काठमाडौं । काठमाडौंको नागढुंगा हुँदै देशको विभिन्न भागमा यात्रा गर्ने वा उक्त बाटो हुँदै काठमाडौं छिर्ने मानिशहरू बिहीवारदेखि लामो समय थानकोटको उकालोमा जाममा बस्नुपर्ने स्थिति छ । यो स्थिति कम्तीमा १ हप्ता रहने सम्भावना छ । नागढुंगा शुरूङमार्ग प्रयोग गर्ने
सवारीसाधनबाट टोल उठाउने संरचना बनाउन सडक विभागले हालको सडकछेउको भित्ता काट्न थाल्दा उक्त क्षेत्रमा जाम हुने गरेको हो । नागढुंगा शुरूङमार्ग आयोजनाले बिहीवार सूचना जारी गर्दै मङ्सिर ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म नागढुंगा सडक आंशिक रूपमा बन्द हुने जानकारी दिएको थियो ।
‘टोल बुथ निर्माण गर्न हाल ठाउँ सानो भएकाले भिरालो भाग काटेर ठाउँ बढाउन खोजिएको छ,’ नागढुंगा शुरूङमार्ग आयोजनाका वरिष्ठ डिभिजनल इन्जिनीयर सञ्जय पन्थीले भने, ‘साथसाथै यो पहिरो जाने क्षेत्र भएकाले टोल बुथ क्षेत्रलाई संरक्षण गर्ने संरचना पनि बनाउन खोजिएको हो ।’ सिस्ने खोलाछेउमा उक्त संरचना बनाउन खोजिएको हो ।
भिरालो काट्ने क्रममा यस अवधिभित्र कुनै पनि समयमा २० मिनेट दुईतर्फ नै सडक बन्द हुने भएको छ । साथै बिहान ११ बजेदेखि दिउँसो २ बजेको बीचमा २०/२० मिनेटको अवधिमा नागढुंगा सडक खोल्ने/बन्द गरिने उल्लेख गरिएको छ । आयोजनाले बन्द हुने अवधिमा वैकल्पिक सडक प्रयोग गर्न समेत आग्रह गरेको छ ।
शुरूङभित्रको ढलानको काम अबको ३ महीनाभित्र सम्पन्न गरिने उनले जानकारी दिए । सन् २०२५ को अक्टोबरसम्ममा आयोजनाको काम सम्पन्न गर्ने समय भए पनि त्यसअघि नै सन् २०२५ को जुन/जुलाईमै सम्पन्न गर्ने योजना रहेको उनको भनाइ छ । आयोजनाको पूर्वी पोर्टलतर्फको फ्लाईओभरको काम पनि सम्पन्न हुने चरणमा रहेको भन्दै उनले अब शुरूङमार्ग सञ्चालन, टोल शुल्क कति संकलन गर्ने र शुरूङमार्ग सञ्चालन कसले गर्ने भन्ने विषयमा गृहकार्य गरिरहेको बताए । टोल कति संकलन गर्ने, कसरी सञ्चालन गर्ने र त्यसको सार्वजनिक खरीद तथा बोलपत्र आह्वान गर्नेसम्मका कामहरू सकेर एकैपटक प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिने उनको भनाइ छ । सबै एकमुष्ट रूपमै आयोजना सञ्चालनका लागि प्रस्ताव पेश गरिने र त्यसका लागि करीब ५/६ महीना लाग्ने उनको भनाइ छ ।
मुलुकको पहिलो सडक शुरूङमार्ग सञ्चालनका लागि सरकारले ठेक्का प्रक्रियाबाट विदेशी कम्पनी ल्याउने गरी गृहकार्य शुरू गरेको हो । नेपालमा सडक विभाग र निजीक्षेत्रसँग समेत सडक शुरूङमार्ग सञ्चालन गरेको अनुभव नभएको भन्दै विभागले शुरूङ सञ्चालन र मर्मतका लागि विदेशी कम्पनीलाई जिम्मा दिन खोजेको छ । यसका लागि आवश्यक प्रक्रिया पूरा गरेर प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिनेछ ।
शुरूङमार्ग सम्पन्न गरेसँगै यसका सुरक्षाका विषय, ट्राफिक व्यवस्थापन, अग्नि नियन्त्रण, शुरूङमार्ग प्रयोगकर्ताबाट उठाउने टोल (शुल्क), मर्मतसम्भारजस्ता कुराहरू एकैपटक व्यवस्थापन गर्ने र प्रस्ताव लगिने उनले जानकारी दिए । यो शुरूङमार्ग जापानी कम्पनी हाज्मा/आन्दो कर्पाेरेशनले बनाउँदै छ ।
४२ महीनामा सम्पन्न गर्ने गरी यो आयोजना २०७६ कात्तिक ४ गते शिलान्यास भएको थियो । उक्त शुरूङमार्गको मुख्य शुरूङ २०८१ वैशाख ३ गते छिचोलिएको थियो । २ दशमलव ५ किलोमीटरको उक्त शुरूङ सन् २०२३ को अप्रिलमा सम्पन्न गर्ने गरी जापानी कम्पनी हाज्मा/आन्दोसँग सम्झौता भएको थियो । पछि म्याद थपिएर २०२५ अक्टोबरसम्म पुगेको छ । नेपाल सरकार र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)बीच यो शुरूङमार्ग बनाउन सन् २०१६ मा सम्झौता भएको थियो ।