काठमाडौं। दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी सार्वजनिक यातायातको अग्रिम टिकट चाँडै खुलाउने तयारी भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिवार सरोकारवालाहरूबीच भएको बैठकले अग्रिम टिकट बुकिङ यथाशीघ्र खुलाउने निर्णय गरेको हो ।
यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट बुकिङ खुला गर्ने, यात्रा सुरक्षित र सहज बनाउन यान्त्रिक परीक्षण गरी सम्बन्धित बसपार्कबाट गन्तव्य स्थलतर्फ जानेगरी व्यवस्थित गर्ने निर्णय गरेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बर्खाले बिगारेका सडकहरू समयमै मर्मत सम्भार नहुँदा चाडपर्व मनाउन उपत्यका बाहिर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुलाउन ढिलाइ भइरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बताए । उनका अनुसार काठमाडौं उपत्यकाबाट बाहिरने तथा अन्य स्थानका सडक पनि अधिकांश स्थानमा खाल्डाखुल्डी परेको, बिग्रेको र भत्केको अवस्थामा छन् । यस्तो हुँदा यात्रा जोखिममा पर्ने सम्भावना भएकाले टिकट खुलाउन यातायात व्यवसायीहरू पनि अलमलमा छन् ।
इन्धनको मूल्य पाँच प्रतिशतभन्दा बढी घटबढ हुँदा गरिने गरिएको वैज्ञानिक भाडा समायोजन विगत एक वर्षदेखि तथा इन्धनको मूल्य बाहेक अन्य कारणले गर्नुपर्ने समायोजन पनि तीन वर्षदेखि नभएको यातायात व्यवसायीले बताएका छन् । आवश्यक तयारी गरी छठ पर्वपछिको पहिलो हप्तामा उक्त भाडादर समायोजन गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिइएको छ ।
यसैबीच, मन्त्रालयले बर्खाले बिगारेका सबै सडक घटस्थापनाभन्दा अघि नै मर्मत सम्भार गर्न सडक विभागलाई निर्देशन दिएको छ । विभाग अन्तर्गतका सबै सडक घटस्थापनाभन्दा अगाडि नै मर्मत सम्भार गरी चाडपर्वको समयमा सवारी आवागमन सहज बनाउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्देशन दिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
दशैं, तिहार तथा छठपर्वलाई लक्षित गरी सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउन मन्त्रालयमा भएको छलफलपछि मन्त्री दाहालले उक्त निर्देशन दिएका हुन् । बिपी राजमार्गमा सडक सुरक्षाका लागि पूर्व निर्धारित प्रकारका सवारीसाधन मात्र चलाउन एवं रात्रि सवारी सञ्चालन नगर्ने निर्णय प्रभावकारी रूपमा लागू गर्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई आग्रह गरिने भएको छ ।