काठमाडौं । स्वदेशमै मागअनुसार कफी उत्पादन नहुँदा विदेशी कफीको आयात बढ्दो क्रममा रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बताएको छ । देशमा बढ्दो कफी संस्कृतिका कारण यसको खपत बढ्दै गएको तर स्वदेशमा सीमित ठाउँमा सीमित परिमाणमा मात्र उत्पादन हुने गरेकाले यसको आयात बढेको बोर्डका अधिकारीहरूको भनाइ छ । भन्सार विभागको तथ्यांकअनुसार विगत ३ वर्षमा कफी आयात ७३ प्रतिशतले बढेको छ भने निर्यातमा सामान्य वृद्धि देखिएको छ ।
आर्थिक वर्ष (आव) २०७८/७९ मा २४ करोड २६ लाख रुपैयाँको कफी आयात भएकोमा गत आव २०८०/८१ मा आयात बढेर ४१ करोड ९८ लाख रुपैयाँ पुगेको देखिन्छ ।
उक्त अवधिमा नेपाली कफी निर्यात १२ करोड ७५ लाख रुपैयाँबाट बढेर १४ करोड ९२ लाख रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांकले देखाउँछ । स्वदेशी बजारमा मागअनुसार स्वदेशी उत्पादन नै आपूर्ति गर्न नसक्दा ठूलो परिमाणमा कफी आयात गर्नुपरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनालले बताए । ‘अहिले कफीको आन्तरिक खपत बढ्दो छ । कफी पिउने संस्कृति बढे पनि उत्पादन बढ्न नसक्दा आयात बढेको हो,’ उनले भने, ‘उत्पादन नबढ्नुमा कफीका नयाँ प्रजातिमा अनुसन्धान नहुनु पनि कारणको रूपमा रहेको छ । साथै व्यावसायिक कफी रोपणमा लाग्न नसक्दा पनि उत्पादन वृद्धि हुन सकेको छैन ।’
बोर्डका अनुसार आव २०७८/७९ मा नेपालमा ३ हजार ३४६ हेक्टर जमीनमा कफीखेती भएकोमा आव २०८०/८१ मा यसको क्षेत्रफल बढेर ४ हजार ३०९ हेक्टर पुगेको छ । आव २०८०/८१ मा नेपालभर ५०१ दशमलव ३ मेट्रिक टन ग्रीनविन कफी उत्पादन भएको छ ।
उक्त वर्ष ६५४ हेक्टरमा नयाँ कफी रोपण भएको तथ्यांक छ । नेपालको कुल उत्पादनको झन्डै १७ प्रतिशत कफी विदेश निर्यात भएको बोर्डको तथ्यांक छ । बोर्डको अध्ययनअनुसार आन्तरिक बजारमा प्रत्येक वर्ष न्यूनतम २ हजार २०० मेट्रिक टनभन्दा बढी कफी खपत भइरहेको देखिएको छ ।
किसानलाई व्यावसायिक कफी उत्पादनतर्फ आकर्षित गर्दै उत्पादन वृद्धि गर्न बोर्डले चालू आवमा मध्यपहाडी लोकमार्ग आसपास क्षेत्रलाई केन्द्रमा राख्दै १ करोड रुपैयाँको लगानीमा ६१० रोपनी जमीनमा ६१ ओटा कफीका नयाँ बगैंचा निर्माणको योजना ल्याएको खनालले बताए ।
उनका अनुसार यो साना किसान लक्षित योजना हो । प्रतिकिसान १० रोपनीसम्मका लागि अनुदान दिने बोर्डको योजना छ । साथै, बोर्डले विगत ५ वर्षदेखि ५० रोपनी जमीनमा कफीखेतीका लागि अनुदानसहितको योजना अघि बढाएको छ ।
यसबाहेक सरकारले कफी उत्पादन बढाउन यसको खेती हुने जमीनको क्षेत्र विस्तार गर्दै असल कृषि अभ्यास, प्रांगारिक प्रमाणीकरण, निर्यात र आन्तरिक बजार प्रवर्द्धन जस्ता काम गर्ने योजना बनाएको छ ।
नेपाली कफीले अन्तरराष्ट्रिय बजारमा स्वाद र गुणस्तरको हिसाबले अन्य देशको भन्दा बढी मूल्य प्राप्त गर्दै आएको बोर्डले बताएको छ । बोर्डका अनुसार नेपाली कफी निर्यात हुँदा सरदर प्रतिकेजी १६ अमेरिकी डलर प्राप्त हुन्छ ।