काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज (बिहीवार) सम्पन्न दोस्रो क्वालिफायरमा कर्णाली याक्समाथि २ विकेटको जित निकाल्दै जनकपुर प्रतियोगिताको फाइनलमा पुगेको हो ।
यससँगै जनकपुरले सुदूरपश्चिम रोयल्ससँग आगामी शनिवार प्रतियोगिताको फाइनल खेल्नेछ । यसअघि गत बुधवार भएको पहिलो क्वालिफायरमा जनकपुरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल पुगेको थियो ।
पहिलो क्वालिफायरमा पराजित जनकपुरले फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेता कर्णालीसँग भिडेको हो ।
आजको खेलमा ११९ रनको सामान्य लक्ष्य पाएको जनकपुरले १९ ओभरमा खेल जितेको हो ।
जितका लागि सामान्य लक्ष्य पाए पनि जनकपुरको शुरुआत राम्रो हुन सकेन । टिमको १६ रनको स्कोरमै शुरुआती ३ विकेट गुमायो । त्यसपछि थप २५ रन जोड्दा चौथो विकेट गुमाएको जनकपुरको इनिङ पाँचौं नम्बरमा ब्याटिङमा आएका जेम्स निशमले सम्हाले । उनले आक्रामक खेल्दै १७ बलमा ४५ रन बनाएपछि टिम जिततर्फ उन्मुख भएको थियो । उनी आउट हुँदा टिमले ६ विकेट गुमाएर ९४ रन जोडेको थियो । अर्थात् टिमलाई २७ बलमा २५ रन आवश्यक थियो । तर, थप २ रन जोड्दा सातौ विकेट झरेपछि जनकपुर फेरि दबाबमा देखियो ।
त्यसपछि ब्याटिङका लागि आए- शेर मल्ल । मल्ल र मयन यादवको जोडीले टिमलाई फेरि जिततर्फ अग्रसर गरायो । उनीहरूबीच १९ रनको साझेदारी भएपछि यादव रनआउट भए । र, त्यसपछि मल्लले लगातार २ बलमा २ रन जोडेर टिमलाई जित दिलाए ।
जनकपुरका लागि हर्ष ठाकेरले १७, मयन यादवले १४ र आकाश त्रिपाठीले १३ रनको योगदान दिए । जनकपुरका ४ जना ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् ।
बलिङतर्फ कर्णालीका विपिन शर्माले सर्वाधिक ३ विकेट लिए । यस्तै, जेशन मक्सुद, सोमपाल कामी र विलियम बोसिस्टोले १–१ विकेट हात पारे ।
त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११८ रन जोडेको थियो । टिमका लागि गुल्सन झाले सर्वाधिक २५ रन बनाउँदा देव खनालले २४ रन जोडेका थिए । यस्तै, विलियम बोसिस्टोले १४, जेशन मक्सुद र युनिस ठकुरीले १२–१२, चाडविक वाल्टनले ११ रनको योगदान दिएका थिए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
बलिङतर्फ जनकपुरका मोहम्मद मोहसिन, ललित राजवंशी र जेम्स निशमले २–२ र हर्ष ठाकेर र शेर मल्लले १–१ विकेट लिएका थिए ।