नेपालले दिने व्यावसायिक भिसाको छोटो अवधि र झन्झटिलो व्यवस्थाले मुलुकमा भित्रिने प्रत्यक्ष विदेशी लगानी (एफडीआई) मा नकारात्मक प्रभाव पारेको छ । नेपालले यहाँ लगानी गर्ने लगानीकर्ताका लागि अधिकतम ५ वर्षसम्मका लागि व्यावसायिक भिसा जारी गर्ने व्यवस्था छ । तर, हाल १ वर्षे अवधिको मात्र व्यावसायिक भिसा जारी गरिरहेको छ ।
यसले नेपालमा लगानी गर्न आउने विदेशीलाई निरुत्साहित गरिरहेको विश्व बैङ्कको भनाइ छ । त्यस्तै, नेपालमा काम गर्न आउने विदेशी कामदारका लागि भिसा लिन ३ देखि ४ महीना लाग्ने विश्व बैङ्क र त्यसअन्तर्गतको अन्तरराष्ट्रिय वित्त निगमको पछिल्लो अध्ययनको निष्कर्ष छ । र, त्यस्तो भिसा लिन ६० ओटासम्म हस्ताक्षर आवश्यक पर्ने अध्ययनले देखाएको छ ।
यस्ता कामदारका लागि भिसा लिन लाग्ने विश्वव्यापी औसत चल एफडी समय भने १ महीना छ । धेरै मुलुकमा अस्थायी ‘वर्क परमिट’ भिसा लिन ४ देखि ६ हप्ता लाग्ने गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ पनि नेपाली भिसा प्रणालीमा समस्या भएको बताउँछ । ‘ती समस्या ज्यादै ठूला नभए पनि त्यो लगानीकर्ताको सम्मानसँग जोडिएको विषय भएकाले निकै संवेदनशील छ,’ महासङ्घका वरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकारले भने ।
वर्ष ८, अंक १५४, बुधवार, ९ फागुन, २०६९