काठमाडौं। युरोपियन युनियन (इयु)ले डिफरेस्टेसन फ्री प्रडक्ट रेगुलेसन (वन विनाशरहित उत्पादनसम्बन्धी नियम) लागू गर्ने भएको छ । इयुले ल्याउन लागेको नयाँ नियामकीय प्रावधान युरोपेली मुलुक लक्षित नेपालका उत्पादक र निर्यातकले पनि पालना गर्नुपर्ने भएको छ ।
उक्त नियमले तोकेका आवश्यकताबारे कफी मूल्य क्षेत्रका सरकारी निकाय र निजीक्षेत्रका सरोकारवालाहरूबीच बिहीवार कार्यशाला गोष्ठी आयोजना गरिएको छ । इयुको नयाँ नियमबारे जानकारी गराउन र यसलाई पालना गर्ने क्षमता बढाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत अन्तरराष्ट्रिय व्यापार केन्द्रद्वारा कार्यान्वयन भइरहेको इयु व्यापार तथा लगानी कार्यक्रमले कार्यशालाको आयोजना गरेको हो । नयाँ नियमहरू, पशुपालन, कोको, कफी, पाम तेल, रबर, सोया, काठ तथा फर्निचर, चकलेट जस्ता उत्पादनमा लागू हुनेछन् ।
नेपालका लागि इयु डेलिगेजसनका वरिष्ठ कार्यक्रम प्रबन्धक मिम हमालले नेपाल सन् २०२६ मा अतिकम विकसित देशको स्तरबाट स्तरोन्नति हुन लागेका बेला वन विनाशरहित उत्पादनको निर्यात प्रवर्द्धनका लागि इयुले जारी गर्न लागेको नयाँ नियमको पालना गर्नु महत्त्वपूर्ण रहेको बताए । उक्त नियमलाई अवसरको रूपमा लिन व्यवसायीलाई उनले आग्रह गरे ।
नेपाल कफी उत्पादक संघका महासचिव सन्तोष पोखरेलले कफीका सरोकारवालालाई ईयूका नयाँ नियमबारे जानकारी गराई तिनको अनुपालनका लागि तयार बनाउन सचेतना व्यापक बनाउनुपर्नेमा जोड दिए ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र नेपाल कफी महासंघको सहकार्य रहेको उक्त कार्यशालामा अन्तरराष्ट्रिय व्यापार केन्द्रकी मिकाइला समररले इयुले जारी गर्न लागेको नयाँ नियमका मुख्य प्रावधान र यसबाट नेपालका साना व्यवसायलाई आइपर्न सक्ने चुनौती एवं गर्नुपर्ने तयारीबारे चर्चा गरेकी थिइन् । सो अवसरमा सरोकारवालाले नयाँ नियम लागू भएपछिका चुनौती सम्बोधन र प्राप्त हुने अवसरको सदुपयोगका लागि सरकार र निजीक्षेत्रबीच बलियो सहकार्यको आवश्यकतामा उनले जोड दिइन् । कार्यशालामा सरकारी निकाय र निजीक्षेत्रका गरी कफी मूल्य शृंखलाका ३५ जना सरोकारवालाको सहभागिता थियो ।