काठमाडौं । पछिल्लो समय पुनर्बीमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण निरन्तर बढ्दा मूल्यमा समेत उच्च वृद्धि देखिएको छ । पछिल्लो एक महीनामा नेपालमा सञ्चालित दुई पुनर्बीमा कम्पनीहरू, नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सको मूल्यमा उच्च वृद्धि देखिएको हो ।
पूँजीवृद्धिका क्रममा रहेका यी कम्पनीहरूले आकर्षक लाभांशसँगै बोनस शेयरसमेत वितरण गर्ने सम्भावनालाई औल्याउँदै लगानीकर्ताहरू यी कम्पनीको शेयर खरीदमा आकर्षित भएका हुन् ।
एक महीनाको कारोबारमा नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य १९२ दशमलव ६७ प्रतिशत अर्थात् प्रतिकित्ता ३३३ रुपैयाँ ५ पैसाले बढेको छ भने हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्य ३६३ दशमलव ६८ प्रतिशत अर्थात् १८३ रुपैयाँ १० पैसाले बढेको छ ।
धितोपत्र दोस्रो बजार सञ्चालक नेप्सेले सार्वजनिक गरेको तथ्यांकलाई हेर्दा माघ मसान्तसम्म प्रतिकित्ता ९७४ रुपैयाँ ७५ पैसा रहेको नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य फागुन मसान्तसम्मको कारोबारमा प्रतिकित्ता १ हजार ३०७ रुपैयाँ ८० पैसा कायम भएको हो ।
त्यस्तै, माघ मसान्तसम्म प्रतिकित्ता ८४९ रुपैयाँ रहेको हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्य भने फागुन मसान्तसम्मको कारोबारमा प्रतिकित्ता १ हजार ३२ रुपैयाँ १० पैसा कायम भएको छ । यी दुई कम्पनीको शेयर मूल्यसँगै कारोबार पनि सर्वाधिक भइरहेको छ ।
नेप्सेको तथ्यांकलाई हेर्दा फागुन ५ गतेदेखि नै पुनर्बीमा क्षेत्रका कम्पनीहरूको कुल कारोबार रकममा सर्वाधिक हिस्सा ओगट्दै आएका छन् । फागुन महीनाको अन्तिम कारोबार दिन सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीको सूचीमा हिमालयन रिइन्स्योरेन्स दोस्रो र नेपाल पुनर्बीमा कम्पनी पाँचौं नम्बरमा छन् ।
फागुन महिनाको अन्तिम कारोबार दिन हिमालयन रिइन्स्योरेन्सको ५६ करोड ४ लाख रुपैयाँभन्दा बढीको र नेपाल पुनर्बीमा कम्पनीको ३८ करोड ६७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको देखिन्छ ।
पुनर्बीमा क्षेत्रका यी दुई कम्पनीहरूलाई २०८२ माघ मसान्तसम्म २० अर्ब रुपैयाँका दरले पूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था छ । यसअघि यी कम्पनीहरूलाई पूँजी बढाउने समयसीमा २०८१ माघ मसान्तसम्म कायम गरिएको थियो । सो अवधिभित्र पूँजी पुग्ने नदेखिएकाले नेपाल बीमा प्राधिकरणले एक वर्षको अवधि थप गरेर सहुलियत प्रदान गरेको हो ।
यी कम्पनीहरूले बोनस शेयर र हकप्रद शेयरमार्फत पूँजी बढाउने योजना प्राधिकरणमा पेश गरेकाले त्यसका लागि समय लाग्ने भएसँगै प्राधिकरणले एक वर्ष समयअवधि थप गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
हाल नेपाल पुनर्बीमा कम्पनीको चुक्तापूँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार रुपैयाँ छ भने हिमालयन रिइन्स्योरेन्सको १० अर्ब ४० करोड रुपैयाँ छ ।
प्राधिकरणले तोकेको चुक्तापूँजी कायम गर्न नेपाल पुनर्बीमालाई थप ६ अर्ब ५७ करोड ७८ लाख १३ हजार रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सलाई थप ९ अर्ब ६० करोड रुपैयाँ पूँजी आवश्यक हुन्छ ।
हिमालयन रिइन्स्योरेन्सले ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव २०८० फागुन २० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गराइसकेको छ ।
आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट वितरण गरेको ४ प्रतिशत बोनस शेयर वितरणपछि कायम हुने चुक्तापूँजी १० अर्ब ४० करोड रूपैयाँको आधारमा कम्पनीले ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नेछ । हिमालयन रिइन्स्योरेन्सले १० शेयर वराबर ८ शेयरको अनुपातमा ८ अर्ब ३२ करोड रूपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापूँजी १८ अर्ब ७२ करोड रुपैयाँ कायम हुनेछ ।
नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीका लागि तय गरेको न्यूनतम चुक्तापूँजी कायम गर्न हिमालयन रिइन्स्योरेन्सलाई ८० प्रतिशत हकप्रदपछि पनि थप १ अर्ब २८ करोड रुपैयाँ आवश्यक हुन्छ । यस कम्पनीले प्रिमियम मूल्यसहित आईपीओ विक्री गरेकाले प्रिमियम रकमलाई शेयरमा पूँजीकरण गर्न सकिने व्यवस्था छ । तर, हाल यो विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले कम्पनीले आधिकारिक निर्णय गर्न सकेको छैन ।
उक्त व्यवस्था कार्यान्वयनमा आएमा कम्पनीले प्रिमियम बापतको रकम शेयरमा पूँजीकरण गर्न सक्ने सम्भावनालाई प्राधिकरणले औंल्याएको छ ।
हिमालयन रिइन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १०६ रुपैयाँ थप गरी ३ करोड कित्ता आईपीओ विक्री गरेको थियो । प्रिमियमबापत कम्पनीले ३ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको थियो ।
यी दुवै कम्पनीले गत आर्थिक वर्षको वार्षिक साधारण सभा गर्न बाँकी छ । हिमालयन रिइन्स्योरेन्सले २०७९/८० को मुनाफाबाट पहिलो पटक लाभांश वितरण गरेको छ । नेपाल पुनर्बीमा कम्पनीले भने ०७६/७७ सालदेखि नै निरन्तर लाभांश वितरण गर्दै आएको छ ।
बोनस शेयर र हकप्रद शेयरलाई नै पूँजीवृद्धिको उपयुक्त माध्यम बनाएका कम्पनीहरूले गत वर्षको मुनाफाबाट बोनस शेयर वितरण गरेर पनि पूँजी बढाउन सक्नेछन् ।
एक महीनामा भएको मूल्य परिवर्तनको अवस्था
कम्पनीको नाम | फागुन मसान्तसम्मको शेयर मूल्य प्रतिकित्ता | माघ मसान्तसम्मको शेयर मूल्य प्रतिकित्ता रू. | मूल्यमा भएको वृद्धि प्रतिकित्ता रू. |
नेपाल पुनर्बीमा कम्पनी | 1307.8 | 974.75 | 333.05 |
हिमालयन रिइन्स्योरेन्स | 1032.1 | 849 | 183.1 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)