काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १० करोड २६ लाख नोक्सानीमा रहेको छ ।
गत आवको दोस्रो त्रैमाससम्ममा पनि कम्पनी रू. ४ लाख ८९ हजार नोक्सानीमा थियो । यस आधारमा कम्पनीको नोक्सानी बढेको छ । चालू आवमा कम्पनीको प्रशासनिक खर्च र ब्याज खर्चमा वृद्धि भएकाले नोक्सानी बढेको हो । गत आवमा कम्पनीको प्रशासनिक खर्च रू. २ लाख ७५ हजार रहेकोमा चालू आवमा बढेर रू. २९ लाख ३४ हजार पुगेको छ ।
त्यस्तै कम्पनीले रू. ११ करोड ४२ लाख ब्याज भुक्तानी गरेको छ । त्यसैगरी कम्पनीले चालू आवमा विद्युत् विक्रीबापत रू. १५ करोड ७६ लाख आम्दानी गरेको छ ।
कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८२ करोड रहेको छ भने जगेडा रू. १९ करोड ६५ लाख ऋणात्मक रहेको छ । कम्पनी नोक्सानी भएसँगै प्रतिशेयर आम्दानी रू.५ दशलमव ६१ ऋणात्मक रहेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ८९ दशमलव २५ रहेको छ ।