काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष (आव)को बजेटमा नयाँ चरणको आर्थिक सुधारका लागि आयोग गठन गर्ने प्रतिबद्धता आउनु सकारात्मक रहेको जनाएको छ । उद्योग वाणिज्य महासंघले शुक्रवार प्रेस विज्ञप्ति जारी गरी यस्तो बताएको हो ।
‘महासंघले २०८० असोज २५ गते बृहत् आर्थिक बहस आयोजना गरि पहिलोपटक विद्यमान आर्थिक सुधार एवं दीर्घकालीन विकासका लागि नयाँ चरणको आर्थिक सुधार कार्यक्रम लागू गर्न आयोग गठन गर्न माग प्रस्तुत गर्दै यसका लागि निरन्तर पैरवी गरिरहेको थियो । उक्त आयोगमा निजी क्षेत्रको समेत सहभागिता भई नीतिगत सुधार र स्थायित्वका लागि विशेष योजना बन्ने विश्वास महासंघले लिएको छ,’ प्रेस विज्ञप्तिमा उल्लेख छ ।
उद्योग वाणिज्य महासंघले बजेटले आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धनलाई पहिलो प्राथमिकतामा राखेको भन्दै त्यसको स्वागत गरेको छ । तर, उक्त प्राथमिकतालाई कार्यान्वयन गर्न बजेटमा थोरै विषयमात्रै समेटिएकाले गृहकार्य आवश्यक रहेको महासंघको भनाइ छ ।
‘महासंघले आर्थिक रुपान्तरणका लागि निजी क्षेत्र प्रवर्द्धन विशेष कार्यक्रम माग गरेको थियो । सोही अनुसार पहिलो प्राथमिकता पाएको छ । तर, उक्त प्राथमिकतालाई कार्यान्वयन गर्न बजेटमा थोरै विषयमात्रै समेटिएको हुँदा थप गृहकार्य आवश्यक देखिन्छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ ।
हेर्नुस् विज्ञप्ति