काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ८ करोड ४४ लाखभन्दा बढी वित्तीय आम्दानी गरेको छ । गत वर्षको यस अवधिसम्म रू. ७ करोड ३५ लाखभन्दा बढी वित्तीय आम्दानी गरेको कम्पनीले यस वर्ष करीब १५ प्रतिशत बढी वित्तीय आम्दानी गरेको हो ।
वित्तीय खर्च भने गत वर्ष रू. ९३ लाखभन्दा बढी रहेकोमा यस वर्ष रू. ९६ लाखभन्दा बढी भएको छ । वित्तीय आम्दानी बढेसँगै यस वर्ष कम्पनीको खुद नाफा गत वर्षको तुलनामा करीब १३ प्रतिशत बढी भएको छ । गत वर्ष रू. २३ करोड ७५ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. २६ करोड ८१ लाखभन्दा बढी खुद नाफा गरेको हो । विद्युत् विक्रीबाट कम्पनीले यस वर्ष करीब २ प्रतिशत कम आम्दानी गरेको छ ।
गत वर्ष रू. ५९ करोड ४८ लाखभन्दा बढीको विद्युत् विक्री गरेको कम्पनीले यस वर्ष रू. ५८ करोड ३१ लाखभन्दा बढीको मात्र विद्युत् विक्री गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ४० करोड ९० लाख ६५ हजार छ । कम्पनीको जगेडा कोष रकम भने रू. ३ अर्ब ६० करोडभन्दा बढी कायम छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ७ दशमलव ८७ र प्रतिशेयर नेटवर्थ रू. २०५ दशमलव ६५ छ ।