ढाका । बङ्गलादेशका सेना प्रमुख जनरल वाकर–उज–जमानले प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको र देश सञ्चालनका लागि अन्तरिम सरकार गठन हुने बताएका छन् । शेख हसिनाको राजीनामापछि अपराह्न राष्ट्रका नाममा सम्बोधन गर्दै बङ्गलादेशका सेना प्रमुखले सो कुरा बताएका हुन् ।
एएफपीका अनुसार जनरलले भने, 'म पूर्ण जिम्मेवारी लिइरहेको छु । देशले धेरै दुःख भोगेको छ, अर्थतन्त्र प्रभावित भएको छ, धेरै मानिसको ज्यान गएको छ, यो हिंसा रोक्ने समय हो,' उनलाई उद्धृत गर्दै एएफपीले जनाएको छ, 'मलाई आशा छ कि मेरो भाषणपछि स्थिति सुधार हुनेछ । उनले अन्तरिम सरकार गठनका लागि राष्ट्रपतिसँग कुरा गर्ने र प्रमुख विपक्षी दल र नागरिक समाजका सदस्यसँग वार्ता गरेको तर हसिनाको अवामी लिगसँग वार्ता नगरेको बताए ।
'यदि स्थिति राम्रो भयो भने आपतकालीन अवस्थाको आवश्यकता पर्दैन,' उनले भने, 'नयाँ अधिकारीहरूले हप्तौंको घातक विरोध प्रदर्शनपछि सबै हत्याहरूलाई मुद्दा चलाउनेछन् । अब विद्यार्थीको काम शान्त रहनु र हामीलाई सहयोग गर्नु हो ।'
यता प्रधानमन्त्री शेख हसिना आजै भारतको दिल्ली पुगेको तथा भारतले आश्रय दिएको भन्दै खबर बाहिरिएका छन् ।
प्रधानमन्त्री हसिना सरकारी निवास छोडी ‘सुरक्षित स्थान’तर्फ प्रस्थान