काठमाडौं । पश्मिना वस्तु उत्पादन र निर्यात गर्दै आएका व्यवसायीले मुलुकभित्रै कच्चा पदार्थ उत्पादनको प्रयास थालेका छन् । यसका लागि व्यवसायीले ललितपुरमा ‘नेपाल फाइबर प्रोसेसिङ प्रालि’ नामक कम्पनी स्थापना गरेर यो वर्षदेखि कच्चा पदार्थ संकलन र प्रशोधनको कामलाई तीव्रता दिन थालेका हुन् ।
पश्मिना नेपालको महत्त्वपूर्ण निर्यात वस्तु हो । तर, यसका लागि सबैजसो कच्चा पदार्थ विदेशबाट आयात हुँदै आएको छ । यो अवस्थाको अन्त्य गर्ने र स्वदेशमै पश्मिनाको आपूर्ति शृंखला बलियो गर्ने उद्देश्यले नेपाल फाइबर प्रोसेसिङ प्रालि स्थापना गरिएको हो ।
नेपाल पश्मिना उद्योग संघमा आबद्ध व्यवसायी र मुस्ताङका दुई जना किसानसमेतको लगानी हुने गरी प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । नेपालको हिमाली भेगमा च्यांग्राका भुवा संकलन केन्द्र बनाउनेदेखि त्यसलाई प्रशोधन गर्नका लागि पूर्वाधार बनाउन पश्मिना उद्यमीहरूले सामूहिक लगानी गरेका हुन् ।
नेपाल फाइबर प्रोसेसिङ प्रालिका समेत अध्यक्ष रहेका संघका अध्यक्ष धनप्रसाद लामिछानेले पश्मिनाको कच्चा पदार्थमा नेपाल परनिर्भर रहेको र आत्मनिर्भर हुनका लागि व्यवसायीले पहिलोपटक यस्तो कदम चालेको बताए । उनका अनुसार नेपालबाट निर्यात हुने प्रमुख वस्तुमा पश्मिना पर्ने भए पनि झन्डै शतप्रतिशत कच्चा पदार्थ आयात हुन्छ । ‘अर्काेतर्फ नेपाल सन् २०२६ बाट अतिकम विकसित देशबाट स्तरोन्नति हुँदै छ ।
- ललितपुरमा ४ रोपनी जग्गामा फाइबर प्रशोधन स्थापना
- ५ करोडको लगानी, मुस्ताङ, डोल्पालगायतमा संकलन केन्द्र
त्यसपछि नेपालले अहिले जस्तो भन्सार छूटजस्ता सुविधा पाउने छैन,’ उनले भने, ‘स्तरोन्नति भएपछि नेपालले वस्तुमा नेपाली तत्त्वको मात्रा (भ्यालु एडिसन) बढाउनुपर्ने हुन्छ ।’ संघका अनुसार नेपालमा करीब ४०० टन पश्मिनाको तयारी भुवाको माग छ । तर, त्यसमध्ये २ प्रतिशत मात्रै नेपालको कच्चा पदार्थले पूर्ति गर्छ । पश्मिनाको आवश्यक कच्चा पदार्थ मंगोलिया, चीन, अस्ट्रेलियाबाट धागो ल्याएर नेपाली पश्मिना उद्योग चलेका छन् ।
स्वदेशमै कच्चा पदार्थ उत्पादन गर्ने सरकारी लक्ष्यअनुसार चल्ने हो भने आगामी ७/८ वर्षमा अहिलेको आयात पूर्ण रूपमा प्रतिस्थापन गर्न सकिने लामिछानेको दाबी छ ।
ललितपुरको हरिसिद्धिको ४ रोपनी जग्गामा यो उद्योग स्थापना भएको छ । नेपालमा पहिलोपटक यस्तो उद्योग स्थापना गरिएको दाबी गर्दै लामिछानेले भने, ‘मुलुकको हिमाली भेग, पाटन, चौर, खर्कमा पालिएका च्यांग्राको भुवा चाइना, तिब्बततिर निकासी हुन्थे, अब भने हामीले आफै संकलन गर्छौं । संकलन भएको भुवा प्रशोधन गरेर कच्चा पदार्थ उत्पादनका लागि नै उद्योग स्थापना गरिएको हो ।’
