काठमाडौं। चैते धान लगाउने जमिनको क्षेत्रफल विस्तार गर्ने सरकारी कार्यक्रम योजनामै सीमित रहेको छ । सिँचाइ सुविधाको अभावका कारण करीब २ लाख हेक्टर जमिनमा चैते धानको खेती विस्तार गर्ने सरकारको योजनाले पूर्णता पाउन नसकेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा हाल १ लाख हेक्टर जमिनमा चैते धान रोपिन्छ । यसअघि कृषिमन्त्री ज्वालाकुमारी साहका पालामा उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँगको सहकार्यमा थप १ लाख हेक्टर जमिनमा चैते धान खेती विस्तार गर्ने योजना रहेको बताएकी थिइन् । आर्थिक वर्ष २०८०/८१ भित्रै क्षेत्रफल विस्तार गरी २ लाख हेक्टर पुर्याउने भनिए पनि हालसम्म सो लक्ष्य हासिल हुन सकको छैन ।
मन्त्रालयका प्रवक्ता मतिना जोशी वैद्यका अनुसार चैते धानको उत्पादन बढाउन सिँचाइ हुने जमिनको क्षेत्रफल विस्तार गर्नुपर्ने हुन्छ । तर, सिँचाइ सुविधा विस्तारको योजना पूरा नभएकोले चैते धानको उत्पादन क्षेत्रफल विस्तार गर्ने योजना सार्थक हुन नसकेको उनले बताइन् । यद्यपि कृषि र सिँचाइ मन्त्रालयको समन्वयमा काम भइरहेको उनको भनाइ छ ।
मन्त्रालयको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८१/८२ मा १ लाख ९ हजार हेक्टर जमिनमा चैते धान खेती गरिएको थियो । यसबाट ५ लाख ४४ हजार मेट्रिक टन धान उत्पादन भएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा कुल १ लाख ४ हजार हेक्टर जमिनमा गरिएको खेतीबाट ५ लाख २० हजार मेट्रिक टन चैते धान उत्पादन भएको थियो । यस्तै, आर्थिक वर्ष २०७९/८० मा १ लाख ८ हजार हेक्टर जमिनको खेतीबाट ५ लाख ४४ हजार मेट्रिक टन चैते धान उत्पादन भएको थियोे ।
सन् १९९४ मा सिँचाइ विभागले गरेको एक सर्वेक्षणअनुसार नेपालमा करीब २६ लाख हेक्टर कृषियोग्य जमिन छ । त्यसमध्ये करीब १७ लाख हेक्टरमा मात्रै सिँचाइ सुविधा पुगेको छ । बाँकी ९ लाख हेक्टरमा अझै पनि आकाशे पानीको भरमा खेती गरिन्छ ।
खोलानजिक रहेको तर सिँचाइ सुविधा पुग्न नसकेको ५ लाख हेक्टर जमिनमा समेत निकट भविष्यमा नदी तथा खोलाको पानी तानेर सिँचाइ सुविधा पुर्याउने योजना रहेको मन्त्रालयको भनाइ छ । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा करीब २४ दशमलव १ प्रतिशत कृषिको योगदान छ । कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा धानको योगदान सबैभन्दा बढी रहँदै आएको छ ।
धानले खाद्य तथा पोषण सुरक्षामा उल्लेखनीय योगदान गर्दै आएको छ । चालू आर्थिक वर्ष २०८१/८२ मा १४ लाख २० हजार ६३६ हेक्टरमा बर्खे धान खेती गरिएको थियो । यसबाट ५९ लाख ५५ हजार ४७६ टन उत्पादन भएको छ । नेपालभरिको तथ्यांक हेर्ने हो भने चैते धानको खेती बर्खेभन्दा निकै कम भए पनि उत्पादकत्व भने राम्रो छ ।
मन्त्रालयका अनुसार नपालमा चैते धानको औसत उत्पादकत्व ४ दशमलव ९८ मेट्रिक टन प्रतिहेक्टर छ । बर्खे धानको औसत उत्पादकत्व ३ दशमलव ७४ मेट्रिक टन प्रतिहेक्टर मात्रै हुने देखिएको छ । यही क्षमताअनुसार खेतीको क्षेत्रफल पनि विस्तार गर्ने हो भने नेपालमा धान उत्पादन बढ्ने देखिएको वरिष्ठ कृषिविज्ञ छवि पौडेल बताउँछन् । तर, कृषि मन्त्रालयले चैते धानका लागि छुट्ट्याएको बजेट नै खर्च गर्न नसक्दा क्षेत्रफल वृद्धिमा समस्या भएको उनको भनाइ छ ।