काठमाडौं । सहकारीका बचतकर्ताको अर्बौं रकम सञ्चारमाध्यमदेखि अपार्टमेन्टसम्म लगानी भएको पाइएको छ । सहकारीका सञ्चालकहरूले मनपरी रूपमा निजी व्यावसायिक कम्पनी, टेलिभिजन, एफएम रेडियो, रियल स्टेट (प्लटिङ, हाउजिङ, अपार्टमेन्ट, रिसोर्ट) कम्पनी, इन्भेस्टमेन्ट कम्पनी, यातायात (बस, ट्रक, कार, आदि) कम्पनी, हवाई सेवा कम्पनी, जलविद्युत् परियोजना, मनी ट्रान्सफर कम्पनी, कन्सल्टेन्सी कम्पनी, विद्यालय, क्याम्पस, अस्पताल, पोलिक्लिनिक, नर्सिङ होम, सिनेमा कम्पनी र समानान्तर सहकारीमा लगानी गरेको हालै सार्वजनिक भएको सहकारी छानबिन गर्न गठित संसदीय समितिको प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदनअनुसार सञ्चालकको वा तिनका आफन्तको नाममा रहेका घरजग्गा पटकपटक संस्थाको नाममा अपारदर्शी ढंगले खरीद वा विक्री गर्दै त्यसबाट निजी लाभ लिने गरेको पाइएको छ । कार्यकारी सञ्चालकहरूले संस्थाको बचत रकम चरम दुरुपयोग गर्दै संस्थाको नाममा गाडी खरीद गर्ने र निजी कामका लागि नियमित रूपमा उपयोग गर्ने, गाडीमा इन्धन, मर्मत तथा चालक खर्च संस्थाबाट बेहोर्नेदेखि अवैध रूपमा लगानी गरेको पनि समितिले भेटेको छ । सहकारीका कार्यकारी सञ्चालकहरूले संस्थाबाट गरिएको ऋण लगानीबापतको अचल सम्पत्ति धितो संस्थाको नाममा दृष्टिबन्धक पारित गर्नुको सट्टा आफ्नो नाममा पास गराएर राख्ने गरेको पनि भेटिएको छ । संस्थाबाट नियमित रूपमा ठूलो रकम तलब भत्ता, व्यापार प्रवर्द्धन, स्टेसनरी, मोबाइल, खाजा, औषधि उपचार शीर्षकमा र विभिन्न इन्सेन्टिभ्स लिएको पाइएको छ । तर, कार्यकारी सञ्चालकहरू संस्थामा नियमित हाजिर हुने नगरेको पनि प्रतिवेदनमा उल्लेख छ ।
सञ्चालकहरूले संस्थाबाट लिएको ऋणको सेवाशुल्क तथा ब्याज अन्य ऋणी सदस्यको भन्दा न्यून रहने गरी विभेदपूर्ण निर्णय गरेको, कार्यकारी सञ्चालक वा तिनका चिनेजानेका र नातागोताका व्यक्तिलाई ठूलो रकमको ऋण समेत परियोजनाविनै र विनाधितो प्रदान गरेको, कतिपय सहकारीमा नक्कली ऋणीको नाममा ऋण प्रवाह गरी उक्त रकम सञ्चालकले उपयोग गरेको समितिको प्रतिवेदनमा उल्लेख छ ।
कतिपय सञ्चालकलाई निब्र्याजी ऋण लगानीसमेत गरेको पाइएको छ । कतिपय संस्थाका सञ्चालक उक्त संस्थाको सदस्य नरहेको तथा तोकिएको कार्यक्षेत्रबाहिरका व्यक्ति रहेको पाइएको, केही संस्थामा एकबाट अर्को बैठकमा पुग्दा सञ्चालक समितिका सदस्यको नाम र संख्यासमेत फरक पर्ने गरेको पाइएको छ ।
एउटै व्यक्ति एउटै समयमा एकभन्दा बढी सहकारीको कार्यकारी अध्यक्ष तथा सञ्चालक भई विभिन्न शीर्षकमा मौद्रिक तथा गैरमौद्रिक सुविधा लिने गरेको पाइएको प्रतिवेदनमा खुलासा गरिएको छ । छानबिन समितिले ४० सहकारीको करीब ८८ अर्ब रुपैयाँ अपचलन भएको निष्कर्ष निकालेको छ । २२ ओटा समस्याग्रस्त र सार्वजनिक रूपमा प्रश्न उठेका १८ गरी ४० सहकारीमा ७१ अर्ब ३० करोडको बचत रकमसहित ८७ अर्ब ८९ करोड दायित्व देखिन्छ । तर, ऋण र उठाउनुपर्ने ब्याज, अन्यत्र गरिएको लगानी र गैरबैंकिङ सम्पत्तिको उठ्ने आधार भने कमजोर देखिएको प्रतिवेदनमा उल्लेख छ ।
समितिको प्रतिवेदनमा पछिल्लो तथ्यांक उद्धृत गर्दै देशभरिमा ३१ हजार ४५० ओटा सहकारी संस्था दर्ता भएको उल्लेख छ । तिनमा ७३ लाख ८१ हजार २१८ जना आबद्ध छन् । ९४ अर्ब १५ करोड शेयर पूँजी लगानी गरिएको सहकारीमा ४ खर्ब ७८ अर्ब ३ करोड रुपैयाँ बचत परिचालन र ४ खर्ब २६ अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी भएको सहकारी ठगी विशेष छानबिन संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ ।
देशभर समस्याग्रस्त घोषित र संकटपूर्ण अवस्थामा चलिरहेका, सञ्चालनमा रहन नसकी बन्द रहेका अधिकांश सहकारी संस्था सीमित ऋणी सञ्चालकको नियन्त्रणमा रहेको प्रतिवेदनमा उल्लेख छ ।