काठमाडौं । बीमा र पुनर्बीमा कम्पनीबीच व्यावसायिक मध्यस्थता तथा पुनर्बीमासम्बन्धी विशेषज्ञ प्राविधिक परामर्श सेवा दिने उद्देश्यसहित स्थापना भएका नेपाली पुनर्बीमा दलाल (ब्रोकर) हरू कामविहीन बनेका छन् ।
नेपाल बीमा प्राधिकरणबाट अनुमतिपत्र (लाइसेन्स) पाएको २ वर्ष बितिसक्दा पनि नेपाली पुनर्बीमा कम्पनीहरूले ब्रोकरमार्फत व्यवसाय नगर्ने तथा विदेशी पुनर्बीमासँग काम गर्न विदेशी मुद्रा कारोबार गर्ने अनुमति नहुँदा ब्रोकरहरूको व्यवसाय बढ्न नसकेको हो ।
‘एकाधबाहेक अधिकांश कम्पनी चुक्ता पूँजीको ब्याजबाट कार्यालय सञ्चालनमा मात्र सीमित छन्,’ लर्डबुद्ध इन्स्योरेन्स ब्रोकिङ कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत विशालदीप अधिकारीले भने, ‘नेपाली कम्पनीहरूले ब्रोकर प्रयोग गर्दैनन्, विदेशमा व्यवसाय गर्न हामीलाई विदेशी मुद्रा कारोबारको अनुमति छैन ।’
अहिले केही कम्पनीले स्वदेशी पुनर्बीमाको व्यवसाय गरिरहेको र केहीले विदेशी पुनर्बीमा कम्पनीका एजेन्टका रूपमा काम गरे पनि त्यो नगन्य रहेको उनले दाबी गरे ।
नेपाली कम्पनीहरूलाई पुनर्बीमा ब्रोकरको लाइसेन्स दिनका लागि तत्कालीन बीमा समितिले पुनर्बीमा दलाल (ब्रोकर) सम्बन्धी निर्देशिका, २०७८ जारी गर्दै २०७९ साउनमा १० ओटा कम्पनीलाई लाइसेन्स दिएको थियो ।
निर्देशिकाअनुसार पुनर्बीमा ब्रोकरको अधिकृत पूँजी न्यूनतम १० करोड र त्यसको ५० प्रतिशत अर्थात् ५ करोड चुक्ता पूँजी तोकिएको छ । अधिकृत पूँजीको २५ प्रतिशत रकम एअर मार्क गराई वाणिज्य बैंकको मुद्दती खातामा राख्नुपर्ने व्यवस्था छ ।
प्राधिकरणले तोकेको मापदण्ड पूरा गरी १० ओटा कम्पनीलाई पुनर्बीमा ब्रोकरको अनुमति दिएको छ । तर, अहिलेसम्म कम्पनीहरूले उल्लेखनीय कारोबार गर्न नसकेको प्राधिकरणका अधिकारीहरू नै स्वीकार गर्छन् ।
प्राधिकरणको पुनर्बीमा शाखा प्रमुख राजेन्द्र मर्हजन नेपाली पुनर्बीमा ब्रोकरहरूको काम विदेशी ब्रोकर कम्पनीको सहायकका रूपमा मात्र सीमित भएको बताउँछन् । ‘नेपाली पुनर्बीमा ब्रोकर कम्पनीले विदेशी मुद्रा कारोबार गर्न नपाउँदा सिधै कारोबार गर्न पाएका छैनन्,’ उनले भने, ‘केही विदेशी कम्पनीहरूसँग को–वर्किङ गरिरहेको सुनिएको छ ।’ ब्रोकर कम्पनीहरूलाई विदेशी मुद्राको कारोबार अनुमतिका लागि पहल भइरहेको उनले बताए ।
बीमाविज्ञ डा. रविन्द्र घिमिरे भने नेपाली पुनर्बीमा कम्पनीहरू भर्खरै स्थापना भएकाले व्यवसाय विस्तार गर्न समय लाग्ने बताउँछन् । ‘नेपाली बजारमा वर्षौं पुराना विदेशी पुनर्बीमा ब्रोकरहरू सक्रिय छन्,’ उनले भने, ‘तिनीहरूसँग प्रतिस्पर्धा गर्ने क्षमता बनाउनका लागि पनि नेपाली कम्पनीहरूलाई केही समय लाग्छ ।’
प्राधिकरणसँग छैन तथ्यांक
प्राधिकरणले पुनर्बीमा ब्रोकरको लाइसेन्स दिएको २ वर्ष बितिसके पनि अहिलेसम्म कुन कम्पनीले कति कारोबार गरिरहेका छन् भन्ने बारेमा तथ्यांक समेत राख्न सकेको छैन ।
निर्देशिकाअनुसार पुनर्बीमा ब्रोकरहरूले आफूले कारोबार गरेको बीमक तथा पुनर्बीमकको विवरण, कारोबार विवरण, लेखापरीक्षण सहितको वार्षिक वित्तीय विवरण त्रैमासिक रुपमा नियामक निकायमा पेश गर्नुपर्ने व्यवस्था छ । तर, हालसम्म कुनै पनि कम्पनीले लेखापरीक्षण प्रतिवेदन सहित कुनै विवरण पनि बुझाएका छैनन् । कम्पनीहरूको उल्लेखनीय कारोबार गर्न नसकेकाले विवरण नबुझाएको लर्डबुद्ध इन्स्योरेन्स ब्रोकिङ कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।
के हो पुनर्बीमा ब्रोकर ?
निर्देशिकमा बीमा कम्पनीहरूले लिएको जोखिमको पुनर्बीमा गर्नका लागि बीमक र पुनर्बीमकबीच मध्यस्थकर्ताको रूपमा काम गर्नेलाई पुनर्बीमा ब्रोकर भनिएको छ । पुनर्बीमा ब्रोकरले बीमकले जारी गरेको बीमालेखअन्तर्गत उत्पन्न हुने दायित्व सम्बन्धमा बीमकको तर्फबाट पुनर्बीमक तथा पुनर्बीमकको तर्फबाट अर्को पुनर्बीमकसँग मध्यस्थता गर्ने, पुनर्बीमा विशेषज्ञता सेवा र प्राविधिक परामर्श दिने, बीमा/पुनर्बीमा बजारको तथ्यांक विश्लेषण गरी पुनर्बीमित र पुनर्बीमकलाई उपलब्ध गराउने जस्ता काम गर्छन् । यसैगरी पुनर्बीमा दाबी भुक्तानीमा सहजीकरण गर्ने, पुनर्बीमा सम्झौता तयार गर्न सहयोग गर्ने, पुनर्बीमा सम्झौता अनुरुपको लिने/दिने रकमको हिसाब फरफारक गर्न सहयोग गर्ने लगायतको काम समेत पुनर्बीमा ब्रोकरले गर्ने कानूनी प्रावधान छ ।