काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि निष्कासनमा ल्याएको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिनका लागि भोलि (पुस १७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो ।
जसअनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्कासनमा आएको छ । यो हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा कात्तिक २० गतेसम्म कायम शेयरधनीहरूले मात्र यो हकप्रद शेयर खरीदका लागि आवेदन दिन सकिने छन् ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ कायम हुनेछ । कम्पनीले आयोजना निर्माणका क्रममा लिइएको १ अर्ब ४० करोडको आंशिक बैंक ऋण, प्रवर्द्धकबाट लिएको ३० करोड ६४ लाख ४६ हजार ८६० रुपैयाँ ३९ पैसा बैंक ऋण र ठेकेदार तथा विक्रेताहरूको १२ करोड १५ लाख २३ हजार १३९ रुपैयाँ ६१ पैसा भुक्तानी गर्न हकप्रद शेयर निष्कासन गरेको हो ।
हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जुन रेटिङ्गले समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।
यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै कुमारी बैंकको जलविरे र जुगल शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । अनलाइन आवेदनका लागि मेरो शेयर अनलाइन पनि प्रयोग गर्न सकिनेछ ।
(*शीर्षक सच्याइएको)