काठमाडौं। चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा विकास खर्च निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा पूँजीगत खर्च करीब १० प्रतिशत मात्र छ ।
चालू आर्थिक वर्षका लागि सरकारले कुल रू. १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट ल्याएको थियो । कात्तिक मसान्तसम्ममा २२ दशमलव ३१ प्रतिशत अर्थात् रू. चार खर्ब १५ अर्ब दुई करोड खर्च भएको छ । सरकारको चालूतर्फको बजेट खर्च वार्षिक लक्ष्यको २५ दशमलव ६५ प्रतिशत छ । चालू खर्च शीर्षकमा रू. ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख बजेट विनियोजन भएकोमा कात्तिक मसान्तसम्ममा रू. दुई खर्ब ९२ अर्ब ५२ करोड ६७ लाख बराबर खर्च भएको छ ।
पूँजीगत शीर्षकका रू. तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बराबर विनियोजन भएकोमा ९ दशमलव आठ प्रतिशत अर्थात् रू. ३४ अर्ब ५३ करोड १० लाख बराबर खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा चालू आर्थिक वर्षका लागि रू. तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख बराबर विनियोजन भएकोमा पहिलो चौमासिक अवधिमा रू. ८७ अर्ब ९६ करोड २४ लाख बराबर खर्च भएको छ ।
कात्तिक मसान्तसम्मको राजस्व संकलन वार्षिक लक्ष्यको २२ दशमलव ३६ प्रतिशत बराबर छ । चालू आर्थिक वर्षका लागि सरकारले कुल रू. १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा हालसम्म रू. तीन खर्ब २९ अर्ब एक करोड ५५ लाख बराबर खर्च भएको छ । सरकारले चालू आर्थिक वर्षका लागि रू. ५२ अर्ब ३२ करोड ६५ लाख बराबर वैदेशिक अनुदान उठाउने लक्ष्य राखेकोमा हालसम्मको प्रगति शून्य छ ।