काठमाडौँ । चिनियाँ विमान कम्पनीहरूलाई बोइङ विमान खरीदमा लगाएको प्रतिबन्ध चीनले हटाएको अमेरिकाको ब्लुमबर्ग न्युजलाई उद्धृत गर्दै अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन । गत शनिवार र आइतवार जेनेभामा भएको अमेरिका-चीन वार्तापछि चीनले बोइङ खरीदमा लगाएको प्रतिबन्ध हटाएको बेलायती समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।
चिनियाँ सरकारी अधिकारीहरूले चीनका विमान कम्पनीहरू र सरकारी निकायहरूलाई विमान उत्पादक अमेरिकी कम्पनी बोइङसँग पहिले गरेका खरीद सम्झौताअनुसार बोइङ विमान ल्याए हुने बताएको ब्लुमबर्गलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । गएको महीना बोइङले एउटा चिनियाँ विमान कम्पनीलाई हस्तान्तरण गर्न लागेको ३ वटा विमान अमेरिका नै फिर्ता लगेको थियो ।
अमेरिका-चीनबीच भइरहेको व्यापार विवादका कारण आफूसँग खरीद गरेका विमान लिन चिनियाँ विमान कम्पनीहरूले अस्विकार गरेको बोइङले गत महिना जनाएको थियो । तर बोइङले विमान आपूर्तिमा लागेको प्रतिबन्ध हटेकोबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन । चीनको विदेश मन्त्रालयले पनि यसबारे तत्काल कुनै प्रतिक्रिया नदिएको रोयटर्सले जनाएको छ ।
बोइङका प्रमुख कार्यकारी अधिकृत केली अर्टबर्गले यस वर्ष करीब ५० वटा विमान चिनियाँ विमान कम्पनीहरूलाई आपूर्ति गर्ने कम्पनीको योजना रहेको गत महीना बताएका थिए ।