अहिले व्यवसायीले भुवा संकलनका लागि मुस्ताङको लोमान्थाङमा संकलन केन्द्र बनाइसकेका छन् । यो संकलन केन्द्र बनाउन ३२ लाख रुपैयाँ खर्चिएको छ । यसका साथै डोल्पा र मुगुमा संकलन केन्द्र बनाउने योजना रहेको बताइएको छ । यस्तै, हुम्ला र जुम्लामा पनि जाने योजना छ । त्यहाँका सम्बद्ध किसानलाई प्रशिक्षण दिने, अझ धेरै च्यांग्रा पाल्न लगाउने र पाल्ने तरीका सिकाउने र अन्तत: पश्मिनाको कच्चा पदार्थमा मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको उनको भनाइ छ ।
यस्तै संघका आबद्ध व्यवसायीले उक्त उद्योगमा ५ करोड रुपैयाँ लगानी गरेका छन् । यसका साथै प्रशोधनका लागि आवश्यक नयाँ प्रविधिका मेशिन तथा उपकरण खरीद गर्न र च्यांग्राको भुवा संकलन केन्द्र स्थापना गर्न सरकार र विश्व बैंकले १–१ करोड रुपैयाँ सहयोग गरेको इन्टरनेशनल ट्रेड सेन्टर (आईटीसी)ले बताएको छ ।
यो विश्व व्यापार संगठन र संयुक्त राष्ट्रसंघबाट म्यान्डेट प्राप्त साना तथा मझौला उद्योगको विकासको लागि सहयोग पुर्याउने संस्था हो । यसले किसानलाई कसरी च्यांग्राको ऊन उत्पादन गर्ने, ग्रेडिङ गर्ने र भण्डारण गर्ने भनी सिकाएको थियो । यो अभियानमा मुस्ताङ र डोल्पाका ३०२ जना किसान सूचीकृत छन् । मुस्ताङका दुई जना किसान प्रशोधन कम्पनीमा पनि शेयरहोल्डर छन् ।
‘पोषणलगायत तरीका मिलाउने हो भने एउटा च्यांग्राबाट २/३ वर्षमै उत्पादन लिन सकिनेलगायत विषयमा आईटीसीको प्राविधिक टोलीले प्रशिक्षण दिएको थियो,’ लामिछानेले भने, ‘नेपालको पश्मिनाको कच्चा पदार्थको गुणस्तर परीक्षण गर्न फरक–फरक ठाउँ उचाइका १६० फार्मबाट ८८० नमूना संकलन गरिएको थियो ।’ यस्तो नमूना मंगोलियाको प्रयोगशालामा पठाइएको थियो भने बाँकी ८० ओटा नमूना नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएको छ । यस्ता नमूना मुस्ताङ र डोल्पा जिल्लामा संकलन गरिएको थियो ।
मुस्ताङमा च्यांग्रापालन गरेकामध्ये ३० प्रतिशतले भुवा निकाल्ने गरेका छन् । त्यहाँका किसानलाई प्रोत्साहन गरेर यो परिमाणलाई थप बढाउन खोजिएको हो । लामिछानेका अनुसार मुस्ताङबाट अहिले २ टन भुवा आइरहेको छ । डोल्पामा ५/६ टन छ ।
अहिले ललितपुरको प्रशोधन उद्योगमा मुस्ताङ र डोल्पाबाट यस्तो भुवा आउने गरेको छ । यो प्रशोधन केन्द्र स्थापना भने व्यवसायीले २०७८ मा गरेका थिए । यो वर्षदेखि मात्रै मेशिन राखेर उत्पादन बढाउन लागिएको हो । नेपालबाट वर्षेनि ३ अर्ब रुपैयाँभन्दा बढीको पश्मिना निर्यात हुने गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब २ करोड रुपैयाँको पश्मिना निर्यात भएको राष्ट्र बैंकको तथ्यांक छ ।