ८४ मा पुगेको हो । अहिले बैंक, वित्तीय संस्थाले सस्तो ब्याजदरमा शेयर धितो कर्जा दिइरहेका छन् । यसकारण पनि धेरैको शेयर किन्ने क्षमता बढेको छ । ब्याजदर सस्तो हुँदा कर्जा लिएर शेयर किन्नेहरू पनि बढेको अनुमान गरिएको छ ।
यस्तै, सूचीकृत कम्पनीहरूको समग्रमा नाफा बढेको रिपोर्ट सार्वजनिक भएको छ । अधिकांशको वित्तीय विवरण सार्वजनिक भइसकेकाले अब सूचीकृत कम्पनीहरूले गत आवको मुनाफाबाट धमाधम लाभांश प्रस्ताव गर्न थाल्नेछन् । यस कारण पनि बजारमा सकारात्मक प्रभाव परेको सरोकारवाला बताउँछन् ।